Thursday, 10 November 2016

पानी नदिने अधिकारीलाई न्यायालयमा घिसार्नेछौँ – डा. हर्कबहादुर छेत्री

डी के वाईबा, कालिमन्युज, कालेबुङ 10 नोभेम्बर। कालेबुङमा पिउने पानीको समस्या गाडे घाऊ नै बनेको छ। हिउँदाका मौसम लाग्न अघि नै यसपाली कालेबुङमा पिउने पानीको मुद्दाले जोड पक्रेको छ भने नगरपालिका चुनावमा पिउने पानीको मुद्दा नै प्रमुख मुद्दा बन्ने स्पष्ट छाँट बनिसकेको छ। यस्तो अवस्थामा अखिल भारतीय जन आन्दोलन पार्टीले कालेबुङका जनताले पिउने पानी पर्याप्त नपाउनुको वास्तविकता पत्तो लगाउन केहि दिन अघि मुहानको दौडाह गर्दै पीएचई विभागले भ्रष्टचार गरेको आरोप लगाएपछि अहिलेघरी पीएचई विभाग अनि जन आन्दोलन पार्टीमाझ विवाद सुरु भएको छ।
जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले लगाएका सम्पूर्ण आरोपहरू निराधार रहेको बताउँदै पीएचई विभागाका कार्यकारी अभियन्ता अनिल छेत्रीले स्पष्टिकरण दिएपछी आज पुन: डा. हर्कबहादुर छेत्रीले एक पत्रकार सम्मेलन आयोजना गरेर कालेबुङ पीएचई विभागले करोडौँ रूपियाको कार्यहरू पुरा नगरी कार्य समापन भएको रिपोर्ट दिएको खुलासा गरेका छन्।
‘हामीसँग आरटीआई रिपोर्ट हातमा छ जुन आरटीआई रिपोर्ट पीएचई विभागले दिएको हो। यस रिपोर्टमा जतिपनि कामहरू उल्लेख गरेका थियौँ त्यस काम पुरा भएको रिपोर्ट दिएको छ। यता पीएचई विभागका कार्यकारी अभियन्ता अनिल छेत्रीले भने कार्य अस्सी प्रतिशत मात्र भएको दाबी गर्छन्। यदि अस्सी प्रतिशत काम भएको हो भने काम पुरा भएको रिपोर्ट कुन अधिकारीले दिएको हो?’ डा. हर्कबहादुर छेत्रीले आरटीआई रिपोर्टको प्रतिलिपी देखाउँदै भने।
उनले उक्त आरटीआई रिपोर्टमार्फत अहिलेसम्म पीएचई विभागमा आएका ‘26 करोड 86 लाख रूपियाँ’ आएको दाबी गर्दै विभागले केवल कागजमा मात्र काम पुरा भएको उल्लेख गरेर कालेबुङका जनतालाई भने पिउने पानी सर्वराह नगरेको आरोप लगाए।
‘जनताको पैसालाई तलब खाएर बस्ने अधिकारीले ठिकसँग काम गर्नुपर्छ होइन भने हामी थानामा प्राथमिकी दर्ता गरेर न्यायालयमा पुर्याउनेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले पानीको समस्या समाधान गर्नका निम्ति महकुमा अधिकारी निर्मयला घरामीले गठन गरेको फ्याक्ट फाइन्डिङ कमिटिलाई पनि जापले विश्वास नगर्ने बताएका छन्।
"हामी फ्याक्ट फाइन्डिङ कमिटीको रिपोर्ट पर्खिँदैनौँ'-जाप अध्यक्ष हर्कबहादुर छेत्रीले भने। उनले पिउने पानीको समस्यालाई समाधान गर्नका निम्ति विभागलाई एक महिनाको अल्टिमेटम पनि दिएका छन्। यदि उक्त समयभित्र पनि पीएचई विभागले पानीको व्यवस्थापन ठिक नगरे जापले विभागीय अधिकारहरूविरूद्ध कानुनी कार्यवाही गर्ने चेताउनी दिएको हो। डा. छेत्रीले जापले पानीको सत्यता जॉंच गरिसकेका कारण फ्याट फ्याण्डिङ कमिटीको औचित्य नरहेको बताउँदै भने, पानीको फ्याक्ट विभागले खोजिसकेको छ। अब जनताले फाइन्ड गर्छ अनि जनताले नै एक्ट गर्छ भने।
केही दिनअघि जन आन्दोलन पार्टीले थुकचुक रेलीको स्रोतको भ्रमण गरेको थियो। उक्त भ्रमअवधि जापले विभागीय लापर्वाहीको पोल खोल्दै विभागविरूद्ध दर्जनौँ आरोप लगाएको थियो। पीएचई विभागका अभियन्ता अनिल छेत्रीले उक्त आरोप निराधार रहेको बताएपछि डा. छेत्रीले आज पुनः उक्त स्पष्टिकरणप्रति आपत्ति जनाएका छन्‌।
छेत्रीले भने, थुकचुकको 2 करोड 33 लाख 40 हजार रूपियॉंको काम 80 प्रतिशत पूर्ण भयो भनेर विभागीय अधिकारी अनिल छेत्रीले भन्दैछन्‌। जबकी आरटीईमा जुन महिनामा नै काम पूरा भइसक्यो भनिएको छ। आरटीआईमा जुन महिनामा पूर्ण भएको रिपोर्ट बुझाइसकेको काम आज कसरी विभागले 80 प्रतिशत पूर्ण भयो भन्दैछ? छेत्रीले प्रश्न गरे।
उनले न्यू पाइपलाइन स्किममा पाइप नै नरहेको बताउँदै अझ भने, नयॉं पाइपहरू कहॉं गयो? जङ्‌गलबाट पानी ल्याइएको छ भन्दैमा विभागले मनपरि गर्न पाउँदैन। जापले मनपरि गर्न दिँदैन। उनले क्षेत्रको भ्रमण नै नगरी कसरी कम्पलिट रिपोर्ट तयार पार्दैछन्‌? भन्ने प्रश्न गर्दै कार्यकारी अभियन्ता अनिल छेत्रीले कसरी 80 प्रतिशत काम भयो भन्दैछन्‌? भने।
यसका अतिरिक्त उनले विभागले रेलीको पम्प ठिक छ भनी विभागले दिएको वयानबारे आपत्ति जनाउँदै भने , पम्प ठिक छ भने किन पानी तान्ने काम हुँदैन? 88 लाख रूपियॉंको पम्पिङ प्रोजेक्ट पूरा भइसकेको विभागले देखाएको छ। जबकी भर्खरै ट्रान्सफर्मर लगाउन खाडलहरू खन्ने काम हुँदैछ भनि प्रश्न तेर्साए। यसरी नै डेलो जलभण्डार जिर्णोद्धारका निम्ति विभागले काम पुरा भएको रिपोर्ट पेश गरेको आरटीआईको प्रतिलिपी देखाउँदै विभागीय अधिकारी अनिल छेत्रीले भने केवल 80 प्रतिशत मात्र काम भयो भन्ने लज्जास्पद मात्र नभएर गैरजिम्मेवारी पनि हो भने।

No comments:

Post a Comment