यस लेखले के भन्न खोजेको हो?
आन्दोलनको वर्तमान दशा अनि गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी)- को दिशालाई एउटै वेगमा एउटै समयमा हिंडाउन सकिएन भने भोलि गएर त्यो ठूलो ऐतिहासिक भूल साबित हुनेछ| आन्दोलनमा जनताको अवस्था अनि नेतृत्व पंक्तिको सोच Synchronize हुनु आजको आवश्यकता हो|
बन्द (हड्ताल) भन्दा ठूलो सांस्कृतिक आन्दोलन हो र?
मैले घरि घरि बन्दको विरोध गरेर सांस्कृतिक आन्दोलनको पक्ष लिएँ| कतिले सांस्कृतिक आन्दोलनलाई नाच्नु गाउनुको रूपमा लिएको कमेन्ट पनि मेरो पोस्टमा आएकै हो| लौ त आज चर्चा नै गरौँ, के बन्द (हड्ताल) भन्दा ठूलो सांस्कृतिक आन्दोलन हो र?
सांस्कृतिक आन्दोलन भनेको नाच्नु, गाउनु होइन है| पुरानो बेकामको संस्कार, तौर-तरिका, युगानुकुल नभएको पुरानो सोच आदिलाई परिवर्तन गर्ने सामर्थ्य बोकेको धारावाहिक, निरन्तर चल्ने कार्यक्रमहरू सांस्कृतिक आन्दोलनका अंग हुनेगर्छन्| यो विशुद्ध राजनैतिक औजार हो| सांस्कृतिक आन्दोलनलाई माओको प्रयोगको रूपमा मात्रै पनि हेरिनु हुँदैन| सम्पूर्ण विश्वको अलग अलग राजनैतिक प्रयोगहरू नै यसको अध्ययन गर्ने पुस्तक झैं हो| हाम्रो क्षेत्रमा अध्ययनको कमि भएको म स्पष्ट देख्दैछु|
सांस्कृतिक आन्दोलन भनेको मान्छेको सोच बदल्ने आन्दोलन हो| केवल हाम्रो होइन यसले देशको नै हामी प्रतिको सोचलाई बदल्न सक्छ| यो “तातै खाउँ, जली मरौं” सोच भन्दा धेरै पर उभिएको सोच हो| यसले जनताको चिन्तन प्रक्रियालाई सशक्त बनाउँछ| आज त्यसैको कमी खतरनाक रूपमा उभिएको छ| नेतालाई समेत के बोल्नु/नबोल्नुको हेक्का छैन| मिडियाले सोधेको राजनैतिक प्रश्नको जवाब हाम्रो कतिपय नेतामा समेत छैन| यसैले पनि आवश्यक छ सांस्कृतिक आन्दोलन| यसले जनतालाई वर्तमान आन्दोलनसँग जोडेर पनि राख्छ| यहाँको सांस्कृतिक आन्दोलनको चेतना यहींको आवश्यकताबाट पलाएको हुनुपर्छ, इम्पोर्ट गरिएको चेतना यहाँको भूगोलमा सही नबस्न पनि सक्छ| यसलाई रातो चश्माको घेराभित्र मात्रै पनि हेर्न मिल्दैन| यो रेडिकल अनि सर्वतोमुखी राजनीतिक आन्दोलन हो| विश्व राजनैतिक इतिहासमा नजिकको देशको उदाहरण हेरौं, यहि आन्दोलनको अभाव अहिले नेपाल देशमा पनि देखापरयो| राजतन्त्रबाट प्रजातन्त्र आए तापनि त्यहाँ प्रजातन्त्र ‘बोकाको मुखमा कुभिन्डो’ साबित भएको छ| अहिले पनि गोर्खाल्याण्ड आन्दोलनमा आन्दोलन भनेको जिन्दावाद-मुर्दावादको नारा लगाउनु, प्रत्येक धुरीमा झन्डा लगाउनु, आफ्नै मान्छेलाई शक्ति प्रदर्शन गर्नु, जनतालाई बन्दको औजार बनाउनु भन्दा पर जानै सकेको छैन| सांस्कृतिक आन्दोलन भनेको आँखामा लगाइदिएको/लागेको पट्टीलाई हटाउने आन्दोलन पनि हो| आँखाको पट्टी खोल्न चाहनेको निम्ति यो अचुक औषधी हो| कुरा गहन चिन्तनको हो|
लामो बन्दले जुन मानसिकतालाई जन्माउँछ, जुन समाजलाई सिर्जना गर्छ त्यसको नकारात्मक प्रभाव आज होइन अबको दश-पन्द्रह वर्षपछि घोर जातिय विपत्तिको रूपमा धेरै लामो अवधीको निम्ति उभिएको हुन्छ|
