पानीले रातभरि
पिटेर पिटेर
धर्तीको आङ मर्किएको छ,
नसाजस्ता नागबेली बाटाहरू
चुडिरहेका छन्,
दाँतजस्ता अल्झिएर बसेका चट्टानहरू
भटाभट झरिरहेछन्,
थोते बारीका डिलहरू पनि एकतमासका
उदासमा छन् ,
बिचल्नीमा
परेका कमिला मान्छेहरू
दसैंका खुसीहरू पनि गनगन गनगन गर्दै
डरसरि बिताइरहेछन्
घाम त यसपालि
परदेशबाट नफर्किएका आफन्तहरू जस्तै
भइदियो,
केटकेटीहरूका पिस्तोलका बारूद ओस्साइदियो
छुट्टिमा डाइस खेलेर पैसा मार्ने
टिका लगाएर गाउँघर घुम्ने खुसीहरू
नयाँ लुगा लगाएर सेल्फी खिच्ने रहरहरू पनि
घरभित्रै झोक्रिरह्यो,
घामको
ओभानो स्पर्श
यसपालि बर्षौ अघि बितेका बाजबोजुका फोटाहरू हेरेर मिस गरिरहेजस्तै
धर्तीले पनि मिस गरिरह्यो,
कहाँनेर
चित्त दुख्यो दुख्यो प्रकृतिको आँतमा
भित्र कताकता
यसपालि दसैँमा
धर्तीको छात्ती पिट्दै पिट्दै
रोइरह्यो रोइरह्यो...रोइरहेछ...
शोकग्रस्त दसैँ...
No comments:
Post a Comment