Tuesday, 8 November 2016

पिउने पानीको समाधान सूत्र खोज्दै महकुमा अधिकारीले डाके वैठक

डी.के.वाइबा, कालिमन्यूज, कालेबुङ, 8 नोभेम्बर। कालेबुङमा पिउने पानीको समस्यालाई लिएर महकुमा प्रशासनले आखिरमा बैठक डाकेर समाधानको सूत्र खोज्ने कार्य गरेको छ।

जनतालाई पिउने पानीको समस्याबाट मुक्त दिलाउनका निम्ति महकुमा अधिकारीले ‘फ्याक्ट फाइन्डिङ कमिटि’ गठन गरेका छन्।

महकुमा अधिकारी निर्मलय घरामीको पहलमा आज पीएचई विभाग, नेऊरा वाटर प्रोजेक्ट, कालेबुङ नगरपालिका अनि जिटिए प्रतिनिधीमाझ बैठक सम्पन्न भएको थियो।

यस अवसरमा महकुमा अधिकारी निर्मलय घरामी, पीएचई विभागका कार्यकारी अभियन्ता अनिल छेत्री, नेऊरा वाटर प्रोजेक्टका टी.के. सुब्बा, जीटीए सभासद सामुएल गुरूङ आदि उपस्थित रहेका थिए।

कालेबुङ शहरमा केहि दिन यता सृजना भएको पिउने पानीको समस्यालाई लिएर बसेको उक्त सभामा महकुमा अधिकारीले ‘फ्याक्ट फाइन्डिङ कमिटि’ गठन गरेको छ।

जुन कमिटिले पिउने पानीको सङ्कटको वास्तविकता र समाधानको सूत्रबारे आगमी तीन महिना भित्रमा रिपोर्ट पेश गर्ने भएको छ।

महकुमा अधिकारी निर्मलय घरामीको पहलमा गठन भएको उक्त फ्याक्ट फाइन्डिङ कमिटिको अध्यक्षता आर.पी. शर्माले गर्ने भएका छन् भने कमिटिमा पीएचई विभागका राजेन प्रधान, नगरपालिकाबाट मदन रूम्बा, नेऊरा वाटर प्रोजेक्टबाट टी.के सुब्बा प्रतिनिधीका रूपमा रहने छन् भने कमिटिले आगामी 3 महिना भित्रमा रिपोर्ट पेश गर्ने महकुमा अधिकारी निर्मलय घरामीले बताएका छन्।

‘वैठकमा कमिटि गठन गरिएको छ। त्यस कमिटिले आगामी तीन महिनामा रिपोर्ट सुम्पने छ। हामीले पिउने पानीको समस्यालाई दिर्घकालिन समाधान गर्न यसरी पहल गरेका हौँ’ महकुमा अधिकारी निर्मलय घरामीले भने।

कालेबुङ शहरमा सृजना भएको पिउने पानीको समस्या सम्बन्धि बसेको बैठक समाप्ति पछि जिटिए सभासद सामुएल गुरूङले कालेबुङमा पिउने पानी वितरण गर्ने दुईवटा विभागहरू क्रमैले पीएचई विभाग अनि नेऊरा वाटर प्रोजेक्टले एकार्कलाई दोषारोपण गरिरहेको कारण साधारण जनता भने पिसिनु परिरहेको बताएका छन्।

यसक्रममा उनले नेऊराले पीएचई विभागलाई पर्याप्त पानी नदिएको आरोप लगाउँदै सभामा अब उसो पानीको लग बुक तयार पार्नुपर्ने तय भएको बताए।

यसरी नै पीएचईका अभियन्ता अनिल छेत्रीले भने नेउराबाट प्रशस्त पानी नआएकै कारण असुविधा भएको अनि यसबारे आफूहरूले तिहारको छेकमा पत्रकार सम्मेलन गरेर मीडियामार्फत जनसाधारणलाई अवगत गराइसकेको बताए।

नेउराबाट 8 इञ्च पानी पाउनुपर्ने भए पनि त्यति नपाएको कुरा पनि उनले उल्लेख गरे। यसक्रममा उनले जनतालाई पर्याप्त पिउने पानी दिनका निम्ति पुरानो स्रोतहरूलाई समेत जोड्ने पहल गरिरहेको जानकारी गराएका छन्।

No comments:

Post a Comment