बन्द पालन गर्नैपर्ने वाध्यताभित्र:
यदि अहिलेको आन्दोलनमा बन्द पालन गर्नैपर्ने स्थिति छ भने पनि त्यसको उपाय स्वरूप मैले सुझाव दिएको थिएँ| जुन क्षेत्रमा राशन जुटाउन सक्छन् त्यस क्षेत्रको चिन्ता लिनु पर्दैन, तर जुन क्षेत्रमा राशन जुट्नै सक्दैन, कुनै उपाय नै छैन, त्यस्ता क्षेत्रलाई चिन्हित गरेर त्यहाँ राशन पुरयाउने बन्दोबस्तबारे जीएमसीसीले निर्णय लियोस| त्यस्तो गरेको खण्डमा हामी आ-आफ्नै स्तरमा कमिटी बनाएर कमिटीको नाम जीएमसीसीलाई जनाएर राशन जुटाईदिने व्यवस्था गर्नेछौं| यसैले राशन सर्वराह सम्बन्धमा जीएमसीसीले निर्णय लिन्छ भने राशन सहयोग लिन सम्पर्क नम्बर पनि जारी गरोस्| राशन कुनै पार्टीको नाममा होइन, जीएमसीसीको नाममा वितरण भएको होस्|
हामीले आन्दोलनरत युवावर्गको सहायताले सर्ट डिस्टेन्स मुव्मेंट टीम बनाएर रिले व्यवस्थामा जरुरत परेको स्थानमा राशन पुरयाउन सक्ने कार्य हो यो| बन्द पालन नै गर्ने भए त्यसलाई पूर्णरुपले पालन गरिएको हुनपर्छ| तर हिजोको जीएमसीसीको निर्णयले बन्द पूर्णत: पालन नभएको बताउन खोजिएको छ| किनभने यदि आन्दोलनलाई नेतृत्व दिने भनिएको सभामा बङ्गालले पहाडमा खाद्यान्नमाथिको नाकाबन्दी गरेको आरोप लाग्छ भने यस आरोपले पहाडमा गाडी चल्दैछ भन्ने सङ्केत दिन्छ| बन्द छ भने, गाडी नै चलेको छैन भने नाकाबन्दी लागेको होस् कि जेसुकै होस्, यो प्रश्न नै उठ्दैन| बन्द पालन निरन्तर गर्ने फरमान पनि सुनाउने अनि राशन रोकेको पनि आरोप लगाउने कुरा परस्पर विरोधी वक्तव्य हुन्| यो कुरा पक्का हो कि मधेशसँग जोडिएको छेउ-छाउका क्षेत्रहरूमा गोर्खा जातिले राशन लाँदा बाधा दिईदैछ| यसको निम्ति अलग्गै रूपमा कुराको उठान गरिनु आवश्यक छ| तर पहाडका नेताहरूले भनुन कि यदि राशन लाँदा बाधा दिईएन भने के राशन लान गाडी कुदाउने? गाडी कुदाउनु भनेको बन्द खोल्नु होइन? अनिश्चितकालिन बन्दको परिभाषा कस्तो बनाइएको छ? यसै समस्यालाई म बारम्बार बुझाउने प्रयास गर्दैछु| यस्तो निर्णयले विश्व समाजले जनताको पवित्र आन्दोलनलाई शंकाको दृष्टिले हेर्नसक्छ, आन्दोलन कमजोर बनाउन सक्छ| हामी वीरसँगै बुद्धिमानी पनि हुनु जरूरी छ|
खाद्यान्नप्रति लगाइएको नाकाबन्दी खोल्न आग्रह
पहाड़मा खाद्यान्नप्रति लगाइएको नाकाबन्दी खोल्नका लागि सिलगढ़ीका सबै राजनैतिक पार्टी, नागरिक समाज, खाद्य विभाग र मानवाधिकारवादी संघ-संस्थाहरूलाई पत्र लेखेर आग्रह गर्ने निर्णय जीएमसीसीले लिएछ| के बन्द पालन गर्दै गरेको आन्दोलनले यो आग्रह गर्नु नैतिकताभित्र पर्ने कुरा हो? उनिहरुले सोझै तिमीहरूले बन्द खोल, हामी राशन पठाउने व्यवस्था गरिदिन्छौं भनेभने के गर्ने? बन्द खोल्ने? स्वजातिले बारम्बार भनेको कुरा नसुनेर विजातिले भनेको एकैपटकमा सुन्ने? याद राख्नुहोस हामी आन्दोलनको शुभचिन्तक मात्रै होइन, हार्डकोर हौँ, तर आन्दोलनमा विसंगति मन नपराउनेहरू हौँ|
राशन थाप्ने झोला जुलुस भनेको के हो?
