Wednesday, 14 March 2018

आऊ ! नफुटौ जुटौ !!

कवि : सचिन खवास

नफुटौ जुटौ !
नसुतौ  ! ऊठौ  !
धेरै भयो
यहाँ हामी सुतेको
जागौ  ! अघि बढौ
मनमा बोकी सेवा भाषा साहित्यको ।

भाषा हाम्रो प्राण
यसैले दिएकोछ विश्वामा हामीलाई मान सम्मान ।
भाषा हराए
हराउँछ संस्कार साहित्य र संस्कृति ।
भाषाले नै हुने हो
असलमा जातिको प्रगति ।

हामी गोर्खा हौ ।
विश्वाकै वीर जाति ।
यसैले आज फुलिन्छ
हर एक गोर्खाको छाती ।
हाम्रो अस्तित्व कसैले मेटाऊन सक्दैन ।
यसैले अब सबै एक जुट भएर
आफनो अघिकारका लागि पछि हटनु हुदैन ।

आऊ ! नफुटौ जुटौ !!
हामीले अब सपथ लिनु छ ।
नभुलौ अब झुटो आस्थामा
नत्र भने भविष्य हाम्रो अन्ध्यारो छ ।

भुल्नु हुदैन !
शहीदहरुको त्याग र वलिदान
उनीहरुको आँशु र रगतले देश बाचेको छ ।
आफनो प्राणको वलिदानले
आज देशले स्वास फेर्दैछ ।

जात - पात
भेद भाव सबै त्यागेर
यहाँ' काम गरौ नेक ।
ईश्वार हजारौ भए पनि
हाम्रो पुज्ने बिधि एक ।

नहिडौ !
अब भ्रमको बाटोहरुमा
धेरै हिडेरै होला लक्ष्यमै पुगन सकेनौ ।
बनावौ ! बाटो
अब नयाँ सुखत र शान्तिको
दार्जीलिङसम्म पुग्नलाई ।

नफुटौ जुटौ
नसुतौ  ! उठौ !
धेरै भयो
यहाँ हामी सुतेको ।
जागौ ! अघि बढौ
नछुटौ नटुटौ लागौ
बरु तन मन धन दिएर सेवामा भाषा साहित्यको ।

Wednesday, 7 March 2018

नारी दिवस (मार्च ८)किन मनाइन्छ त ? आज १०८औं अन्तर्राष्ट्रिय नारी दिवसमा केही जानकारी !


नारीहरूको सम्मानमा अन्तर्राष्ट्रिय रूपमा मनाइने विशेष दिवस नै नारी दिवस हो । यो दिवस विश्वभर हरेक वर्षको मार्च महिनाको ८ तारिकका दिन मनाइन्छ।

नारी दिवसको क्षेत्र (उद्देश्य) भनेको नारीमाथिको सम्मान, आदर र प्रेमको भावमा बढावा दिँदै उनीहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको सुनिश्चितता गर्नु हो ।

विश्वका धेरै क्षेत्रमा महिलाको राजनीतिक र मानव अधिकारको मर्मको सम्मान गर्ने विशेष दिनका रूपमा यो दिनलाई लिइन्छ ।

नारी दिवसको इतिहासलाई पल्टाउँदा २८ फेब्रुअरी १९०९ मा पहिलो पटक अमेरिकाको न्युयोर्कमा अमेरिकाको पहिलो सोसियालिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला गार्मेन्ट कामदार सङ्घको आन्दोलनको सम्झनामा मनाएको थियो ।

पछि सन् १९१० को अगस्टमा अन्तराष्ट्रिय नारी सम्मेलनको आयोजना डेनमार्कको कोपनहेगन सहरमा गरियो ।

यही सम्मेलनबाट जर्मनीकी सोसियालिस्ट पार्टीकी नेतृ लुइस जियट र अर्की कम्युनिस्ट नेतृ क्लारा जियटले नारी दिवस मनाउने विषयलाई प्रस्तावमा ल्याए पनि दिन भने तोकिएको थिएन ।

सन् १९११ मा मार्च १९ का दिन अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डका करोडौँ महिलाले यो दिनलाई नारी दिवसका रूपमा मनाए ।

यस दिनमा युरोपका धेरै देशहरूमा पेरिस कम्युनमा मारिएका नारी सहिदहरूका सम्मानमा जुलुस निकालियो ।

