Tuesday, 28 July 2026

रक्तदानले बचाउँछ जीवन: चम्पासरीमा बहुमुखी स्वास्थ्य शिविरमार्फत मानव सेवाको प्रेरणादायी उदाहरण


सिलगढी, २७ जुलाई: "रक्तदान जीवनदान" भन्ने सन्देशलाई आत्मसात गर्दै चम्पासरी युवा नाट्य मञ्चको आयोजनामा संस्थाको आफ्नै भवनमा बहुमुखी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरअन्तर्गत रक्तदान, निःशुल्क दन्त परीक्षण तथा उपचार र निःशुल्क सुगर जाँचको व्यवस्था गरिएको थियो, जसबाट ठूलो सङ्ख्यामा स्थानीयवासी लाभान्वित भएका छन्।
दिव्य ज्योति सेवा समितिको सहयोग तथा सिलगढी तराई लायन्स ब्लड सेन्टरको प्राविधिक सहकार्यमा आयोजित रक्तदान शिविरमा ४१ युनिट रगत संकलन गरिएको थियो। स्वास्थ्य परीक्षणपछि केही समस्या देखिएकाले ८ जना इच्छुक रक्तदातालाई रक्तदान गर्न अनुमति दिइएन, जसले सुरक्षित रक्तदानको महत्त्वलाई समेत उजागर गरेको छ।
शिविरमा प्रसिद्ध दन्त चिकित्सक डा. सोनु प्रधानको नेतृत्वमा निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो भने निःशुल्क सुगर जाँचबाट पनि धेरै स्थानीयवासी लाभान्वित भएका थिए।
कार्यक्रममा चम्पासरी युवा नाट्य मञ्चका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा दिव्य ज्योति सेवा समितिका सदस्य अरुणा रूचाल, अनुरा राई, मञ्जु रूचाल, शीतल उट्ठेल, ममता विश्वकर्मा (भुजेल) र रक्षा सिंह तथा ब्लड बैंक टोलीका डा. निजहत नाजनिन, मानवी बर्मन र बुद्ध सुब्बालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
यस अवसरमा शिक्षाविद् दीपक न्यौपाने, समाजसेवी राजेन सुवेदी, सुवास रेग्मी, प्राध्यापक बी.आर. जोशी, समाजसेवी सुनिल गिरी, सुसान अधिकारी, अधिवक्ता खेम राई, दिवस न्यौपाने, जिल्ला कोटक प्रोटोकल अफिसर सागर सिंह, शास्त्रीनगर समाज सेवा समितिका सचिव कर्ण सुब्बा, सिलगढी देवकोटा सङ्घका पार्वती ठकुरी, देवराज शर्मा, रोहिता शर्मा, रथा प्रधान, गङ्गा शर्मा, मेनुका शर्मा, माइतीघर नारी समूहका लक्ष्मी देवान, सपना प्रधान, उर्मिला सुब्बा, समाजसेवी प्रमिला अधिकारी, रेखा डुङ्गाना, उमेश अधिकारी तथा नगेन्द्र धमालालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै चम्पासरी युवा नाट्य मञ्चका सचिव डा. इन्द्रबहादुर क्षेत्रीले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। साथै उनले रक्तदान जस्तो महान कार्यमा सहभागी भई मानव जीवन बचाउने अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था र स्वयंसेवाप्रति आभार व्यक्त गरे।

Monday, 27 July 2026

बर्दवान रोड आरओबी उद्घाटनले सिलगढीको यातायातमा नयाँ गति, उत्तर बङ्गालमा पूर्वाधार विकास तीव्र: सांसद राजु बिष्ट

बर्दवान रोड आरओबी उद्घाटनले सिलगढीको यातायातमा नयाँ गति, उत्तर बङ्गालमा पूर्वाधार विकास तीव्र: सांसद राजु बिष्ट


सिलगढी, २७ जुलाई: सिलगढीको एयरभ्यु मोड र झन्कार मोडलाई जोड्ने बर्दवान रोडस्थित नवनिर्मित रोड ओभर ब्रिज (ROB) को उद्घाटन पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारीको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्ट पनि सहभागी भएका थिए।

उद्घाटनपछि सांसद राजु बिष्टले केन्द्र सरकारले यस परियोजनाका लागि ₹६८.७५ करोड विनियोजन गरे पनि अघिल्लो राज्य सरकारले करिब एक दशकसम्म काम सम्पन्न गर्न नसक्दा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको बताए। मुख्यमन्त्री सुवेन्दु अधिकारीको पहलमा यो लामो समयदेखि रोकिएको परियोजना तीव्र रूपमा सम्पन्न भएकोमा उनले धन्यवाद व्यक्त गरे।

उनका अनुसार नयाँ आरओबी सञ्चालनमा आएपछि सिलगढीको यातायात व्यवस्थापनमा सुधार आउने, यात्रा समय घट्ने, सडक सुरक्षा बढ्ने तथा स्थानीय बासिन्दा, विद्यार्थी, श्रमिक, व्यापारी, पर्यटक र आकस्मिक सेवाका सवारीसाधनलाई सहज आवागमनमा ठूलो राहत पुग्नेछ।

सांसद बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा उत्तर बङ्गालमा पूर्वाधार विकासले तीव्र गति लिएको उल्लेख गर्दै बागडोगरा विमानस्थल विकास, एनजेपी रेलवे स्टेशन आधुनिकीकरण, सिलगढी एलिभेटेड हाईवे, एनएच–७१७ए, जलढाका–बिन्दु राजमार्ग, सिलगढी रिङ रोड, कोरोनेशन ब्रिजको वैकल्पिक छ लेन सडक, दार्जिलिङको वैकल्पिक राजमार्ग, दार्जिलिङ–लेबोङ–थर्ड माइल सर्कुलर रोड, माटीगढा–मिरिक सडक सुधार, रोहिणी सडक स्तरोन्नति तथा गोरखपुर–सिलगढी एक्सप्रेसवे जस्ता परियोजनाहरू कार्यान्वयन वा योजनाको चरणमा रहेको जानकारी दिए।

यी परियोजनाले दार्जिलिङ पहाड, तराई, डुवर्स तथा सिलगढी क्षेत्रमा यातायात सञ्जाल विस्तार, ट्राफिक व्यवस्थापन, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा रोजगारीका अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।