आधा आधा रात
आधा आधा बात
यो त मातको लहड़ हो
यो त हातको जहर हो
एउटा निर्जीव ल्यापटपको चिल्लो स्क्रीनमाथि
हिँड़्न थालेको हो बाङ्गोटिङ्गो बाटोमा
जुनकिरी
उसले मलाई केही नबुझिने साउती गर्यो
अँध्यारोको भाषाको बानी परेको नाथु मशिन म
के बुझ्थेँ र प्रकृतिको भाषा?
सुस्तरी उसको कानमा यति चाहिँ भन्दैथिएँ –
बाटो बिरायौ हे साथी
तिमी उतै जाऊ
जता तिम्रो ठहर छ, कदर छ, घर छ
यो त साथको कहर हो
यो त बातको बगर हो
जुनकिरी, यो त शहर हो शहर ...
No comments:
Post a Comment