Monday, 29 August 2016

समावेशी’लाई समालोचक रूपेश शर्माबाट पाँच प्रश्न

Via : Basu Thapa Pulami
1. भारतीय नेपाली साहित्यमा सन् 2013 मा 'हस्तक्षेप'-को अवधारणा विकसित हुनथालेपछि सेप्टेम्बर, 2014 मा गान्तोकमा 'समावेशी' अवधारणाको औपचारिक घोषणा भएको पाइन्छ। यसपछि, 2015 को अगस्त महिनामा 'हस्तक्षेप' र नोभेम्बरको अन्तमा 'समावेशी' अवधारणाका घोषणा-पत्र प्रकाशित भए। 'हस्तक्षेप'-ले परम्पराको निषेध गरेको आरोप लागिरहेकै बेला 'परम्परासँग मोहभङ्ग नगरीकनै' 'समावेशी' अवधारणा आउनु साहित्यमा छुट्टै र विशिष्ट देखिने मोह, वैचारिक ध्रुवीकरण र गुटगत-लेखनलाई प्रश्रय दिने पछिल्लो 'निरन्तरता' होइन भनेर नमान्ने आधारहरू के-के हुन् ?
उत्तर – सुरुमै स्पष्ट पार्न चाहन्छौँ, समावेशी अवधारणा हस्तक्षेपी विचारलाई ताकेर सुरु गरिएको अभियान पटक्कै होइन। यसलाई अलिक फरक दृष्टि राखेर हेर्ने आलोचनाको आवश्यकता छ। पाठककीय प्रतिक्रियाको मान्यतालाई ध्यानमा ऱाख्दै यहाँले राखेको प्रश्नको मात्रै उत्तर दिन चाहन्छौँ।
समाजमा विभिन्न पाटाहरूबाट समानान्तर पाराले विचारहरू उठिरहेकै हुन्छन्। कतिले त्यस विचारलाई भित्रभित्रै पाल्छन्, र भित्रै मार्छन् पनि। कतिले त्यस विचारलाई हतियारसम्म बनाएर हैकम पनि देखाउँछन्, कतिले चाहिँ शक्ति भएरै पनि देखाउँदैनन्। वैचारिक शक्ति तर ठिक ठाउँमा लगाए त्यसले समाजलाई चाहिने केही थोक अवश्यै दिएको हुन्छ। साहित्यको सन्दर्भमा अब शक्तिलाई कसरी कहाँ प्रयोग गर्ने त्यसको रूप फरक हुनसक्छ। त्यही फरकपनलाई छुट्याउँन सक्नु भए समावेशीले उठाएको अवधारणाको चुरो समात्न सक्नुहुन्छ। हामीले कला-साहित्यमा त्यस वैचारिक शक्तिलाई लेख्दा समाजका के के कुराहरू मात्रै लेख्ने भन्ने अवधारणालाई मात्रै लिएनौँ तर त्यसलाई कसरी-कसरी पनि लेख्नु आवश्यक रहेकोछ पनि जोड्यौँ। तसर्थ, समावेशी अवधारणाले साहित्य-कलागत चिन्तनलाई समाजमा कसरी उभ्याउने त्यसमा धेर चाप दिएको छ। साहित्य र कलालाई समाजको सापेक्षतामा उभ्याउन मानिसलाई चाहिने ज्ञानानुशासनको हरेक क्षेत्रलाई कलागत समावेशीको अवकास चाहिन्छ। त्यही अवकास कति ठाउँमा साघुरो, खुम्छिएको, वेवास्ता गरिएको, उपान्तमा धकेलिएको हामीले अनुभव गऱ्यौँ। यसको पुनर्लेखन हुनैपर्छ, पुनर्अध्ययन