सिलगढी, २७ जुलाई: "रक्तदान जीवनदान" भन्ने सन्देशलाई आत्मसात गर्दै चम्पासरी युवा नाट्य मञ्चको आयोजनामा संस्थाको आफ्नै भवनमा बहुमुखी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरअन्तर्गत रक्तदान, निःशुल्क दन्त परीक्षण तथा उपचार र निःशुल्क सुगर जाँचको व्यवस्था गरिएको थियो, जसबाट ठूलो सङ्ख्यामा स्थानीयवासी लाभान्वित भएका छन्।
दिव्य ज्योति सेवा समितिको सहयोग तथा सिलगढी तराई लायन्स ब्लड सेन्टरको प्राविधिक सहकार्यमा आयोजित रक्तदान शिविरमा ४१ युनिट रगत संकलन गरिएको थियो। स्वास्थ्य परीक्षणपछि केही समस्या देखिएकाले ८ जना इच्छुक रक्तदातालाई रक्तदान गर्न अनुमति दिइएन, जसले सुरक्षित रक्तदानको महत्त्वलाई समेत उजागर गरेको छ।
शिविरमा प्रसिद्ध दन्त चिकित्सक डा. सोनु प्रधानको नेतृत्वमा निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो भने निःशुल्क सुगर जाँचबाट पनि धेरै स्थानीयवासी लाभान्वित भएका थिए।
कार्यक्रममा चम्पासरी युवा नाट्य मञ्चका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा दिव्य ज्योति सेवा समितिका सदस्य अरुणा रूचाल, अनुरा राई, मञ्जु रूचाल, शीतल उट्ठेल, ममता विश्वकर्मा (भुजेल) र रक्षा सिंह तथा ब्लड बैंक टोलीका डा. निजहत नाजनिन, मानवी बर्मन र बुद्ध सुब्बालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
यस अवसरमा शिक्षाविद् दीपक न्यौपाने, समाजसेवी राजेन सुवेदी, सुवास रेग्मी, प्राध्यापक बी.आर. जोशी, समाजसेवी सुनिल गिरी, सुसान अधिकारी, अधिवक्ता खेम राई, दिवस न्यौपाने, जिल्ला कोटक प्रोटोकल अफिसर सागर सिंह, शास्त्रीनगर समाज सेवा समितिका सचिव कर्ण सुब्बा, सिलगढी देवकोटा सङ्घका पार्वती ठकुरी, देवराज शर्मा, रोहिता शर्मा, रथा प्रधान, गङ्गा शर्मा, मेनुका शर्मा, माइतीघर नारी समूहका लक्ष्मी देवान, सपना प्रधान, उर्मिला सुब्बा, समाजसेवी प्रमिला अधिकारी, रेखा डुङ्गाना, उमेश अधिकारी तथा नगेन्द्र धमालालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै चम्पासरी युवा नाट्य मञ्चका सचिव डा. इन्द्रबहादुर क्षेत्रीले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। साथै उनले रक्तदान जस्तो महान कार्यमा सहभागी भई मानव जीवन बचाउने अभियानमा योगदान पुर्याउने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था र स्वयंसेवाप्रति आभार व्यक्त गरे।
No comments:
Post a Comment