Friday, 2 February 2018

म चे ग्वेभारा पर्खिरहेछु

- प्रभात चिसो राई

म कसरी बस्न सकिरहेछु यहाँ
जिउँदा लाशहरू सलबलाइरहेका यो मुर्दा शहरमा?
यी बाटा, गलछेँड़ाहरूमा एउटा सपनाको अस्थिपञ्जर
छरपष्ट छ
अनि माकुराका बच्चाहरू आमा खाएर डकार्दै
हिँड़िहेछन् अन्तरात्माको मलामी
स्वार्थको रालले भिजेर एउटा क्रान्ति ओसिएको छ यहाँ
अनि सुनको तराजुमा छ एक चोक्टा आत्मसम्मान
यहाँ  रगतमा माछाको लोहो गनाउन थालेको छ
अनि मानेकशॉका शब्दहरू झूटा ठहरिन गइरहेछन्।

म कसरी यति निमुखा हुन सकेको
शाषकका हातहरूले मेरो स्वाभिमान सुम्सुम्याइरहँदा?
यो शहरलाई भित्र कतै दुखिरहेको छ तर
परतन्त्रताको काँटी ठाेकिएको छ जिब्रो थुतेर
किन विधवाहरूको क्रन्दन कताकता मेरो कानमा परिबस्छ?
किन आमाहरूको न्यायको गुहारमा पटकपटक झस्किरहन्छुु?
म कसरी सास  फेरिरहेछु यो प्रदूषित हावामा
बारुदको गन्धसँगै उत्सवको ध्वनि मिसिएको छ जसमा?
मेरो भाइको रगतले भिजेको  माटो सुक्दानसुक्दै
तिम्रो उत्सवले मुटु भतभती पोलेको छ मेरो।

म इतिहास दोहोरिएर पूर्व अनुभूत समय पर्खिरहेछु
समयका क्रूर हातहरूले चन्द्रमा देब्रे सारेर
तिम्रो मशानले तिमीलाई नै खाएको म हेर्न चाहन्छु
भाग्यको अस्ताचलमा तिम्रो मियादी घाम डुबेको साँझ
परपीड़क अबिर धसेर म उन्मादी नाच नाच्ने छु।

मनहरू त्रस्त छ्न् तर मनोबल छैन परास्त यहाँ
क्रान्तिको खरानीभित्र आक्रोशको भुङराे निभेको छैन अझ
यो छातीमा एउटा विद्रोहले फेरि पखेटा फटफटाउने  छ
अनि मध्यदिनको सड़कमा हजारौँ वैरागी काइँलाहरू ओर्लिनेछ्न्
ढुङ्गे विश्वास बोकेर म फेरि एउटा क्रान्ति कुरिरहेछु
एउटा ज्वालामुखी छातीमा बोकेर एउटा चे ग्वेभारा पर्खिरहेछु।

No comments:

Post a Comment