Tuesday, 23 August 2016

किसानको रहर --- poem by Laxmi Prasad Devkota

सानो छ खेत, सानो छ बारी, सानै छ जहान 
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।
 बिहानपख झुल्किन्छ घाम देउराली पाखामा 
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।। 
काँधको शोभा हलो र जुवा हातमा कोदाली 
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।।
 छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला 
बनाई कुलो लगाई पानी आएर गोडौँला ।।
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी !
 गालामा साना पसिना दाना मोतीझैँ खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।  
सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा ।।
 सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?  
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।।

pic : Pulok Karmakar, Via:http://nepalgo.tumblr.com/

No comments:

Post a Comment