साथसाथै उनीहरूले महिलाको मताधिकार, रोजगारीमा समान अधिकार, लैङ्गिकताका आधारमा हुने विभेद अन्त्य, सार्वजनिक पदमा महिलाको अधिकारको सुनिश्चितताको माग गरे ।

तर अमेरिकीहरूले फेब्रुअरी महिनाको अन्तिम आइतबारलाई नारी दिवसका रूपमा मनाउँथे । पछि सन् १९१३ देखि रसियाका नारीहरूले फेब्रुअरी महिनाको अन्तिम शनिबारलाई यो दिवसका रूपमा मनाउन थाले ।

तर सन् १९१४ मा नारी अधिकारको स्थापनाका लागि हड्ताल, ¥याली र अन्य आन्दोलनका कार्यक्रमहरू युरोप र अमेरिकाभरि भए र संयोगवश त्यो दिन मार्च ८ तारिक परेको थियो र यस दिनले अन्तर्राष्ट्रिय मान्यता पनि पायो । यही दिनको सम्झनामा मार्च ८ विश्व नारी दिवसको रूपमा स्थापित भयो ।

यसैले विश्वका सबै देशहरूमा नारी दिवस हरेक वर्ष मार्च ८ तारिकको दिन मनाउने गरेकाछन।

नारी अामा हो... अामा सृष्टि हो...यही सृष्टिले त जीवन पाएका छाैं.. त्यसैले जे जसरी सकिन्छ नारीको सम्मान गराैं...

विश्व नारी दिवसको उपलक्क्षमा सम्पूर्ण अामा दिदीबहिनीहरूमा हार्दिक शुभकामना...

|| Happy Women's Day नारी दिवस 2018 ||

Tuesday, 6 March 2018

तेस्रो आयाम र लीला लेखनका अभियन्ता आईबी राई अब रहेनन्

  थाहा संवाददाता

शैलेन्द्र समदर्शी-

नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ। उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको बताइएको छ।

दार्जिलिङ निवासी नेपाली मूलका भारतीय नेपाली साहित्यकार राईले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा दिएको योगदान अमूल्य छ। नेपाली भाषा साहित्यको क्षेत्रमा उनले दिएको योगदानका कारण उनी विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भएका छन्।

वि.सं. १९८४ माघ १७ गते दार्जिलिङको खर्साङमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राई निम्न आय भएको परिवारमा जन्मेका भए पनि पढाइलाई भने उनले महत्त्व दिइराखे। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका राईको पहिलो पुस्तक 'विपना कतिपय' हो। यो सन् १९६१ मा प्रकाशन भएको हो।

प्रेमचन्द्र, रवीन्द्रनाथ टैगोरबाट प्रभावित राई समरसेट ममका पनि राम्रा पाठक हुन्। उनको पहिलो कथा 'रातभरि हुरी चल्यो'लाई मानिन्छ। नेपाली साहित्यमा ईश्वर बल्लभ र वैरागी काइँलासँग मिलेर दार्जिलिङ सरकारी महाविद्यालय पढ्दा सन् १९६३ मा नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलन सुरु गरेका राईले पछि लीलालेखनमा ध्यान केन्द्रित गरे। लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको 'कठपुतलीको मन' कथासंग्रहलाई लिइन्छ।

यस कृतिलाई नेपाली साहित्यमा उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानिएको छ। उनले 'नेपाली उपन्यासका आधारहरू' समालोचना कृतिका लागि सन् १९७५ को 'साहित्य अकादमी पुरस्कार' प्राप्त गरे।

राईका विपना कतिपय (कथासंग्रह, सन् १९६१), आज रमिता छ (उपन्यास, सन् १९६४), कठपुतलीको मन (निबन्धसंग्रह, सन् १९८९), कथास्था (कथासंग्रह, सन् १९७२), सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३), टिपेका टिप्पणीहरू (समालोचनासंग्रह, सन् १९६६), नेपाली उपन्यासका आधारहरू (समालोचनासंग्रह, सन् १९७४), सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६), साहित्यको अपहरण : मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३), दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), पहाड र खोला (निबन्धसंग्रह, सन् १९९३), अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४), पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५), लेखहरू र झ्याल (निबन्धसंग्रह, सन् २०००), लीला प्रस्तावना (समालोचना, वि.सं. २०५९) कृति प्रकाशित छन्।

