✍✍पारस शर्मा
आँखाबाट पीडा भएर बग्छ
टिस्टा र रङ्गीत अचेल
उसका छालहरू सुस्त छन्
निष्क्रिय छन् अचल र अचेत छन् !
चखेवाका जोडीहरू उड्दैनन्
चुम्दै ती छालहरूलाई
मन्द मन्द वतास चल्दैन
छुँदै ती छालहरूलाई
बगरभरि व्यथा रोपेर बग्छन्
टिस्टा र रङ्गीत अचेल
ऑसुका ढिका भएर बग्छन्
टिस्टा र रङ्गीत अचेल !
झुल्दैनन् काँसका सेता फूलहरू
बगरका सौन्दर्य बनेर
निरूत्साहित छन् तरङ्गहरू
उठदैनन् फन्को मार्दै कुइनेटोहरूमा
मान्छेका मनका पर्खाल,उभिएका छन्
गजधम्म बाँधका बाधाहरू भएर !
पटक पटक ठोक्किनुपर्छ टिस्टाले, रङ्गीतले
पटक पटक रोकिनुपर्छ उसका वेगहरूले
हो आँखाबाट भय बनेर बग्दछन्
टिस्टा र रङ्गीत अचेल !
मौन अज्ञात मृत्यु बनेर,बग्दछन्
टिस्टा र रङ्गीत अचेल |
त्यहाँ सङ्गीत छैन , सङ्गति छैन
उल्लासित छल्काहरू मरेका छन्
पटक पटक,ठाउँ ठाउँमा भाँच्चिएका छन्
टुक्रिएका छन् सूरहरू
आँखाको रमिता हैन
आँसुका सरिता बनेर,बगेका छन्
टिस्टा र रङ्गीत अचेल
शान्त सुन्दर र सौम्य हैन
साँच्चै नै शमशान भएर बगेका छन्
टिस्टा र रङ्गीत अचेल ।
No comments:
Post a Comment