Wednesday, 28 February 2018

सेलिब्रेटीको मृत्यु



रचना : अनन्त श्रेष्ठ, २८/०२/२०१८

जब एकजना सेलिब्रेटीको मृत्यु हुन्छ
मेरो देश विदग्ध हुन्छ
मेरो देश भग्न बन्छ
अनि राष्ट्रिय शोकगीत
अखबारमा, रेडियोमा, टेलिभिजनमा
हप्तौं बजिरहन्छ।

जब एकजना किसान
आलुको मूल्य ठीक नपाएपछि
ऋण दिवालिया भएर
आत्महत्या गर्छ
जब एकजना चियामजदूर
चियाकमान बन्द भएपछि
कुपोषणले क्षयरोगजनित
मृत्युवरण गर्छ
जब एकजना हकर
पेपर बाँढ़्दा- बाँढ़्दै
अकस्मात गाड़ीले किच्चिएर मर्छ
तब मेरो देश निरव बन्छ
न कहीँ हावा चल्छ
न कहीँ पात हल्लिन्छ
मेरो देश यथावत चलिरहन्छ।

सेलिब्रेटीसँग त शरीर छ
पैसा छ, सुनाम छ
गाड़ी छ, महल छ
चियामजदूरसँग के छ?
आलुकिसानसँग के छ?
पेपरहकरसँग के छ?

देश यो देख्दैन कि
देशलाई झिनो हातले
दिनसक्ने चियामजदूरसँग
किसानसँग/हकरसँग
एकमुठी पसिना छ
एकजोर परिश्रम छ
त्यही पसिना चिया भएर
देशको ओंठ-ओंठ पुगेको छ
त्यही परिश्रम अन्न भएर
देशको पेट डम्म अघाएको छ
यद्यपि उसको मृत्युमा
देश दुख्दैन
देशको आँखामा
आँशुको नदी बग्दैन
किनकि उसँग
फिल्मफेयर अवार्डजस्तै
भारत रत्न/ खेल रत्न/पद्मश्री पुरस्कारजस्तै
बेस्ट वर्कर/ बेस्ट फार्मर अवार्ड छैन ।

तर देश कहिल्यै सोध्दैन
कि सेलिब्रेटीको नितान्त स्वामित्वमा
के कुनै निशुल्क स्कूल
अस्पताल
शिशु आश्रम
अनि वृद्ध आश्रम छ ?

यद्यपि देश
एकजना सेलिब्रेटीको मृत्युमा
शोकधुन निरन्तर बजाइरहन्छ
बजाइरहन्छ।

(In PC : Starving tea gardens workers in Dooars)

No comments:

Post a Comment