हुनैपर्छ, पुनर्पठन हुनैपर्छ भन्ने देख्यौँ, हामीले थाहा गऱ्यौँ। साहित्यचिन्तनको अवधारणालाई क्षैतीजीय (समकालिक) नापले मात्रै होइन लम्बरेखीय (कालक्रमिक) नापले पनि सँगसँगै नाप्दै बढ्नुपर्ने अनुभव गऱ्यौँ। दुवैको समावेशी आधारलाई हामीले समात्यौँ। किन कि वर्ग, जाति, जनजाति, भाषा, भुगोल, अर्थनीति, राजनीति...इत्यादि आफैमा साहित्य होइन। न त कला नै हो। साहित्य-कला तर तिनैबाट परिपोषित सङ्कथन भने हो। अब साहित्यमा ती अवकाशहरू कलागत मूल्यसित जोडिने क्रममा कला समावेशी हुनैपर्छ भन्ने कुरामा जोर दियौँ। समाजमा कलागत चिन्तनको स्रोत जो कोही पनि हुन सक्छ। अब कलागत मूल्यलाई विपन्न-सम्पन्नको फिताले नाप्न मिल्दैन। तसर्थ साहित्यको मूल्याङ्कण अर्थकेन्र्द्री मात्रै रहेन। वर्गचेतनाको इन्चीटेप र स्केलले मात्रै समसामयिक कला-चिन्तन र चेतनाको हरदर हिसाब निकाल्न अब पुग्दैन। त्यसलाई हाम्रै समाजका मूल्यहरूसित पनि जोडेर हेर्न सकिन्छ भन्ने देख्यौँ। आज आएर समाजले त्याज्य ठानेर उपान्तमा राखेर हेरिने जनजातिहरूका कलागत चिन्तन र मूल्यहरूको अध्ययन कहिले गर्ने ??? यतापट्टि हामीले हेरेकै रहेनछौँ। हेर्न नचाहेका हौँ कि ??? चेतन-अवचेतनमा गाडिएको हाम्रा संस्कारगत हाम्रा मिथकीय पात्र-पात्राहरूलाई पनि जब्बरजस्ती वर्गको जामा लगाई दिएर जुलुसमा निकाल्न लागिरहने ??? उनीहरूका जीवनस्तरलाई हामीले वेवास्ता गरिरहने ??? उनीहरूका जनविश्वासहरूलाई हामी कहिले हेर्ने ??? निश्चित वर्गको वर्गस्वार्थमा उनीहरूलाई पिल्सिन दिइरहने??? उनीहरूलाई सँधै तल्लो वर्गमा राखेर तल्लो वर्गकै पात्र बनाइरहने ?? हाम्रा पात्र-पात्राहरू निम्न वर्गका निश्चय छन् तर उनीहरूमा भएका कलाचिन्तनका सिपहरूलाई निम्न स्तरका मात्रै छैनन्। किन अन्देखा गरिरहने। उनीहरूका कलाचिन्तनलाई समावेश नगर्ने…??? उनीहरूले हेर्ने कलाचिन्तन र दृष्टिकोणलाई नजरअन्दाज गरिरहने ??? उनीहरूलाई तल्लो वर्गमै राखिरहने ??? नेपाली जातगोष्ठीगत जातजाति र जनजातिकाहरूका अनेक भाषा, संस्कृति, परम्पराबाट साहित्य-समाजलाई चाहिने कलागत चिन्तनको समावेशी आधारहरू नदिने...??? नेपाली जातिको स्वरूपनै समावेशी छ। भाषा नै समावेशी छ। संस्कृति नै समावेशी छ। साहित्य-कलाचिन्तनलाई समावेशी