Sunday, 9 October 2016

हरियो खुन - राज पुनियानी



छालाजति चर्चर ताछिएको
हातखुट्टा ख्वाम्म छिनालिएको
अधबैंसे पृथ्वीको
अन्तिम पुस्ताको रूख
अचेल केवल आकाशतिर हेर्छ

मान्छेले रियललाई भर्चुअल
र भर्चुअललाई रियल बनाइरहेको हाइपर युगमा
रूख चाहिँ
एउटा न्याचुरल सपना देख्छ

रूखको पखेटा पलाएको छ
र अब
उड़िरहेको छ रूख
रूख उड़िरहेको छ
छ उड़िरहेको रूख
पृथ्वीको सतहदेखि
टाढ़ो टाढ़ो टाढ़ो


तेल
ग्यास
खनिज
पानी
क्यै क्यै क्यै
क्यै निस्कँदैन अचेल
पृथ्वीको ग्यास्ट्रो भुँड़ीबाट

पृथ्वीको निन्याउरो आँखामा
केवल आँशु छ
त्यो पनि बालुवै बालुवाको


कार्बन च्याम्बरमा थुनिएको
मानव सभ्यताको
अडियो-भिजुअल इतिहासको करोड़ौँ डेटा
क्लाउड मेमोरीले समेत अटाउन नभ्याएपछि
विन्ड मेमोरी, वेभ मेमोरी, वाटर मेमोरीमा छरेर राखियो त्यो डेटा

तर त्यो केवल इतिहास-डेटा थियो
वर्तमान त थिएन
र बचेका दुइ एक मानव समूहका सदस्यहरू पनि
त्यतिञ्जेल त नंपुसक भइसकेका थिए


हरियो केवल रङ थिएन
जीवन थियो
हरियो केवल जरूरत थिएन
धुन थियो

हरियो त
वन थियो नदी थियो सागर थियो

अब सबै सबै सबै
भइसकेको छ
पहेंलो पहेंलो पहेंलो

हरियोले पहेंलो हुनु
हरियोको मृत्यु थियो

खासमा प्रकृतिलाई परेको गाड़े घाउ नै
मान्छेको पहिलो जन्म थियो


मान्छेले नै पुज्यो प्रकृतिको मनलाई
जसको छालाको रङ हरियो हो
मान्छेले नै चुस्यो प्रकृतिको तनलाई
जसको पसिनाको गन्ध हरियो हो

मान्छे हरियो छैन
पृथ्वीको मुहार, आङ, चाक, फिला, कुर्कुच्चाबाट
हरियो खोर्सिरहेको छ मान्छेको इन्फाइनाइट भोकले

बिस्तार ब्रह्माण्डको
विलुप्त प्रजाति हुने जानेपछि
उब्रिए जतिको फाउ संसाधन लगाएर
रोबोल्याबमा दिनरात एक गरिरहेको मान्छे
क्याल्कुलेट गर्न सक्छ
फील गर्न सक्दैन

मान्छे आफै नरहेपछि पृथ्वीमा
आखिर कसको लागि
बनाउनु हो
रोबोमानव?

# कन्सेप्ट डिजाइन, कविता र चित्राङ्कन – राजा पुनियानी

No comments:

Post a Comment