Saturday, 29 October 2016

पाठ्य-पुस्तकको अभाव झेल्दै डुवर्सका नेपाली माध्यमका विद्यार्थीहरू

Writes : लीलाबहादुर छेत्री , डूवर्स

एकातिर तिहार सकिएको लगत्तै माध्यमिक परीक्षाको निम्ति सेन्ट-अप शुरु हुनेछ भने अर्कातिर मातृभाषा नेपाली माध्यम लिएर पढ्दा परीक्षा लेख्न र पठन-पाठनमा कुनै भाषिक असुविधा झेल्न पर्दैन भन्दै नेपाली माध्यम लिने विद्यार्तीहरू अघि सेन्ट-अप ठुलै सङ्कट बन्ने तय देखिँदैछ।

संक्षेपमा यस पटक  सेन्ट-अप परीक्षा मातृभाषा नेपाली माध्यम लिएर लेख्ने विद्यार्थीहरूलाई फलामको चिउरा हुने तय छ। मातृभाषामा शिक्षा पाउनु पर्छ ,मातृभाषाको व्यवहारिकताबारे हामी सचेत हुनुपर्छ भन्ने हल्लाहरूबीच हजारौं निर्दोश विद्यार्थीहरूले मातृभाषा नेपाली माध्यम लिएर पढेकोमा  पहिलो सजाय भोग्नुपर्ने देखिँदैछ यस पटकको सेन्ट-अप परीक्षामा ।

नेपाली भाषा मान्यता दिवसको अवसरहुँदी मातृभाको व्यवहारिकताको कुरोले खुब मान्यता पाउने गर्दछ।  भाषालाई लिएर ठुल्ठुला कुरा हाँकिने गरेको सुनिन्छ। तर  नेपाली माध्यम लिएर आगामी वर्ष 2017 मा माध्यमिक परीक्षा लेख्ने हजारौं नेपाली भाषी विद्यार्थीहरूका पाठ्य-पुस्तकको गम्भीर समस्याबारे भने यस्ता चर्चामा सहभागी बन्ने ,आफ्नो तर्क राख्ने समूह नै कानमा तेल हालेर बसेका आरोप छ।यसबारे आजसम्म कहींकतैबाट पनि विरोधको दह्रिलो आवाज सुनिएको छैन।

समस्या निराकरणको पहलबारे कसैले दावीका साथ बोलेको सुनिएको छैन।विशेष गरी  नेपाली माध्यमका माध्यमिक स्तरका विद्यालयहरू प्राय: जसो डुवर्स इलाकामा स्थापित छन्।

तर यो समस्या केवल डुवर्सको निम्ति मात्रै हो भन्न मिल्दैन।नेपाली भाषामाथि अन्याय हुँदा त्यसबारे अन्य क्षेत्रबाट पनि विरोधका आवाजहरू सुनिँदैआएको हो।तर यतिखेर यो समस्या केवल डुवर्सको मात्रै हो जस्तो गरेर अन्य इलाकाका नेपाली भाषाको व्यवहारिकताका पक्षधरहरू मौन जस्ता नै रहेको आरोप छ। 

डुवर्समा स्थापित नेपाली माध्यमका विद्यालयहरूले डुवर्सका नेपाली भाषीहरूलाई पछिल्ला केही वर्षदेखियता माध्यमिक तहका शिक्षा प्रदान गर्दैआइरहेका छन्।

नेपाली माध्यममा माध्यमिक तहका अझ थुप्रै विद्यालयहरू स्थापना गरिनुपर्ने दिशातिर सचेत नेपाली भाषीहरू आग्रही देखिन्छन्।

केही समय अघिदेखि यसबारे केही सङ्घ-संस्थानले विशेष चासो लिएर प्रक्रिया समेत शुरु गर्नथालेका छन्।यस्तोमा पाठ्य-पुस्तकको अभावले डुवर्स इलाकाका नेपाली माध्यमका माध्यमिक विद्यालयका विद्यार्थीहरूले यसपटक कसरी सेन्ट-अप अनि 2017 को माध्यमिक परीक्षा  लेख्ने हुन् भन्ने पिरलोमा विद्यार्थी,अभिभावक र शिक्षक-शिक्षिकाहरू पर्नथालेका छन्।