Monday, 5 March 2018

सिकायना मुखिया भोइस इन्डियाको फाइनल राउन्डमा रियलिटी शोमा एकपछि अर्को गोर्खे प्रतिभाहरूको चमत्कार कायम

एकपछि अर्को गोर्खे कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शनी गरेर चर्चा बटुलिरहेको समयमा लोकप्रिय मनोरञ्जन च्यानल एन्ड टिभी -को गायन प्रतियोगिताको अन्तिम राउन्डमा पुगेर देहरादुनकी बाल गायिका सिकायना मुखियाले पनि सबैलाई चकित पारिदिएकी छिन्। पेसाले सङ्गीतका शिक्षक रहेका पिता विकास मुखिया र माता बिरा मुखियाकी सुपुत्री सिकायनाले गत वर्षको सेप्टेम्बर महिनामा देहरादुनमा सम्पन्न द भोइस इन्डिया किड्सको अडिसन चक्रमा 3000 प्रतियोगीहरूलाई उछिनेर भारतको राजधानी दिल्लीमा आयोजित राउन्डमा भाग लिएकी थिइन्। त्यहाँ पनि उत्कृष्ट गायन प्रतिभाको प्रदर्शन गरेपछि उनको लागि मुम्बईको ढोका खोलिएको थियो।


देहरादुनको दालनवालानिवासी 11 वर्षीया सिकायना मुखियाले कलिलै उमेरदेखि आफ्ना सङ्गीतकार पिताको सङ्गतमा लागेर गीत गाउन सिकेकी हुन्। तरै पनि उनका पिता विकास मुखियाले बताएअनुसार सिकायनाले यति सहजतासित सङ्गीतको सुर समातेकी देखेर उनी पनि सुरूमा अवाक् बनेका थिए। देहरादुनको सन्त थोमस स्कुलमा छैटौँ श्रेणीकी छात्रा रहेकी सिकायनाले आफ्नो कलाकारिताको जादु देखाएर द भोइस इन्डिया किड्सको ग्रान्ड फिनालेमा आफुलाई पुऱ्याइसकेकी छिन् अनि यसबाट उनलाई विजयी बनाउनका लागि सङ्गीतप्रेमी समस्त श्रोताहरूले व्यापक भोट गर्न आवश्यक रहेको उनका पिताले बताएका छन्। सिकायनाका पिताले बताएअनुसार आगामी 10 मार्च शनिबार राति 9 बजीसम्म भोट गर्न सकिनेछ जसका लागि कुनै प्रकारको तकनिकी समस्या पनि छैन अनि खर्च पनि छैन। उनले दिएको जानकारीअनुसार, सिकायनालाई भोट गर्नका लागि कुनै पनि सिम कार्डबाट 07097297304 एकसय पल्टसम्म मिस्ड कल गर्नसकिनेछ भने अङ्ग्रेजीको ठुलो अक्षरमा एसकेएन (SKN) – लेखेर एसएमएस पनि गर्नसकिनेछ। यसरी एउटा सिमबाट जम्मा 200 पल्ट भोट गर्नसकिने हुनाले भारतभरिका नेपालीभाषी गोर्खा अनि गैर-गोर्खा समुदायका समस्त सदस्यहरूले व्यापक रुपमा सहयोग पुऱ्याइदिनुहुने अनुरोध उनले गरेका छन्।
माया नामक व्यान्डका संस्थापक रहेका विकास मुखियाले पाश्चात्य सङ्गीतमा डिग्री लिएका हुन् भने उनकै सिको गरेर छोरी सिकायनाले सानै उमेरदेखि सङ्गीतमा चासो देखाएकी हुन्। यसै प्रतिभाले उनलाई भारतको राष्ट्रिय स्तरको गायन प्रतियोगिता द भोइस इन्डिया किड्सको ग्रान्ड फिनालेमा पुऱ्याएको छ जसलाई देशका प्रख्यात गायक तथा सङ्गीतकारहरू सान, हिमेश रेसमैया अनि अनि पलक मुच्छल आदिले निर्णायकका रुपमा पर्यवेक्षण गरिरहेका छन्। प्राप्त जानकारीअनुसार, आगामी 11 मार्चको राती 9 बजी एन्ड टिभी च्यानलबाट सिकायनाले अन्य पाँचजना प्रतियोगीहरूसित होड़बाजी गर्नेछिन् अनि सोही रात यस प्रतियोगिताको विजयीको नाउँ पनि घोषणा गरिइनेछ।

Sunday, 4 March 2018

साँघुरो

रचना : मयूर सुब्बा

सात बजेछ घड़ीमा,
मेरी स्वास्नीे खिड़कीको पर्दा हटाँउछे,
पल्लो घरको छत् को
लुगा सुकाउने तारमा झुन्डिएको कट्टुले
छलिएको छ
नागों घाम!

