सजियो होला बेहुली झैं
सयपत्री मखमली गोदावरी
चाँप लाली गुँरासले ढकमक्क
सुन्दरी पहाड़की रानी ।
बज्यो होला झ्याम्टा र झेली
मादल ढोलक र डम्फु
छरियो होला खुशी उमंग
हर्ष र उल्लास वरिपरि ।
निक्लियो होला झाँकी
विविधतामा एकताको
घर आँगन गल्ली र सड़कमा ।
खुशी बाँड़दै होला आफ्नोजन
नाँच्दै होला गाँउदै होला
वर्षभरीको बोझ बिसाई ।
भयो होला झिलीमिली
मेरो गाँउ पनि दशैंको रमझमले
याद गर्दै होला मलाई पनि
मेरो गाँउले घरले गोरेटोले
त्यो गल्ली त्यो सड़कले
साथीसंगी बुढापाका सबैले
भन्दो हो "किन आएन त्यो यसपाली?"
दैवको लीला भाग्यको लेखा
मेटेर कसले पो सक्ने होला
कर्मले ल्यायो सात समुन्द्र पारी
निभाउँदैछु काँधमा धर्म भिरी
तर बुझ्ने कसले पो होला ।
हेर्दै होला घरले पर्देशीको
बाटो आशा बिछ्याएर
कालले बाँचे दैवले साँचे
फेरि भेटौंला अर्को साल... ।
[Pic for representative purpose only]
No comments:
Post a Comment