Sunday, 4 February 2018

कविता : खोज

कवि : चन्दन भट्टराई

हार भए
निराश भए
तिम्रो अस्तित्वलाई खोज्दा-खोज्दा
विलुप्त तिम्रा अवशेसहरुको खड़ाल खनी
पुरतत्वविद झै बनी
धुलो परेका, खिया लागेका
बाकसमा थुनेका पुरानो
कागजहरु पल्टाउदा-पल्टाउदा
कतै पाउछू की भन्ने आसले
“इंटरनेट” मा विकिपीडिया” भित्र पसी
फेरि “गूगल” को सहारा लिदै
अलि इतिहासहरु पल्टाउने गर्छु
र पनि नपाएपछि
बागानका पुराना धुला परिसकेका
भत्किसकेका, साइन बोर्डहरुका रंगलाई खोशरिने गर्छु
कहीं त नाम पाउछू होला भन्ने आशाले
इतिहासकारहरुलाई सोधने गर्छु
कतै त तिम्रो नाम अंकित छ होला भन्ने आशमा....
कहीं चियाको बुद्दामा पो लिखेका छ की भनेर हेर्छु,
कहीं कंपनीको रजिस्टरमा पो सुनौलों अक्षरमा
अंकित छ की भन्ने आस गर्छु,
जता हेर्छु त्यातै निराशा पाउछू
कसलाई सोधु भन्दै उत्तरको अभावमा
जता खोजे त्यता अंग्रेज़ साहब कै मात्र नाम पाउछू,
बड़ा-बड़ा बाबूहर कै मात्र शीलालेख पाउछू।
तिमी चै भने
मुगलानको आसमा
गाँस र बासको खोजीमा
कालो ज्वारो नभनी
हैजाको चिंता नागरी
मृत्युको शय्यामा उठबास गर्दै
एउटा हातमा फड़ुवा र
अर्को हातमा खुकुरी भीरी
रगतसारी पसीना बहाउदै
आफ्नो जन्मथालोलाई छाड़ी
कर्मथालोलाई अंगाल्दै
डाड़ा-काड़ालाई समतल बनाऊदै
जंगल फाँड़ी, चट्टान फोर्दे
संसारको मानचित्रमा लुप्त
बंजर भूमिलाई चिनाउदै
डूवर्सको संज्ञा दिने
तिमीले आबाद गरेका
तिमिले सिचेर बसाएका
तिम्रो कर्मभूमिमा
तिम्रो परिश्रमको मोल खोज्दैछु।
बिलुप्त तिम्रो नामलाई
बितथैमा नहुने खोज गर्देर्छु,
खै किन-किन तिक्त प्रयास गर्देर्छु।

No comments:

Post a Comment