खाद्यान्नमाथिको नाकाबन्दी जारी रह्यो भने पहाड़भरिबाट रित्तो झोला जुलूस गर्ने निर्णय पढ़्न पर्दा मलाई हाम्रा नेताहरूले भाँडा-कुटी खेलेको जस्तो लाग्यो| अब मूल मुद्दा गोर्खाल्याण्डबाट जनताको ध्यान हटाउन खोजेको हो? आन्दोलनमा के को झोला, अनि बन्दमा के को राशन? झोला जुलुसले प्रमाणित गर्छ, गोर्खालाई भोक लाग्न थाल्यो भनेर| शत्रुको मनोबल बढाउने निर्णय लिनु जीएमसीसीलाई किन आवश्यकता परयो? यो संसारमा विकसित जातिहरूमा पनि भिखारी हुन्छन्, तर पंजाबी अनि गोर्खा यी दुई यस्ता जाति हुन् जसले भीख कहिल्यै माग्दैन| अब गोर्खालाई भिखारी नबनाउ| आन्दोलनको स्ट्राटिजी यस्तो हुन्छ भने भारत सरकारका दिग्गज परामर्श दाताहरूले हामीलाई के अध्ययन गर्दै होलान्? समयमै होश पुरयाउनु आवश्यक छ|
सांसद आहलुवालिया अनि गोर्खाल्याण्ड:
हिजोको जीएमसीसी बैठकले सांसद आहलुवालियालाई केन्द्रिय भिजिलेन्स पठाउन, संसदमा कुरा उठाउन अनि यो अमानवीय कार्यको राष्ट्रव्यापी विरोधका लागि पहल गर्न दबाउसहितको आग्रह गर्ने बताएको छ| यस बुँदालाई तीन खण्डमा हेरौं:
क. केन्द्रिय भिजिलेन्स पठाउने आग्रह किन?
हाम्रो माग अलग राज्य गोर्खाल्याण्ड हो, यस मागलाई माग्नुको सम्बन्ध केन्द्रिय भिजिलेन्ससँग छैन| आन्दोलनमा बङ्गाल पुलिसको गोलीले धेरै मृत्यु भएको छ, यो जाँच्ने काम केन्द्रिय भिजिलेन्सको होइन| केन्द्रिय भिजिलेन्स अर्थात् भारतको केन्द्रीय सतर्कता आयोग (Central Vigilance Commission (CVC)) भनेको देशका विभिन्न विभागहरूका अधिकारीहरू/कर्मचारीहरूसँग सम्बन्धित भ्रष्टाचार नियंत्रण गर्ने सर्वोच्च संस्था हो| मैले बुझ्न सकिन सांसद आहलुवालियालाई केन्द्रिय भिजिलेन्स पठाउने आग्रह गर्ने आवश्यकता जीएमसीसीलाई किन परयो?
ख. संसदमा कुरा उठाउन आग्रह किन?