यस वर्षदेखि परिवर्तित पाठ्यक्रमानुसार परीक्षार्थीहरूले  माध्यमिक परीक्षा लेख्नुपर्ने छ।जुन परिवर्तित पाठ्यक्रम र पुरानो पाठ्यक्रममा धेरै अन्तर रहेको देखिन्छ।त्यसैले माध्यमिक परीक्षाको लागि परिवर्तित पाठ्यक्रम अनुसारको पाठ्य-पुस्तककै पठन-पाठनले मात्रै परीक्षा लेख्न सकिने देखिन्छ।

तर हालसम्म पनि परिवर्तित पाठ्यक्रम अनुरुप बोर्डद्वारा अनुमोदित पाठ्य-पुस्तक नेपाली माध्यमका  विद्यार्थीहरू समक्ष आइपुगेको छैन।नेपाली भाषा बाहेक अरु सबै भाषा माध्यमका पाठ्य-पुस्तक विद्यार्थीहरूको हातमा उचित समयमै आइपुगेको छ।

त्यसैले अन्य भाषी विद्यार्थीहरू सेन्ट-अप र माध्यमिक परीक्षाको तयारीमा निर्धक्क भएर लागिपर्दै आएको देखिन्छ।यसरी  पाठ्य-पुस्तकको अभावमा नेपाली भाषी विद्यार्थीहरूले  भने सेन्ट-अप र माध्यमिक परीक्षा कसरी लेख्लान् त जो-कोहीले अनुमान लगाउन सक्छन्।

यदि सेन्ट-अप परीक्षा सकिएको लगत्तै पाठ्य-पुस्तक विद्यार्थीहरूको हातमा नआए यस पटकको माध्यमिक परीक्षामा नेपाली माध्यमका विद्यार्थीहरूको कुन हालात हुने हो चिन्ता व्यक्त गर्न थालिएको छ।

साथै आजको प्रतिस्पर्धात्मक युगमा विद्यारथीहरूले पाठ्य-पुस्तकको अभावमा पऱीक्षा लेख्नपरेपछि कुन प्रकारको परिणाम प्राप्त गर्ने हुन् त्यसबारे भनिरहन पर्दैन।ज्ञात रहोस्, पछिल्लो  वर्षको माध्यमिक परीक्षामा उत्तर बङ्गालका नेपाली माध्यमका विद्यालयहरूले त्यसमा पनि डुवर्सका विद्यालयहरूले उत्कृष्ट परिणाम प्राप्त गरेका थिए।

उतिखेरको उत्कृष्ट परिणाम आएको खबरले गर्दा नेपाली माध्यम लिएर आगामी वर्ष 2017 माध्यमिक परीक्षा लेख्ने विद्यार्थीहरूलाई प्रेरित गरेको थियो। नेपाली माध्यमका विद्यालयहरूमा गएर विद्यार्थीहरूसित यसबारे साक्षात्कार गरिँदा विद्यार्थीहरूले उत्साहित हुँदै नेपाली माध्यममा माध्यमिक परीक्षा लेखेर सर्वोत्कृष्ट अङ्क ल्याउने बताएका थिए।

तर यतिखेर नेपाली माध्यमका ती विद्यालयहरूमा पुगेर आगामी 2017 मा माध्यमिक परीक्षा लेख्ने विद्यार्थीहरूसित माध्यमिक परीक्षाको पूर्वतयारीबारे जान्न चाहँदा उनीहरू अहिले नेपाली माध्यम लिएर पढ्नमा ठुलो भुल गरेको र सेन्टप-अपकै निम्ति पनि कुनै तयारी गर्ननसकेको बताउँछन्।

नेपाली मध्यमका माध्यमिक तहका विद्यालयहरूका शिक्षकहरूसित यसबारे कुरा गर्दा उनीहरू नानीहरूको भविश्य मात्रै नभएर पाठ्य-पुस्तकको अबावलाई सम्पूर्ण विद्यालय परिवारकै समस्या रहेको बताउँछन्।

