Monday, 28 November 2016

गोर्खाल्याण्डको निम्ति काम नगर्ने सांसद अनि विधायकहरूले राजीनामा दिनुपर्छ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर। गोजमुमो पार्टीका विधायक अनि सांसदले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति काम गर्न सक्दैन भने जनताको आकाङ्क्षालाई कदर गर्दै राजीनामा दिनुपर्ने जन आन्दोलन पार्टीले माग गरेको छ। जाप सर्वोच्च नीति निर्धारण समितिको बैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले विधायक अनि सांसदको राजीनामाको माग गरेका हुन्।
जाप पार्टी कार्यलयमा सम्पन्न भएको सभामा अध्यक्ष डा. हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान, सर्वोच्च नीति निर्धारण समितिका सदस्य अधिवक्ता अमर लामा, अनमोल प्रसाद, युसुफ सिमिक आदि उपस्थित रहेका थिए। सभामा जापले घोषणा गरेको कार्यक्रमहरूलाई लिएर चर्चा परिचर्चा सम्पन्न भएको थियो भने पूर्वघोषित संसद घेराउ गर्ने कार्यक्रम अनि देशमा चलिरहेको नोटबन्दीको समस्या र यसबाट सृजित् राजनैतिक सङ्कटबारे पनि चर्चा गरिएको थियो। यसक्रममा जन आन्दोलन पार्टीले गोजमुमो समर्थित भाजपा सांसदलाई विधानसभा चुनाव अघि छुट्टै राज्य गोर्खाल्याण्डको बील दिँदै संसदमा पेश गर्ने चुनौति दिएपछि सांसदले विधानसभामा पहिला पारित गर्नु भनेको डा. छेत्रीले बताए।
‘विधानसभामा गोजमुमोले गोर्खाल्याण्डको निम्ति चुनाव जितेर बिधायक पठाएको छ। अब उनीहरूले नै त्यस बीललाई बिधानसभामा पारित गर्नुपर्ने हो। यतिका दिनसम्म उनीहरूले केहि काम गरेनन। बिधायक अनि सांसद दुवैले काम गरेको छैन। यसकारण अब जनताको भावनालाई कदर गर्दै सांसद अनि विधायकहरू सबैले राजीनामा दिनुपर्नेछ’ डा. छेत्रीले माग गरे। जापले तयार पारेको छुट्टै राज्य गोर्खाल्याण्डको बील अब जापले चाँडै संसद घेराऊ गर्ने कार्यमा पुन: सांसद अनि भाजपालाई दिने बताउँदै ‘काम गर्न सक्दैन भने उनीहरूले सक्दिन भन्नुपर्छ’ भने।
यसक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति काम गर्छु भन्ने गोजमुमोले आजसम्म काम नगरेको अनि सांसदलाई समेत यसबारे काम गराउनका निम्ति दबाउ बनाउन नसकेको डा. छेत्रीले आरोप लगाएका छन्। ‘जापले छुट्टै राज्यको निम्ति सरकारलाई दबाउ बनाउने कार्य गर्नेछ। हामी पूर्वघोषित कार्यक्रम अनुसार प्रमुखरूपले संसद घेराऊ गर्नेछौँ। अहिलेघरी नोटबन्दीको कारण देशको राजनीति बद्लिएको छ। हामी ठिक समय मिलाएर निश्चितरूपले संसद घेराऊको कार्यक्रम बनाउनेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा आफुहरूले गोर्खाल्याण्डको बील सरकारलाई दिएर उनीहरूको अवधारणा स्पष्ट बुझ्नको साथै गोजमुमोले गर्दै आएको गोर्खाल्याण्डको कुरा सम्बन्धि पनि जनतालाई ढाँटॆको उजागर गर्नेछौँ’ डा. छेत्रीले अझ भने।
अर्कोतर्फ डा. छेत्रीले आज कालेबुङमा पिउने पानीको सर्वराहलाई केन्द्र गर्दै सड़कमा आउने, जन आन्दोलन पार्टीले दार्जीलिङ खरसाङका जनताले भोगिरहेको पिउने पानीको समस्यालाई पनि केन्द्र गरेर आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। जसको फलस्वरूप खरसाङका जनताको निम्ति पिउने पानीको योजनामाथि के कस्ता काम भयो ? सो बुझ्नलाई जन आन्दोलन पार्टीले 5 नोभेम्बरको दिन आरटीआइ पत्र जीटीए पीएचइ विभाग खरसाङलाई पठाएको थियो। यद्यपि उक्त पत्र ग्रहण गर्नधरि विभागले अस्वीकार गरेको भन्दै त्योफर्केर आएपछि नयाँ विवाद शुरू भएको छ।
पीएचइ विभागले राइट टू इन्फरमेशन एक्ट (आरटीआई) 2005लाई पूर्ण उल्लंघन गरेको आरोप लगाउँदै जापले कानूनको ढोका ढकढकाउने घोषणा गरेको छ। ‘खर्साङका जनताले पिउने पानी पाएका छैनन्। यसबारे पीएचई विभागले सूचनाको अधिकार मार्फत जवाब पनि दिन अस्वीकार गरेको छ। यो पानीको घोटाला हो। अब हामी कानुनी कार्वाही गर्नेछौँ’ डा. छेत्रीले भने।

[स्रोत: कालिमन्युज, कालेबुङ।]

No comments:

Post a Comment