नमान्ने...??? तात्पर्य परम्परासित मोहभङ्ग नगर्नु भनेको त हाम्रा यी जनसमाजले बचाएर राखेको मूल्य मान्यतासितको अन्तर्सम्बन्धहरूलाई सम्बोधन भनिएको हो। त्यसले समावेशी आधारहरू खोज्दै जाने क्रममा कलाको पूर्वकालिक क्रमलाई इङ्गित मात्रै गरिएको हो। यसो भन्दा गुटवाजी गरेको जस्तो देखिने स्थिति कहीँ पनि गरेजस्तो हामीलाई लाग्दैन। हामीले समूहबद्ध रूपमा गरेका यस अवधारणाले छुट्टै र विशिष्ट देखिने मोह पालेको निश्चय होइन। वैचारिक ध्रुवीकरण र गुटबाजी भनेर स्थुल रूपमा वर्गीकरण नगरी भित्री गुदी समात्नु भए यसको चर्चा य चुलिएला कि??? हाम्रा सिर्जनशील साथीहरूले यसलाई अघि बढाउनमा लागिपरेकै छन्। सिर्जनाहरूमाथि पनि आलोचना र प्रश्नहरू उठाइएको भए झनै राम्रो हुनेथियो। त्यसो गरिएनछ।


2. 'समावेशी' अवधारणाले मूलतः उत्तरआधुनिकतावादको 'बहुलवादी' सिद्धान्तलाई अँगालेको स्पष्टै छ। त्यसो भए भारतीय नेपाली साहित्यमा यो अवधारणा उत्तरआधुनिकतावादकै 'पछिल्लो संस्करण' हो? होइन भने 'समावेशी' अवधारणाका मौलिकता र नवीनता बुँदागत रूपमा प्रष्ट पारिदिन आग्रह गर्दछु।
उत्तर – हामीले समावेशी अवधारणाको प्रस्तावमामा कतै पनि उत्तरआधुनिकतावाद भन्ने शब्दको उच्चारणसम्म गरेको छैनौँ। अर्को कुरो बहुलवादी दृष्टिचेत पनि उत्तरआधुनिकतावादकै मात्र पेवा शब्द निश्चय होइन। उत्तरआधुनिक शब्द आउनु अघि देखिनै चेतना त विद्यमान थियो नै। भनिन्छ, वैदिक ऋषिले विश्व पुरूषको वर्णन गरेका थिए, जसका हजारौं शिर छन्, हजारौं आँखा, हजारौं खुट्टा छन् र जो विश्वमा व्याप्त छ। आज विश्व पुरूष संसारका कैयौं भागहरूमा फैलिसकेको छ, फैलनेक्रम चलिरहकै छ। भर्तृहरिले ब्रह्मलाई शब्दको रूपमा परिभाषित गरे र त्यसको विवर्तको रूपमा अर्थलाई हेरे। प्लेटोले विचारको छाया जगत् हो भने र जगत् लाई मूलबाट छुट्याए। भर्तिहरिले शब्दलाई पहिलो कोटी र अर्थलाई छायाको रूपमा, आभाषको रूपमा, विकृतिको रूपमा हेरे। विकृतिमा सार हुँदैन, निश्चितता हुँदैन, सत्य हुँदैन, सत्याभाष मात्रै हुन्छ। त्यसैले साहित्य र संस्कृतिलाई बुझ्न कुनै एउटा निश्चित सिद्धान्तलाई मात्रै सत्य ठानेर हुँदैन भन्ने अर्थमा हामीले बहुलवादको कुरा उठान गरेका हौँ। यसलाई हाम्रा सांस्कृतिक सन्दर्भहरूसित जोडेर हेर्न मिल्दैन