दिन दिनै अग्लिदैछ आस पासको बिल्डिंग
अग्लो
अझै अग्लो,
एक पछि अर्को थपिदैं गएको तल्ला
अर्को
फेरि अर्को,
मेरो भागको घाम पनि छेलिन्छ एक दिन!

फराकिलो फैलिनू नपाएको घरहरु
एक सित अर्को चेप्टिदैं
सेखासेखी अग्लिदैंछ,
अग्लिदै गएको छ घरको धुरि
तर!
साँघुरीएको छ घरको आंगन
घरको सिकुवा,
घरको कुरेसो,

हिंड़ने बाटो!
यसरि साँघुरीदैछ ढल्लै शहर!!

दिन दिनै गांउ शहर पस्दैछ
शहर भरिदैंछ,
गाँउ रित्तिदैंछ,
गाँउ शहर पस्दा आफु सित बोकी आ'को
फराकिलोपन्
शहरको साँघुरो गल्लीहरु मा नअँटाउदा
शहर ठूलो हुनूको औचित्य
बुझ्नै सक्दैन!
शहर गाँउ जस्तो फराकिलो कहाँ हुन्छ,
फराकिलो बाटो
फराकिलो खेतबारी
फराकिलो आँगन ,

फराकिलो मन!
अहिले!
शहरिकरणको तितो स्वाद चाख्दैछ गाँउ।

पल्लौ घरले अलिकति खुट्टा फैलाउदा
वल्लो घरको सिकुवा अलिकति के मिचियो,
वल्लो घरले अलिकति जोड़ले खोक्दा
पल्लो घरको पर्खाल अलिकति के हल्लियो
काड़े तारको 'खिलखौड़ा' गाड़ेर
बाँधिएकोछ दुईटै घर
अहिले।

त्यसपछि!
घरहरु अलिकति फैलिनू लाई
मूलबाटो मिच्न थालेको छ
अलि अलि!
अलि बेसी!
यसरी
दिन दिनै साँघुरो हुँदैछ
मूल सड़क,
ढल्लै शहर,
ढल्लै देश,
ढल्लै पृथ्वी,

झनै
साँघुरो साँघुरो हुँदैछ
मान्छेको मन!!

Wednesday, 28 February 2018

सेलिब्रेटीको मृत्यु



रचना : अनन्त श्रेष्ठ, २८/०२/२०१८

जब एकजना सेलिब्रेटीको मृत्यु हुन्छ
मेरो देश विदग्ध हुन्छ
मेरो देश भग्न बन्छ
अनि राष्ट्रिय शोकगीत
अखबारमा, रेडियोमा, टेलिभिजनमा
हप्तौं बजिरहन्छ।

जब एकजना किसान
आलुको मूल्य ठीक नपाएपछि
ऋण दिवालिया भएर
आत्महत्या गर्छ
जब एकजना चियामजदूर
चियाकमान बन्द भएपछि
कुपोषणले क्षयरोगजनित
मृत्युवरण गर्छ
जब एकजना हकर
पेपर बाँढ़्दा- बाँढ़्दै
अकस्मात गाड़ीले किच्चिएर मर्छ
तब मेरो देश निरव बन्छ
न कहीँ हावा चल्छ
न कहीँ पात हल्लिन्छ
मेरो देश यथावत चलिरहन्छ।

सेलिब्रेटीसँग त शरीर छ
पैसा छ, सुनाम छ
गाड़ी छ, महल छ
चियामजदूरसँग के छ?
आलुकिसानसँग के छ?
पेपरहकरसँग के छ?