हिजो अस्ति गोजमुमो प्रमुख विमल गुरुङले एउटा वक्तव्य दिएका थिए, जसमा सांसद आहलुवालियाले उनलाई फोन मार्फत गोर्खाल्याण्ड बाहेक अरू कुरामा वैठक गर्ने आग्रह गरेको बताइएको थियो| आह्लुवालियाले अहिलेसम्म आफ्नो मुखबाट गोर्खाल्याण्ड शब्द निकाल्न चाहेका छैनन्| यसैले उनलाई आग्रह होइन, दार्जीलिंग संसदीय क्षेत्रकोको जनताले आदेश दिनुपर्छ| संसदमा गोर्खाल्याण्डको आवाज उठाउन हजारौं जनताले हस्ताक्षर गरेको आदेशपत्र सांसदलाई जारी गरिनुपर्छ| यसले धेरै ठूलो क्षेत्रमा गहिरो सन्देश पुग्छ|
ग. अमानवीय कार्यको राष्ट्रव्यापी विरोधका लागि पहल गर्न दबाउसहितको आग्रह
यो कार्य सांसदको होइन, हाम्रो हो| हामीले केवल आहलुवालिया होइन, देशमा भएका गोर्खा जातिका सांसदहरू, भूतपूर्व सांसदहरू, राज्यसभा सांसदहरू, भूतपूर्व राज्यसभा सांसदहरू लगायत आहलुवालिया, जसवन्त सिंह सबैलाई लिएर राष्ट्रव्यापी विरोधको होइन, राष्ट्रव्यापी समर्थनको निम्ति आग्रह गरेर एउटा गतिलो कमिटी बनाउन सक्नुपर्छ|
बोर्ड अनि "गोर्खाविरोधी' घोषणा:
१४ जुलाईको बेलुकी ६ बजीभित्र सबै बोर्डका अध्यक्ष, उपाध्यक्ष र पदाधिकारीहरूलाई जीएमसीसीले राजीनामा दिनका लागि अल्टिमेटम दिइएको बताइएको छ। उनीहरूले राजीनामा नदिए गोर्खाविरोधी घोषित गरिने भनिएको छ| ठीकै छ सबैले राजीनामा दिए भने भन्नु केही छैन, राम्रै हो| दिएनन् भने गोर्खाविरोधी घोषणाले आन्दोलनकारी जनता केहीले त ठीक पारेछ भन्लान्, तर यसको प्रभावले कता कता छुन्छ भन्ने कुरालाई अझैं पनि विमर्शको टेबलमा राखिनुपर्छ|
आमरण अनशन:
१५ जुलाईदेखि गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी)-का नेताहरू ११ बजेदेखि चौरास्तामा आमरण भोक हड़तालमा बस्ने निर्णय हिजोको जीएमसीसीले लिएको छ| आमरण भोक हड़ताल भनेको अत्यन्तै प्रभावकारी औजार हो अनि यो अन्तिम औजार पनि हो| यसैले यसको प्रयोग गर्नुअघि लक्ष्य र अम्पायरहरू सुनिश्चित गरिनुपर्छ| लक्ष्य गोर्खाल्याण्ड हो, तर गोर्खाल्याण्ड राज्य गठनका लागी दस्तखत गर्ने हातहरू जसले कुरालाई चुडान्त रूप दिन्छन् पनि आमरण भोक हड़तालको लक्ष्य हो| यसैले यस आमरण भोक हड़ताललाई लक्ष्यमा लगेर कुराकानी गर्ने सशक्त टीम सर्वदलीय कमिटीबाटै पहिले तय गरिएको हुनुपर्छ, जसमा कमिटी बाहिरबाट पनि बौद्धिकहरू झिकाइएको होस्| नत्रभने यो अम्पायर विहीन फुटबल खेल हुनेछ| फेरी पनि भन्दैछु, आमरण भोक हड़ताल भनेको अत्यन्तै प्रभावकारी औजार हो अनि यो अन्तिम औजार पनि हो, यो औजार फेल हुनु हुँदैन| यसको विफलताले सम्झौता जन्मिएको हुनुहुँदैन| यसलाई सफल बनाउन हामी सबैको बराबर दायित्व छ|
सभाको अन्य बुँदाहरू ठीक छन्, पहाड़का सम्बन्धित ठाउँका डीएम, एसडीएम र बीडीओ कार्यालहरू घेराउ गर्ने बुँदामा केही चर्चाको खाँचो छ, तर अहिले चर्चा गर्न आवश्यक ठानिन| जे पनि गरौँ, सोचेर गरौँ| यो भारतमा छरिएर बसेका समग्र गोर्खा अस्मिता अनि चिन्हारीको लडाईं हो|
Writes - बी० पी० बजगाईं (१२ जुलाई, २०१७)
No comments:
Post a Comment