र ??? यसको निम्ति उत्तरआधुनिकताकै पुच्छर समातिरहन आवश्यक छैन। उत्तरआधुनिकता शब्द आफैमा भयङ्कर र डरलाग्दो पनि निश्चय होइन। भारतेली नेपालीहरूका सन्दर्भ र साहित्यिक मान्यताहरूको विकासक्रममा पछिल्ला समयमा आएर आयामेली, लीला लेखनगत अवधारणाहरलाई उत्तरआधुनिकवादसित दाँजेर हेर्दै लगियो। आलोचना गर्नेहरूले भन्दै लगे। त्यसैलाई मिथ बनाउँदै लगियो। कहाँनेर उत्तरआधुनिकता भयो र कहाँनेर आधुनिकता भयो छुट्याएर भन्न सकिने स्थिति देखिँदैन। उहिले नै लेखनाथ पौड्यालले लेखेका पिञ्जडाको सुगा कविताको अहिलेसम्म तीन किसिमका व्याख्याहरू प्रचलित छन्। बताइरहनु नपर्ला। यसरी हेर्ने दृष्टि वहुलवादी दृष्टिचेत हो। यसरी कुन व्याख्या ठिक हो, कुन ठिक होइन भन्न सकिँदैन। यसरी भन्न नसक्नु नै वास्तवमा बहुवादी दृष्टिचेतकै कारण हो। यहाँनेर विचार गर्नुपर्ने कुरो छ। हामीले आफैलाई उत्तरआधुनिकता ठाने पनि नठाने पनि वैचारिक रूपमा आएका यस्ता मान्यताहरू अभिप्रायगत रूपमा हामीले चलाएका हेत्वाभाष मात्रै हो कि लाग्छ। कारण संसारमा एकदमै मौलिक भन्ने र नवीन भन्ने कुरो छैन र हुँदैन पनि। हामीले बोलेका, विचार गरेका, सोंचेका, सापेक्षित लागेका अवधारणाहरू पनि अभिप्रायगत हेत्वाभाष मात्रै हुन्। मार्क्सवाद नै पनि एउटा मिथक मात्रै हुन्।
3. ..." एउटै मात्र विचारको हैकम भत्किसकेको आजको विकेन्द्रीकृत विचारहरूमाझ समावेशी धारबाटै हिँडि़ए मात्रै संसार न्यायसङ्गत बन्नेछ। कुनै एउटा विचारको केन्द्रमा रहेर एकालापी स्वरको हैकम अब सम्भव छैन र मानिँदैन पनि।" 'समावेशी'-को यो भनाइ उत्तरआधुनिकतावादीहरूले मार्क्सवादको महाख्यान (ग्राण्ड न्यारेटिभ्स)-का विरुद्ध भन्दै आएका राजनीतिक एजेण्डाकै एउटा अंश हो। भौतिक परिस्थितिहरूबीच विचारहरूको टकराव भइरहने सन्दर्भमा यो समावेशी कसरी निरपेक्ष हुनसक्छ? यदि सापेक्षित छ भने मुक्तिको महाख्यानलाई साहित्यमा वैचारिक प्रतिबद्धताका साथ अघि ल्याइरहेका साहित्यिक कर्मीहरू यसमा कसरी अटाउन सक्छन्? शोषणको जड़ रहेसम्म विश्वभरि शोषक र शोषित वर्गको साहित्य पनि विद्यमान रहन्छ भन्ने कुरा मार्क्सवादी मात्र होइन, गैर-मार्क्सवादीहरू पनि स्वीकार गर्छन्। ‘समावेशी’-मा बाघ र बाख्राको प्रजातन्त्र एकै ठाउँ कसरी सम्भव छ?
