Wednesday, 14 February 2018

बाउ

कवि : कर्ण बिरह

सानो छँदा लाग्थ्यो,
बाउ भनेको अबेर साँझ प्याटप्याट पड़्किँदै आएर
घर पस्ने एक जोड़ी चप्पल हो
र हो रेडियोमा प्रादेशिक समाचार
कि त आमासितको दुईचार गनगन
अथवा खासाकखुसुक चहलपहल केही।

कोइकोइ बेला लाग्थ्यो,
बाउ भनेको शहरबाट आइपुगेको बन र तोसरोटी हो
अथवा हो तोसरोटीजस्तै गनाउने जयबङ्गलाको नयाँ लुगा।

र लाग्थ्यो,
बाउ भनेको घरमा सबैले मान्नुपर्ने एउटा हुकुम पनि हो।

लाग्थ्यो,
दशैँमा निधारभरि चामलको रातो टीका हो बाउ
गोजीमा केही खुद्रा पैसा र हातमा नयाँ पिस्तोल
कि त तिहारको आँगन आँगन भट्ट्याइहिँड़्ने देउसुरे
र लिङ्गे पिङको बलियो डोरी
अथवा आमाले घुमाएका मिठो फन्के रोटी हो बाउ।

र लाग्थ्यो,
बाउ भनेको निद्रा नलागुन्जेल सुनिरहुँ लाग्ने
बाउले भनेकै दन्त्यकथाहरूको स्वैरकाल्पनिक नायक हो बाउ।

तर पछि पछि बुझेँ,
बाउ भनेको त सधैँ भागिरहने
मेरो भुँड़ीको भोक रहेछ
सधैँ भरिरहनेे मेरो स्कूलको झोला रहेछ
अथवा बाउ भनेको त
भूत, पानी र हावा छेलेर
हामीलाई ढुक्क निदाउन दिने
एउटा मजबुत घर रहेछ।

अर्थात् बाउ भनेको त
सधैँ मसित टाँसिएर मगमगाउन खोजिहिँड़्ने
मेरो आफ्नै नाउँ रहेछ।

काट्टीकुट्टी मजस्तै मेरो बाउ।

No comments:

Post a Comment