-बी पी बजगाईं, सिलगडी |
पुष्कर पराजुलीको शब्द अनि सङ्गीतमा गायक पुष्पन प्रधानको गीति एल्बम ‘इन्दुरे मिन्दुरे’ बजारमा निस्किने बित्तिकै चर्चामा आउनु अनि हीट हुनु भनेको मानिसहरू अहिलेको व्यस्त जीवन अनि अमिल्दो सामाजिक संरचनाबाट बिरक्तिएर जीवनमुखी बन्न खोज्दैछन भन्ने कुरा बुझें मैले|
लगभग दुई दशकभन्दा अधिक वर्षहरू अघि मैले इन्दुरे मिन्दुरे गीत स्वयम् पुष्कर पराजुलीको मुखबाट उत्तर बंग विश्वविद्यालयको रिसर्च होस्टलमा सुनेको हुँ| यसपछी हामीले यो गीत कहिले काहीं भेट्दा फेरी सुन्थ्यौं, सँगै गाउथ्यौं| यसले एल्बमको रूप लिएर बजारमा आउन समय निकै लगायो| तर म सन्तुष्ट हुनसकें, किनभने यस गीतलाई पुष्पनको स्वरले न्याय गरेको छ| पुष्पनको गलामा मोहनी जादु छ भने पुष्करको गीत लेख्ने स्याहीमा मष्तिस्क हल्लाउने ताकत छ, जीवन देखाउने उज्यालो छ|
मेरो नजरमा पुष्कर जनवाद छिचोलेर जीवनमुखी बनेको एउटा युगको नाम हो| भर्खरै स्कूले जीवन सकेर टीनेजरको बित्दो संघारमा उभिंदाको उ बेलाको कलिलो पुष्करले आफैले लेखेको गीत नुक्कड़मा उभिएर गाएको देख्दा साहित्यकार रामलाल अधिकार दङ्ग परेको मैले धेरै अघि सुनेको हो| त्यस गीतको मुखडा यस्तो थियो-
जाउँ जाउँ चियाबारीमा, बुट्टा बुट्टी छहारीमा
मनको भारी बिसाउन, जाउँ जाउँ चियाबारीमा
चिरा चिरा परेको खुट्टा, मशिन बनेका हातहरू
छोरा-छोरीलाई ठूला बनाउने, रातका गुनगुन बातहरू
चट्टान पागल्ने गर्मीमा उही छ इच्छा उही रहर
जस्तो चियाको हरियोपन छ सुन्दर|
सम्भवत यो गीत अहिलेसम्म रिकर्ड भएको छैन होला| यसरी जनवादी चिन्तन बोकेर कलम समाएका पुष्कर पराजुलीले आफ्नो सामाजिक जीवनको अनुभवको निचोडहरूलाई कम उमेरमा नै जीवनमुखी बनाएर उतार्न थालेका हुन्|
एउटा विद्यार्थीले जुन सपना बुनेर पडन शुरु गरेको हुन्छ अनि उसले शिक्षा सिध्याएर अघि बढ्नु खोज्दा अवसरको अभाव अनि उभिनुको संघर्षको जुन संघार देख्छ, त्यस परिस्थितिमा उभिने अवसर पाए उभित्रको उर्जाले पराकाष्ठा नाघ्ने संकल्प बोकेको गीत हो इन्दुरे मिन्दुरे| यो गीत पुष्कर पराजुलीका सहपाठी अनि साथी-भाईहरू माझ दुई दशक अघि नै चर्चित गीत हो अनि अहिले यसलाई वाह्य जगतमा चर्चाको शिखरमा पुरयाएका छन् पुष्पन प्रधानले|
मैले पहिले नै पुष्पनलाई एउटा नाम दिएको छु, ‘भुँईं गायक’ भनेर| उनी भुँईंका कुराहरू, जमीनी यथार्थहरू टिपेर अरूलाई जीवनको मूल्य बोध गराउन खोज्ने गीताङ्गे हुन् अनि जमीनका त्यस्ता यथार्थहरू भित्र नै हुर्किएका पुष्कर पराजुलीका शब्दहरूलाई पुष्पनले न्याय नदिए कसले दिने? सम्भवत: गीति एल्बम इन्दुरे मिन्दुरेको निस्किने बित्तिकै चुलिएको चर्चा भित्र यही यथार्थ सबल उभिएको छ|
‘आठ बजी जान्छ पाँच बजी फर्कन्छ’ भन्ने गीत राम्ररी सुन्दा कसैले पनि आफ्नो बाबुलाई परिवार पाल्न काममा गएको झल्यास्स सम्झन सक्छन्, उ चिया कमानको मजदुर हुनसक्छ, कुनै फ्याक्ट्रीको श्रमिक हुनसक्छ, कुनै प्राइवेट अर्थात् सरकारी नोकरीको तल्लो तहको कर्मचारी हुनसक्छ| यस गीतको पात्रले बहुसंख्यकको प्रतिनिधित्व गरेको छ यसैले उ आफैमा एउटा सिंगो देश हो| र नै त गीतले भन्छ, ‘कसरी भन्नु ठुल्दाजु....उसले देश बनाउँदैन...’ | पुष्करले एउटा साधारण मजदुरलाई देशको निर्माता उभ्याएका छन् भने पुष्पनले यस गीतलाई गाएर खटिखाने वर्गलाई सम्मानित तुल्याएका छन्|
यसै इन्दुरे मिन्दुरे एल्बममा भएको अर्को गीत ‘एउटा डम्पिंग ग्राउण्ड बनाइदेउन है’ मनको स्वच्छताको पक्षमा लेखिएको एउटा यस्तो गीत हो जसले बन्धक बनेको मानवीय चेतनाको मुक्ति खोजेको छ| विश्वको सङ्गीतको अध्यायमा यस्तो गीत मान्छेले होइन युगले लेखेको हुन्छ अनि गीतलाई युगले नै गाएको हुन्छ| हल्का-फुल्का रमाइलो गाएर सङ्गीत बेच्ने बजारमा पुष्कर पुष्पनको जोडीले भने यसपाली साँच्चै एउटा इतिहास रचेको छ| यस गीतमा बंगालको बाउल गानको सुरले नेपाली संगीतलाई जुन नयाँपन दिएको छ त्यो अलग्गै चर्चाको विषय नै बनेको छ|
यस एल्बमसँग सम्बन्धित मैले नचिनेका, नजानेका सबै नै बधाईका पात्र हुन्| मित्र पुष्कर पराजुलीलाई समाजलाई एउटा राम्रो जीवनमुखी कोशेली ‘इन्दुरे मिन्दुरे’ दिएकोमा हार्दिक बधाई एवं शुभकामना| भाई पुष्पनलाई आज जन्मदिनको शुभकामनासँगै इन्दुरे मिन्दुरेको निम्ति लछेप्रै बधाई अनि मायाहरू...|
अन्तमा पुष्कर पराजुलीको जनवादी शब्दभित्रै मेरो शुभकामना टुंग्याउँदछु –
“कदम कदममा जिन्दगीको सङ्घर्षको पुकार छ
ढुँगा फोर्ने हातहरूमा शक्ति बेशुमार छ
एउटा कदम तिमी बढाउ, अर्को कदम बढाउँछु म
एकताको अघि सबै बाधाहरूको हार छ|”
No comments:
Post a Comment