उत्तर -
उत्तरआधुनिकतावादी अवधारणालाई सूत्रवद्ध गर्ने एकजना महत्वपूर्ण चिन्तक ल्यौटार्ड पनि हुन्। उनले नै आफ्ना पुस्तक फेनोमेनालोजी, लिबिदिनाल इकोनमी, द पोस्टमोर्डन कन्डिसन, द दिफरेन्ड, पोष्टमोर्डन फेबल्स आदिमा महाआख्यानहरूको अन्तको घोषणा गरेका हुन्। महाआख्यानले आफ्ना विश्वासनीय हराइसकेको चर्चा गर्दै मुक्तिको आख्यान पनि अर्थहीन भइसकेको छ भन्ने पनि उनै हुन्। महाआख्यानको अवधारणलाई केन्द्रको अन्तको अवधारणाको रूपमा हेर्दै परिवर्तित परिस्थिति केन्द्र होइन विभेदका पक्षमा छ भन्ने उनको दृष्टिकोण रहेको छ। मानिस अब कुनै केन्द्रद्वारा दमित हुन चाहन्न, आफ्ना निम्ति आफैलाई सब थोक ठान्न चाहन्छ भन्ने निष्कर्षसहित उनले लघुआख्यान तथा लघुवृतान्तको अवधारणालाई अगाडि सारे। लघुवृतान्तको अवधारणा नै महाख्यानको विरूद्ध हो।
हामी यस कुरालाई स्पष्ट गर्न चाहन्छौँ, संसारमा जति पनि महाख्यानको सन्दर्भहरू छन् त्यहाँ मार्क्सवादी विचार धारा नै अघि आएर विरोधमा उभेको छ। तर पछिल्ला कालहरूमा धेरै मार्क्सवादी चिन्तकहरू आफै पनि मार्क्सवादी अवधारणाको महाख्यानबाट पलायन भएर लघुवृतान्तको अवधारणातिर उन्मुख भएको देखिन्छन्। कारण मार्क्सवादजस्तो महाख्यान नभइदिनु हो भने यस्ता लघुआख्यानको सिर्जना पनि सायदै हुने थियो। आज हरेक ज्ञानानुशासन केन्द्रको विरूद्धमा छ, समग्रताको विरूद्धमा छ र आजका प्रविधिको उच्च विकास र सर्वसुलभताले केन्द्रभञ्जन गर्दै अनेकतालाई बढाएको छ। उत्तरसंरचनावादी डेरिडाले पनि आफ्नो चिन्तनको आरम्भ भाषाबाट गरे तापनि सस्युरको भाषाविज्ञानबाट विभेदलाई ग्रहण गरी चिन्तनको केन्द्रमा सस्युर र लेविस्त्रसहरूबाटै अघि बढेका छन्। आफ्ना सार भनाईमा डेरिडाले पनि विखण्डनको चिन्तनलाई अघि ल्याए। सुरुमा मार्क्सवादबाट प्रभावित डेरिडाले मार्क्सवाद मात्रै होइन चिन्तनको सबै महाख्यानहरूलाई विखण्डन गरिदिएका छन्। तिनीहरूको औचित्य समाप्त भएको घोषणा पनि गरिदिएका छन्। अर्थात् उनी महावृतान्तको विखण्डन गर्छन् र बहुलसत्ताका पक्षमा उभिन्छन्। यसरी हेरिँदा मार्क्सवादको केन्द्रवादी अवधारणको अन्त आजभन्दा धेरै अघि नै भइसकेको देखिन्छ। तसर्थ वर्गीय सँगसँगै क्षेत्रीय, जातीय, लिङ्गीय आदिको विभेदलाई पनि समावेश गर्दै अघि बढ्नुपर्ने समकालीन परिस्थिति बिच समावेशी अवधारणाहरू कसरी समाजसित सापेक्षित छैनन् भन्न सक्नुहुन्छ??? नेपाली साहित्यको सन्दर्भमा मार्क्सवादी चिन्तनको अवधारणाबाट जन्मिएको समाजवादी तथा प्रगतिवादी साहित्यले पनि यी जम्मै कुरोलाई सम्बोधन गर्न