कसरी दिउँ मेरो परिचय
ठाउँ ठेगाना छैन
कसरी बताउँ मेरो चिनारी
नाउँ थर छैन।
कहाँ देखाउँ मेरो घर
घरबार छैन
अर्काको पाखुरे हुँ भनु त
म पाखुरे हैन।
आफ्नो घर आफ्नो भनुँ त
आफ्नो अधीनमा छैन
अर्काको घरमा बस्छु भनुँ त
मनले मान्दैन।
शिरमा टोपी ढाकाको
कम्मरमा छ धोती
आधा भेष पहाडी छ
आधामा लंगोटी।
को हुँ भनुँ, के हुँ भनुँ
आफै अन्योलमा छु
कसको हुँ, कहाँको हुँ
आफनै खोजीमा छु।।
(बिशन प्रधान नेवार)
पेदोङ, कालेबुङ
No comments:
Post a Comment