Thursday, 26 December 2019

अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको आयोजनामा 28औँ सोजोङ न्युङ्ने उपषोध तथा बार्षिक अधिवेशन आरम्भ।


कालचिनी 26। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको आयोजनामा बिहीवार अपरान्ह समयदेखि 28औँ न्युङ्ने उपषोध तथा बार्षिक अधिवेशन कालचिनी खण्डको मेचपाड़ा 8 नम्बर स्थित पेमा छ्योई फेलिङ गुम्बा परिसरमा विधिवत रुपमा सम्पन्न भएको छ।

सङ्घको महागुरु ख्येनछेन रेम्बोर्छे साङ्गे ल्हुडोको आगमन साथै आजको प्रथम चरणको कार्यक्रमको मुख्य अतिथि अलिपुरद्वार जिल्ला परिषदको मेन्टर मोहन शर्मा साथै अलिपुरद्वार एसपी नगेन्द्रनाथ त्रिपाठी एवम् कालचिनी बीडीओ भूषण शेर्पा, कालचिनी पञ्चायत समितिको सहकारी सभापति प्रभात मुखर्जी, समाजसेवी असीम मजुमदार, मेचपाड़ा चियाबारीको सुपरिन्टेन्डेन्ट विपिन गुप्ता लगायत अन्यान्य विशिष्ट अतिथिहरुको उपस्थितिमा कार्यक्रमको उद्घाटन सम्पन्न भएको थियो।

उद्घाटन चरणमा प्रथमत वृहत पण्डाल अघि राष्ट्रिय झण्डाको उत्तोलन मेन्टर मोहन शर्माको बाहुलीबाट गरिएको थियो भने सङ्घको झण्डा महागुरु ख्येनछेन रेम्बोर्छे साङ्गे ल्हुडो औ धर्मीय पताका कालचिनी बीडीओ भूषण शेर्पाको बाहुलीबाट उत्तोलन गरिएको थियो।

पण्डाल नजीकै तयार पारिएको महात्मा गान्धीको 150औँ जन्म बर्षगाँठको स्मृति साथै कालचिनी क्षेत्रबाट देशको रक्षाको निम्ति शहादत भएका शहीद अजय लामा, सञ्जय तिर्की र राजीव थापाको शहीद वेदीमा महागुरु लगायत मुख्य अतिथि मेन्टर मोहन शर्माको बाहुलीबाट श्रद्धा सुमन अर्पण गरिएको थियो।

औपचारिक रिती पश्चात न्युङ्ने पण्डालमा महागुरु ख्येनछेन रेम्बोर्छे साङ्गे ल्हुडोको आसन ग्रहण साथै मुख्य अतिथि औ विशिष्ट अतिथिहरुको आसन ग्रहण पश्चात आयोजक कमिटीको पक्षबाट न्यानो स्वागत गरिएको थियो भने स्वागत वक्तव्य आयोजक कमिटीको सभापति जङ्गबीर बम्जनले राखेका थिए।

महागुरुको निर्देश मुताबिक उपस्थित लामागुरुहरुको पवित्र मन्त्रोच्चारण पछि धार्मिक मोलम पाठसितै आजदेखि कार्यक्रम आरम्भ भएको जानकारी आयोजक कमिटीको पक्षबाट सचिव कर्मा वाईबाले दिएका छन। 

बिहीवार कार्यक्रममा उपस्थित अतिथिहरुको बाहुलीबाट सङ्घको करुणा नामक मुखपत्रको लोकार्पण पनि भएको र आगामी 29 दिसम्बरको दिनसम्म कार्यक्रम तथा अधिवेशन चल्ने आयोजक कमिटीले थप जनाएका छन।

Report : Pradip Lama, TheTD, Kalchini.

No comments:

Post a Comment