Monday, 28 November 2016

कालेबुङ महाविद्यालयमा इग्नुको स्वागत समारोह सम्पन्न


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर। कालेबुङ महाविद्यालयमा सञ्चालित इग्नुको अध्ययन केन्द्र ४५०१९ मा जुलाई २०१६ को शैक्षिक सत्रमा भर्ना लिने विद्यार्थीका निम्ति स्वागत कार्यक्रम आज सम्पन्न गरियो। कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना लिने मोठ ७६ विद्यार्थीहरूमध्ये अधिकांशको उपस्थिति रहेको थियो।
महाविद्यालयकै प्राचार्य डा. राजेन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा केन्द्रका समन्वयकर्ता सञ्जय छेत्रीले स्वागत भाषण राखेका थिए। यस क्रममा उनले दूरशिक्षा प्रणाली अर्थात् डिस्टेन्स एडुकेसनका रूपमा १९८५ मा सुरु भएको इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयले ग्रहण गरेको उद्देश्य, यसको शैक्षिक पद्धति र परीक्षा पद्धतिबारे प्रकाश पारे। इन्दिरा गान्धी राष्ट्रिय मुक्तविश्वविद्यालयमा रहेको ‘मुक्त’ शब्दको फलस्वरूप धेरैले यसलाई हलुका ठान्ने भए तापनि दूरशिक्षा प्रणालीलाई स्तरीय बनाउने इग्नुको परम् उद्देश्य रहेको र अन्तर्राष्ट्रिय स्तरमा समेत यसको वैधता रहने उनले बताए।
आफ्नो सम्बोधनमा उनले अधिकांश स्थानीय विद्यार्थीहरूले इग्नुमा पनि परम्परागत विषय लिने गरेका र तुलनात्मक दृष्टिमा अधिक उपयोगी विषयहरूमा हाम्रा विद्यार्थीहरू रुचि नरहेकोमा दुखसमेत प्रकट गरे। इग्नुमा अनेक समयोपयोगी र काम लाग्ने विषयहरू रहेकाले हाम्रा विद्यार्थीहरूको रुचि त्यतातिर पनि हुनु पर्ने उनले बताए। आजको कार्यक्रममा इग्नु ४५०१९ अध्ययन केन्द्रका निम्ति इग्नु, नयाँ दिल्लीले अनुमोदन गरेका विषय परामर्शदाता (Programme Counsellors)-हरूको पनि उपस्थिति रहेको थियो र ती विषय परामर्शदाताहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने विषय परामर्शदाताहरूमा महाविद्यालयका भूगोल विभागका प्रमुख श्री देवदत्त राई, वाणिज्य विभागका प्रमुख मनोजित दासगुप्त, अर्थशास्त्र विभागका श्री गोपालचन्द्र मण्डल अनि इतिहास विभागका डा. प्रभात रोय प्रमुख थिए। यी विषय परामर्शदाताहरूले विद्यार्थीहरूले आफ्नो अध्ययनलाई कसरी अघि बढाउनु पर्ने, इग्नुमा भर्ना लिने विद्यार्थीवर्गका निम्ति प्रत्येक विषयका प्रत्येक पत्रमा गर्नु पर्ने एसाइनमेन्टको के कति महत्त्व रहेको छ र सो एसाइन्मेन्ट कसरी तयार पार्नु पर्ने भन्ने विषयमा जानकारी गराए। इग्नुले आफ्ना विद्यार्थीहरूका निम्ति तयार गरेका पाठ्यपुस्तकहरू अति स्तरीय रहेकाले सही ढङ्गमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो विषयमा दक्षता हासिल गर्ने कुरो निर्विवाद रहेको पनि यी विषय परामर्शदाताहरूले जनाए। इग्नुमा भर्ना लिने विद्यार्थीहरूका निम्ति शनिबार र आइतबार मात्रै परामर्श कक्षा सञ्चालन हुने भए तापनि आफूहरू आवश्यक परेको खण्डमा हप्तैभरि तिनीहरूका निम्ति उपलब्ध हुने पनि यी विषय परामर्शदाताहरूले विद्यार्थीवर्गलाई अवगत गराए।
कार्यक्रमका प्रमुख अतिथि कालेबुङ महाविद्यालयका प्राचार्य डा. राजेन्द्रप्रसाद ढकालले आफ्नो सम्बोधनमा विभिन्न व्यक्तिगत कारणले आफ्नो पढाइलाई बिचमा छाड्न बाध्य विद्यार्थीलगायत उच्च शिक्षा प्राप्त गर्न चाहने विभिन्न पेशामा रहेका पहाडवासीकै हितमा महाविद्यालयले इग्नुको अध्ययन केन्द्र स्थापना गरेको हुँदा हाम्रा मानिसहरूले यसको लाभ लिनु पर्ने बताए।
यस स्वागत कार्यक्रममा महाविद्यालयका नेपाली विभागका प्रमुख सुधा गुरुङ, उद्भिद शास्त्र विभागका प्रमुख डा. जयश्री प्रधान अनि अर्थ शास्त्र विभागका प्रमुख डा. दुलालचन्द्र रोयको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई इग्नुकै समन्वयकर्ता सञ्जय छेत्रीले सञ्चालन गरेका थिए।

[स्रोत: कालिमन्युज, कालेबुङ ।]

No comments:

Post a Comment