पाठ्य-पुस्तकको अभावमा पाठ्यक्रम पूरा गर्नलाई गाह्रो भइरहेको र कोही भने अन्य भाषाका पाठ्य-पुस्तकबाट जबरजस्ती अनुवाद गरी खाँचो टार्ने काम भइरहेको पनि शिक्षक-शिक्षिकाहरू बताउँछन्।यसरी  शिक्षकहरूले पाठ्यक्रम सक्ने कोशिष गरे पनि विद्यार्थीहरूलाई भने नेपाली भाषामा जस्तो सहज बुझाउन नसकिने पनि उनीहरू बताउँछन्।

यस समस्यालाई लिएर केही समय अघि मात्रै डुवर्सका नेपाली माध्यमका माध्यमिक तथा उच्च माध्यमिकतहका प्रधानाध्यपकका टोलीले माध्यमिक परिषद् (उत्तर बङ्गाल)का अध्यक्ष कल्याणमय गाङ्गुलीसित भेट गरेको थियो।

जुन भेटमा टोलीले ज्ञापन चढाउँदै नेपाली माध्यममा पाठ्य-पुस्तक नहुनाले विद्यार्थी र शिक्षक-शिक्षिकहरूले भोग्दैआएको समस्याबहारे अवगत गराएका थिए।

उक्त भेटमा माध्यमिक परिषद् (उत्तर बङ्गाल)का अध्यक्ष कल्याणमय गाङ्गुलीले यस समस्या नेपाली भाषाका अनुवादकको अभावमा पाठ्य-पुस्तक ढिलो तयार भएको र यो समस्या केही दिनभित्रै समाधान गरिने आश्वासन दिएका थिए।तर वास्तविकता के छ भने आजसम्म पनि नेपाली माध्यमका विद्यार्थीहरूका हातमा अङ्ग्रेजी माध्यमको गणितको पुस्तक देखिन्छ।

नेपाली माध्यमका विद्यार्थीहरूले आजसम्ममा बोर्डद्वारा प्रकाशित गरिएको पाठ्य-पुस्तक नपाएपछि केही निजी प्रकाशनहरूले निकालेका पुस्तकहरू किनेर खाँचो टार्ने कोशिष गरिदैआएको देखिन्छ।तर गणित भने निजी प्रकाशनद्वारा पनि प्रकाशित नगरिएको  कारण बजारमा नपाएको विद्यालयपक्षबाट बताइएको छ।भुक्तभोगी विद्यार्थीहरूसित यस समस्याबारे जान्न चाहँदा विद्यार्थीहरू अङ्ग्रेजी माध्यमको किताबबाट गणित बुझ्न गाह्रो परेको बताउँछन्।

यसरी पाठ्य-पुस्तकको अभाव झेल्ने विद्यालयहरूमा यहाँको बाग्राकोट उच्चतर माध्यमिक विद्यालय पनि पर्दछ।यस विद्यालयबाट पनि विद्यार्थीहरूले उसरी नै समस्या भोगिरहेको देखिन्छ।

जसरी अन्य विद्यालयका विद्यार्थीहरूले भोगिरहेका छन्।यसै विद्यालयमा अध्ययनरत रोमिया प्रधान र आस्ना छेत्रीले अहिले आफूहरूलाई नेपाली माध्यम लिएर पढेकोमा पछुतो  लागिरहेको बताए।हातको अङ्ग्रेजी माध्यमको गणित पुस्तक देखाउँदै यसै विद्यालयका ऐसालु तामाङ र नितिका मङ्गरले पनि भने,बरु इङ्ग्लिस मिडियम लिएर पढेको भए ढुक्कै हुनेथेछ।

नेपाली माध्यमका माध्यमिक तहका विद्यार्थीहरूले पाठ्य-पुस्तकको अभाव झेल्दैआएको कुरो केही समयदेखियता विभिन्न दैनिक मार्फत प्रकाशमा आइरहेको छ।

तर यतिञ्जेलसम्म यो गम्भीर  समस्याले नेपाली भाषाको व्यवहारिकता ,संवैधानिक मान्यताप्राप्त यस भाषाप्रति न्याय भएको छैन भन्ने अनि नेपाली भाषा माध्यमको शैक्षिक व्यवस्था सुदृढ रहनुपर्छ भन्दै वकालती गर्नेहरूको ध्यानाकर्षण गर्नसकेको छैन भन्ने आरोप छ।

साभार : हिमालय दर्पण

No comments:

Post a Comment