कवि : बिमल खतिवडा, सिलीगुड़ी
तिमी कालो लम्पसार सडक
म पनि एउटा लम्पसार शिक्षक
वर्षौं देखी तिमी त्यहीं नै छौ
म पनि दसकौं देखी यहीं छु
तिमी देशको जिवन रेखा
म पनि देशको भविष्य रेखा
कति गुडे गाडी र यात्री तिमीमा
त्यती गए विधार्थी टेकी मेरो छातीमा
सबैलाई उनिहरुको लक्ष्यमा पुर्याऊँछौ
म पनि त भविष्यको बाटो देखाउँछु
तर एकै ठाँऊमा लम्पसार रहन्छौ
म पनि त्यही श्रेणी कोठमा रहन्छु
तिमीलाई पनि समयले खाल्डो बनाइदिन्छ
मलाई पनि त अभावका खाल्डाले सताईदिन्छ
भोट आउने बेलामा तिम्रा खाल्डा पुर्छन
मेरा खाल्डा पनि अलिकति नोटले पुर्छन
पर्यावरण दिवसमा मात्र तिमीलाई सफा गर्छन्
मलाई शिक्षक दिवसका दिन मात्र सम्मान गर्छन्
नत्र त वर्षभरि पानको थुकले तिमीलाई थुक्छन्
मलाई पनि त्यसरी नै संधै कटुवचनले थुक्छन्
तिम्रा खाल्डामा मैला पानी भरिरहन्छ
मेरा खाल्डामा पनि अभाव रहिरहन्छ
तर न तिमी त्यहाँ बाट उठेर भाग्न सक्छौ
न नै म मेरो कर्तव्यबाट भागेर जान सक्छु
No comments:
Post a Comment