नसकेको देखेरै समावेशी अवधारणाले यी कुराहरूलाई अवकासका रूपमा हेरेका हुन्। मार्क्सवादीहरू मुक्तिको महाख्यानको सिद्धान्तमा प्रतिवद्धता राखे तापनि व्यवहारिकतामा त्यसले खरो उत्रन नसकेको अनुभव छदैँछ। साहित्यलाई समाजको, समाजको लागि र समाजसित जोड्दै जानुपर्छ भन्दै नारावादी, पार्टीवादी, वर्गवादी रूपमा प्रस्तुत गरेर निश्चित वर्गको वर्ग स्वार्थको शासन सत्तासम्म पुग्ने एउटा परियोजना तयार गरेको देखिन्छ। यसले सारा साहित्य-कला चिन्तनगत आधारहरू धराशयी भएकाछन्, यी कुराहरू विचारनीय छैनन् र ?? विचारमा बाख्रा ठानिएर राखिएका पात्र-पात्राहरूलाई निरीह, कमजोर, उपान्तमा राखेर मात्रै हेरिने दृष्टिमा परिवर्तन आउनपर्छ तब मात्रै बाघहरूसित लड्न सक्षम हुन्छन् बाख्रा विचारहरू। प्राकृतिक रूपमा बाघ र बाख्रा दुवैको आ-आफ्नै केन्द्र छन्। विचारमा बाघ र बाख्राको सत्ता अलग अलग विषय हुन्। हामीले त्यहीँ बाख्रा विचारहरूद्वारा समाजमा बाघको महाख्यानको केन्द्रलाई चुनौतिमा ताकेरै समावेशी अवधारणा उठाउने जोखिमलाई स्वीकाऱेका छौँ।
4. ''कुनै न कुनै पृष्ठभूमिमा जाति-समुदायको इतिहास, भूगोल, इथ्निसिटी, संस्कृति, लोकरचना र वर्ग हुन्छ नै, तिनै वर्गहरूमा विभाजितमध्ये वृहत् वर्गको इतिहासले लघु वर्गको इतिहासलाई निल्दै गइरहेको स्थिति पनि देखिन्छ। तसर्थ, लघु वर्गको इतिहासहरूका पाठलाई अध्ययन गरी त्यसलाई अस्तित्वमान बनाइराख्ने क्रममा इतिहासचेतना आवश्यक रहेको देख्छ समावेशी लेखनले।" वर्ग विलयन र चिनारी विविधताको यो धारणा उत्तरआधुनिकतावादी 'पहिचानको राजनीति' (आइडेन्टिटी पोलिटिक्स) र 'सांस्कृतिक अध्ययन' (कल्चरल स्टडिज)-कै एउटा पाटो हो। वर्गहरूको एकत्वबाट विविधतालाई अलग्याउनु अनि समस्याको कारक पहिचान गर्न तथा सामाजिक यथार्थ बदल्नको सट्टा त्यसलाई एकाडेमिक विमर्शमा 'अस्तित्वमान' बनाइराख्नु नै 'समावेशी' अवधारणाको अभीष्ट हो ?
उत्तर –
मार्क्सवादी सिद्धान्तप्रति हाम्रो विमति छैन। तपाइँका प्रश्नहरू सबै मार्क्सवादको पक्षमा उभिएको देखियो। यसको तात्पर्य समावेशीहरूलाई मार्क्सवादीहरूको कट्टर विरोधी सावित गर्न खोजिएको पनि निश्चय नहुनुपर्ने। यद्यपि घरि घरि दोहोरिँदा यस्तो लाग्नु स्वाभाविक पनि हो। तर हामीले याद राख्नुपर्ने कुरो के छ भने हाम्रा समाजलाई हेर्ने मार्क्सवादी दृष्टिकोण समाजसापेक्षित छ के ??? यतापट्टि पनि विचार गरिदिनु पऱ्यो मार्क्सवादमा आस्था राख्नुहुने साथीहरूले। सिद्धान्त र व्यवहारिकतामा फरक छ नै। आजको सन्दर्भमा यति चाहिँ नहिच्किचाइकन भन्न