Thursday, 22 February 2018

चियाबारीको ब्यथा

कविता : निरूबिन्दु

दबाई छिट्छन् की
आफ्नो खुन् छिट्छन्
धनबीरे काकाले चियाबगानमा...?

मल खनाउँछन् की
आफ्नो पसिना खनाउँछन्
फुलमाया काकीले चियाका बुट्टामा...?

पानीले भिजाउँछन् की
आफ्नो आँसुले भिजाउँछन्
श्रमिकहरूले चियाबारीको माटोमा...?

रहरहरू पनि मिसाउँदा हुन्
इच्छाहरू पनि मिसाउँदा हुन्

अलि-अलि गुनाँसो पनि लगाउँदा हुन्
अलि-अलि प्रार्थना पनि लगाउँदा हुन्

अलि-अलि माया पनि छिट्दा हुन्
अलि-अलि मुस्कान पनि छिट्दा हुन्

आह......त्यसैले त,
मिठोपना हुन्छ चियामा,

थकान् पनि मेट्छ,
भोक् पनि मेट्छ,
तिर्खा पनि मेट्छ,

प्रेम पनि बडाउँछ,
साईनो पनि जोड्छ,
सम्बन्ध प्रगाड बनाउँछ,

सायद, सपना पनि छिट्दा हुन् चियामा.....
सायद, बिपना पनि छिट्दा हुन् चियामा....

आह......त्यसैले त,
पिऊँ-पिऊँ हुन्छ चिया.......।।

No comments:

Post a Comment