कति जोखिम हुँदो रहेछ
जीवनलाई एउटा भ्रममा
भुल्याउनु
अनि त्यही भ्रममा
रमाइरहनु
रमाइरहनु अनि
रमाइरहनु ।
कति जोखिम हुँदो रहेछ
झुण्डिनु
उधोमुण्टो
एउटा आदिम ट्रापिजमा जहाँ
डोरी पनि आफू
खेल पनि आफू
दर्शक पनि आफू ।
साथी,
म भ्रमको त्यही ट्रापिजमा
उँधोमुण्टो झुण्डिएकी छु,
त...ल ठढ्याइका छन्
मेरा निम्ति
काँडै काँडाका आदिम बिछ्यौना ।
यस आदिम सर्कसको
एक एक जोखिमको दाम चुकाउँदै
एक एक टिकटको मोल चुकाउँदै
म हाँसिरहेछु
म नाँचिरहेछु
म बाँचिरहेछु।
-पवित्रा लामा
(हिमालय दर्पणबाट साभार)
--------------------------------------------------------------------------------------
No comments:
Post a Comment