सकिन्छ समाजमा काम गर्ने समुदाय कृषक मात्रै हुन् भन्ने कुरा अब रहेन। सामन्ती समाजको कृषियुग पुरानो शैलीमा व्यापक परिवर्तन आएको छ। आज श्रमजीविको अर्थमा पनि परिवर्तनीय परिभाषाहरू छन्। श्रमजीवीको निश्चित एउटा वर्गले श्रमजीवीहरूमाथि नै गरेको शोषण, अन्याय, अत्याचार, विभेद, भिन्नता, किनारीकरणजस्ता कुरालाई हेर्न पनि आवश्यक छ। समाजमा मान्छे आज आर्थिक (मार्क्सको दर्शनकेन्द्र) रूपले मात्रै शोषित छैनन्। शोषित हुने उपक्रम सदियौंदेखि मान्छे धार्मिक, लैङ्गिक, दलीय, जातीय, पदीय, वर्णीय आदि रूपले शोषित हुँदै आएको देखिन्छ। छद्मवेशी रूपमा आएका यी शोषकका स्वरूपलाई मार्क्सवादले वर्गीय विलयनमा राखेर हेर्छ। यसलाई हाम्रा सामाजिकतामा कसरी मूल्याङ्कन गर्ने त...??? अर्थकेन्द्री पुरानै नाराहरू दोहोऱ्याइरहन लगाउने त । समावेशी अवधारणले मानवजातिसितै सम्बन्धित धार्मिक, लैङ्गिक, दलीय, जातीय, पदीय, वर्णीय यी जम्मैको सङ्कथनलाई अवकासको रूपमा सम्बोधन गर्दै कलागत चिन्तनको रूपमा समेटेर बढेको समय आजको समय हो। यसैले वर्गनिरपेक्ष छ आजको लेखन र साहित्य। कुनै वर्गलाई ताकेर उसकै पक्षमा उभिएर मात्रै साहित्य लेखिँदैन। लेखिए त्यो आफैमा सङ्कुचित/अव्यवहारिक/ एककिसिमको तिकडम् मात्रै हुनेछ। उत्तरऔपनिवेशिकतावादको सङ्कथनले आजभोलि उठाउँदै गरेको मूल कुराहरू पनि यिनैसित जडित छन्। मार्क्सवादसित प्रेरित र प्रभावित भएका धेरै सिद्धान्तविदहरू आज त्यसबाट मूक्त हुँदै समावेशीकरणको सङ्कथनतर्फ बढदो छ। व्यवहारिकतामा समय र सिद्धान्तले थुप्रै लुगाहरू फेरिसकेको छ। बाहिरतिरको कुरा नगरेर हाम्रै समाज र साहित्यको सन्दर्भको कुराबाट मात्रै हेर्नु हो भने पनि के हामी आज वर्गीय र आर्थिक शोषणको मात्रै छौ र ? हाम्रा समाजमा भएका धार्मिक, जातीय, लैङ्गिक, पदीय, वर्णीय, घरेलु हिंसा शोषणलाई अदेखा गर्ने ??? यी कुराहरूलाई कहिले समावेश गर्ने त... ?? यसैले हामीले समावेशी अवधारणाबाटै हेर्न सकिने अवकाशलाई प्रस्तावनामा राख्यौँ।
5. सांस्कृतिक बहुलवाद र अस्मिताको राजनीतिले खण्डीकरणको तल्लो हदसम्म पुगेर समुदायलाई एकल्याउँदै अल्पसंख्यकहरूलाई झन् एक्लो पार्छ, व्यक्तिलाई समाजबाट अलग्याउँछ भन्ने कुरा यसको सैद्धान्तिक मान्यताबाटै प्रष्ट छ। त्यसो भए, दीर्घ दिनदेखि जातीय अस्मिता र पहिचानका लागि संघर्ष गरिरहेका भारतीय गोर्खाहरूलाई यो अवधारणाले जातीय रूपमै खण्डीकृत विचार दिएर जातीय एकता तथा सामूहिक संघर्षको कार्यमा विपरित साहित्यिक भूमिका निभाउँदैन भनेर कसरी भन्न सकिन्छ?
