कवि : राजा पुनियानी
सखारै
इन्काउन्टरमा भाषा मारिएको खबर
हेडलाइनमा छ आज
र लावारिश लड़िरहेको त्यो भाषाको लाशले
पर्खिरहेको छ आफ्नै पोस्टमोर्टम तारिख ।
निधारभरि कोइलाले कोरेको थिइस् नि तेरो भूगोल-म्याप ए साइँली
खै हँ त्यो म्याप ?
- मारियो है इन्काउन्टरमा ।
जुन दिन बाटोले मुक्तिको दिशा सोधेको थियो
त्यो बाटो अपराधी ठहरिएको थियो
र
ठोकिएको थियो क्रूरकाँटी निमुखा आवाजको मुखमा
बेह्रिएको थियो भ्रमपट्टी निर्दोष सपनाको आँखामा
झुण्ड्याइएको थियो मृत्युघण्टी प्रेमिल जिन्दगीको मुटुमा ।
खुनभरि इतिहास-नदी बगाउँथिस् नि ए पारूहाङ
खै हँ त्यो नदी?
- मारियो है इन्काउन्टरमा ।
पृथिबी खुम्चिएर त्यै इन्काउन्टरको गोली जत्रै भएको छ
न फुल्लिनु सक्नु न फुट्नु सक्नु
कता गई मरोस् अब यो कैदी पृथिबी ।
रगतले कोरिएको भोटर आइडी बोकेर खड़ा छ सन्त्रस्त गाँउ
नचिनिएको चिनारीको गुफाअघि
पस्नु मात्र सक्छ कोही
निस्कनै गाह्रो त्यो गुफाबाट
खै कता गई बाँचोस् त्यो नोम्यान्सल्याण्ड-गाँउ अब ।
छात्तीभरि पुर्ख्यौली माटोको रङ थियो नि ए माइकल
खै हँ त्यो रङ?
- मारियो है इन्काउन्टरमा ।
लाठीले बजारिएको टाउकोहरू, कुन्दाले हानिएको तिघ्राहरू
सवार छन् अहिले एउटा रोगी एम्बुलेन्समा
त्यो खटारा एम्बुलेन्स चढ़ेर
न अस्पताल पुग्नु सकिन्छ न मसानघाट
खै कसो गरी उठोस् अब त्यो सिमान्त मान्छे ।
इन्काउन्टर भोग्दै आएको आदिम अट्टेरी गाँउ
लड़खड़ाउँदै उभिन खोजेको छ अहिले
इन्काउन्टर गर्ने बन्दुकको सामुन्ने
- हेर त त्यसको नचिनिने अनुहार
कस्तो गरी च्यातिँदै छ त्यो अनुहार
हजार लाख अनुहारहरूमा ।
पोल्टोमा साख्खे हावाको गीत थियो नि ए फातिमा
खै हँ त्यो गीत?
- मारियो है इन्काउन्टरमा ।
No comments:
Post a Comment