देश यो देख्दैन कि
देशलाई झिनो हातले
दिनसक्ने चियामजदूरसँग
किसानसँग/हकरसँग
एकमुठी पसिना छ
एकजोर परिश्रम छ
त्यही पसिना चिया भएर
देशको ओंठ-ओंठ पुगेको छ
त्यही परिश्रम अन्न भएर
देशको पेट डम्म अघाएको छ
यद्यपि उसको मृत्युमा
देश दुख्दैन
देशको आँखामा
आँशुको नदी बग्दैन
किनकि उसँग
फिल्मफेयर अवार्डजस्तै
भारत रत्न/ खेल रत्न/पद्मश्री पुरस्कारजस्तै
बेस्ट वर्कर/ बेस्ट फार्मर अवार्ड छैन ।

तर देश कहिल्यै सोध्दैन
कि सेलिब्रेटीको नितान्त स्वामित्वमा
के कुनै निशुल्क स्कूल
अस्पताल
शिशु आश्रम
अनि वृद्ध आश्रम छ ?

यद्यपि देश
एकजना सेलिब्रेटीको मृत्युमा
शोकधुन निरन्तर बजाइरहन्छ
बजाइरहन्छ।

(In PC : Starving tea gardens workers in Dooars)

पुष्कर-पुष्पनको जोडीले एउटा इतिहास रचेको छ

-बी पी बजगाईं, सिलगडी |

पुष्कर पराजुलीको शब्द अनि सङ्गीतमा गायक पुष्पन प्रधानको गीति एल्बम ‘इन्दुरे मिन्दुरे’ बजारमा निस्किने बित्तिकै चर्चामा आउनु अनि हीट हुनु भनेको मानिसहरू अहिलेको व्यस्त जीवन अनि अमिल्दो सामाजिक संरचनाबाट बिरक्तिएर जीवनमुखी बन्न खोज्दैछन भन्ने कुरा बुझें मैले| 

लगभग दुई दशकभन्दा अधिक वर्षहरू अघि मैले इन्दुरे मिन्दुरे गीत स्वयम् पुष्कर पराजुलीको मुखबाट उत्तर बंग विश्वविद्यालयको रिसर्च होस्टलमा सुनेको हुँ| यसपछी हामीले यो गीत कहिले काहीं भेट्दा फेरी सुन्थ्यौं, सँगै गाउथ्यौं| यसले एल्बमको रूप लिएर बजारमा आउन समय निकै लगायो| तर म सन्तुष्ट हुनसकें, किनभने यस गीतलाई पुष्पनको स्वरले न्याय गरेको छ| पुष्पनको गलामा मोहनी जादु छ भने पुष्करको गीत लेख्ने स्याहीमा मष्तिस्क हल्लाउने ताकत छ, जीवन देखाउने उज्यालो छ|

मेरो नजरमा पुष्कर जनवाद छिचोलेर जीवनमुखी बनेको एउटा युगको नाम हो| भर्खरै स्कूले जीवन सकेर टीनेजरको बित्दो संघारमा उभिंदाको उ बेलाको कलिलो पुष्करले आफैले लेखेको गीत नुक्कड़मा उभिएर गाएको देख्दा साहित्यकार रामलाल अधिकार दङ्ग परेको मैले धेरै अघि सुनेको हो| त्यस गीतको मुखडा यस्तो थियो-

जाउँ जाउँ चियाबारीमा, बुट्टा बुट्टी छहारीमा
मनको भारी बिसाउन, जाउँ जाउँ चियाबारीमा
चिरा चिरा परेको खुट्टा, मशिन बनेका हातहरू
छोरा-छोरीलाई ठूला बनाउने, रातका गुनगुन बातहरू
चट्टान पागल्ने गर्मीमा उही छ इच्छा उही रहर
जस्तो चियाको हरियोपन छ सुन्दर|

सम्भवत यो गीत अहिलेसम्म रिकर्ड भएको छैन होला| यसरी जनवादी चिन्तन बोकेर कलम समाएका पुष्कर पराजुलीले आफ्नो सामाजिक जीवनको अनुभवको निचोडहरूलाई कम उमेरमा नै जीवनमुखी बनाएर उतार्न थालेका हुन्| 