उत्तर –
तपाइँको यो प्रश्न अघिदेखि दोहोरिएका छन्। आजका मानिस आयडियोलजीहरूको भीडमा बाँचेको छ। उसले सोच्ने, विचार्ने, लगाउने, खाने, बोल्नेजस्ता विचारहरू पनि तिनै आयडियोलजीहरूले प्रभावित छन्। हाम्रा समाजमा छुटेका अल्पसङ्ख्यक रूपमा जसलाई सम्बोधन गरिएको छैन। जसलाई सँधै उपान्तमै राखियो। जसको भाषा, संस्कृति, ...इत्यादि कुरोको वेवास्ता गरियो। जसको विचारहरूलाई अनावश्यक ठानियो...पहिचानको राजनीतिको पनि दुवै पक्ष छन्। यद्यपि सकारात्मक पाराले हेर्नु हो भने संसारमा मान्छे मात्रैको अवधारणासम्म पुगिन्छ। वास्तवमा साहित्यमा पनि लोकहित कै कुरा गरिएको हुन्छ, तर देश काल परिवेशले छेकेर हुर्किएको मान्छेको नाक-नक्साको फरक अनुरूप कला-सिर्जनमा त्यसोक प्रभाव बाँधिएकै हुन्छ। त्यसलाई ताकेर पहिचानको विविध स्वरूपलाई हामीले समावेसी भन्यौ। जो हाम्रा समाजसित सापेक्षित हुन सकोस्। के त्यसलाई समावेसी आधार दिन मिल्दैन र। तपाइँको प्रश्न साहित्यिक भन्दा पनि यहाँनेर अलिक राजनीतिक धेर भयो। यी प्रश्नहरू साहित्यलाई बढी मात्रमा समाजसित दाँजेर हेर्दा उठ्ने प्रश्नहरू हुन्। तथापि यी प्रश्नहरू पनि कम स्वादका छैनन्, के अबका साहित्यमा सामाजिक मुद्धालाई उठाएकै हुनैपर्छ? साहित्यमा कुनै एउटा सामजिक मुद्धा नै भनिनुपर्ने ?? साहित्यमा सामाजिक मुद्धाबाहेक भनिनुपर्ने अरूथोक अब रहेनन् ? साहित्यले सामाजिक विद्रुपताको मात्रै खोतलेर निकाल्ने ? सामाजिक उत्पीडनका कुराहरू साहित्यले नै उठाइनुपर्ने ? साहित्यले नै समाजका सबैथोक भन्न सक्लान् त ? साहित्यले नै सामाजिक नीतिनिर्धारण गर्ला त ? साहित्यले नै सामाजिक राजनीतिको निर्धारण गर्ला त ? समाजमा हक, अधिकार, न्याय, कानुन, दर्शन, अध्यात्मको छलफल साहित्यले नै गर्ने त ?? अरू वाङमय र विधाहरूको काम नरहेन हो अबका समाजमा ?? अरू सारा ज्ञानानुशासनको अन्त भएको हो त....??? के अबका समाजलाई साहित्यिकहरूले मात्रै मूल्याङ्कन गर्ने हुन् त ???....यस्ता प्रश्नहरू विचार गरेर हेर्दा तपाईँको प्रश्नको उत्तरहरू प्राप्त हुन्छ भन्ने हामीलाई लागेको छ। यी प्रश्नहरू घोत्लिएर हेर्नु भए समावेशीहरूले उठाउन खोजेको चुनौतिहरू समात्नु हुनेनैछ। अरू अझ व्याख्या आवश्यक लागेन हामीलाई। यद्यपि संवादको निम्ति तपाइँलाई समावेशी समूह आभार व्यक्त गर्दछ।
-समावेशी साहित्यिक समूह
वासुदेव पुलामी
ज्ञानेन्द्र यक्सो
प्रवीण खालिङ
सदीप प्रधान
सूरज धड्कन
निरज थापा
योगेश पन्थ
सपन प्रधान
साभार : अवलोकन, डुवर्स नेपाली साहित्य विकास समिति।
धन्यवाद हिमायल दर्पण एवं सूरज रोसुरीलाई पुन:प्रकाशित गरिदिनु भएकोमा।


No comments:

Post a Comment