एउटा विद्यार्थीले जुन सपना बुनेर पडन शुरु गरेको हुन्छ अनि उसले शिक्षा सिध्याएर अघि बढ्नु खोज्दा अवसरको अभाव अनि उभिनुको संघर्षको जुन संघार देख्छ, त्यस परिस्थितिमा उभिने अवसर पाए उभित्रको उर्जाले पराकाष्ठा नाघ्ने संकल्प बोकेको गीत हो इन्दुरे मिन्दुरे| यो गीत पुष्कर पराजुलीका सहपाठी अनि साथी-भाईहरू माझ दुई दशक अघि नै चर्चित गीत हो अनि अहिले यसलाई वाह्य जगतमा चर्चाको शिखरमा पुरयाएका छन् पुष्पन प्रधानले|

मैले पहिले नै पुष्पनलाई एउटा नाम दिएको छु, ‘भुँईं गायक’ भनेर| उनी भुँईंका कुराहरू, जमीनी यथार्थहरू टिपेर अरूलाई जीवनको मूल्य बोध गराउन खोज्ने गीताङ्गे हुन् अनि जमीनका त्यस्ता यथार्थहरू भित्र नै हुर्किएका पुष्कर पराजुलीका शब्दहरूलाई पुष्पनले न्याय नदिए कसले दिने? सम्भवत: गीति एल्बम इन्दुरे मिन्दुरेको निस्किने बित्तिकै चुलिएको चर्चा भित्र यही यथार्थ सबल उभिएको छ| 

‘आठ बजी जान्छ पाँच बजी फर्कन्छ’ भन्ने गीत राम्ररी सुन्दा कसैले पनि आफ्नो बाबुलाई परिवार पाल्न काममा गएको झल्यास्स सम्झन सक्छन्, उ चिया कमानको मजदुर हुनसक्छ, कुनै फ्याक्ट्रीको श्रमिक हुनसक्छ, कुनै प्राइवेट अर्थात् सरकारी नोकरीको तल्लो तहको कर्मचारी हुनसक्छ| यस गीतको पात्रले बहुसंख्यकको प्रतिनिधित्व गरेको छ यसैले उ आफैमा एउटा सिंगो देश हो| र नै त गीतले भन्छ, ‘कसरी भन्नु ठुल्दाजु....उसले देश बनाउँदैन...’ | पुष्करले एउटा साधारण मजदुरलाई देशको निर्माता उभ्याएका छन् भने पुष्पनले यस गीतलाई गाएर खटिखाने वर्गलाई सम्मानित तुल्याएका छन्|

यसै इन्दुरे मिन्दुरे एल्बममा भएको अर्को गीत ‘एउटा डम्पिंग ग्राउण्ड बनाइदेउन है’ मनको स्वच्छताको पक्षमा लेखिएको एउटा यस्तो गीत हो जसले बन्धक बनेको मानवीय चेतनाको मुक्ति खोजेको छ| विश्वको सङ्गीतको अध्यायमा यस्तो गीत मान्छेले होइन युगले लेखेको हुन्छ अनि गीतलाई युगले नै गाएको हुन्छ| हल्का-फुल्का रमाइलो गाएर सङ्गीत बेच्ने बजारमा पुष्कर पुष्पनको जोडीले भने यसपाली साँच्चै एउटा इतिहास रचेको छ| यस गीतमा बंगालको बाउल गानको सुरले नेपाली संगीतलाई जुन नयाँपन दिएको छ त्यो अलग्गै चर्चाको विषय नै बनेको छ|

यस एल्बमसँग सम्बन्धित मैले नचिनेका, नजानेका सबै नै बधाईका पात्र हुन्| मित्र पुष्कर पराजुलीलाई समाजलाई एउटा राम्रो जीवनमुखी कोशेली ‘इन्दुरे मिन्दुरे’ दिएकोमा हार्दिक बधाई एवं शुभकामना| भाई पुष्पनलाई आज जन्मदिनको शुभकामनासँगै इन्दुरे मिन्दुरेको निम्ति लछेप्रै बधाई अनि मायाहरू...|
अन्तमा पुष्कर पराजुलीको जनवादी शब्दभित्रै मेरो शुभकामना टुंग्याउँदछु –

“कदम कदममा जिन्दगीको सङ्घर्षको पुकार छ
ढुँगा फोर्ने हातहरूमा शक्ति बेशुमार छ
एउटा कदम तिमी बढाउ, अर्को कदम बढाउँछु म
एकताको अघि सबै बाधाहरूको हार छ|”