राज्य सरकारको षडयन्त्रमा छैटौं अनुसूचीको खिचडी पाक्दै गरेको चेताउनी जीटीए अध्यक्ष विमल गुरुङले हिजो ४ जुलाईको दिन दिएका छन्| यसको साथै उनले सांसद एस एस आहलुवालियाले फोन गरेर गोर्खाल्याण्ड मुद्दाबाहेक अन्य मुद्दामा वैठक गर्ने प्रस्ताव दिएको तर उनले त्यसलाई अस्वीकार गरेको पनि बताएका छन्| यसबाहेक उनले अनिश्चितकालिन बन्द निरन्तर राख्ने कुरालाई जोर दिएकाछन्| उनले अन्य पनि धेरै कुरा बोलेकाछन् जसको चर्चा हुन् आवश्यक छ, तर माथिका तीनवटा कुरामा भने म विशेष ध्यान पुरयाउन चाहन्छु|
बुँदा एक: राज्य सरकारको षडयन्त्रमा छैटौं अनुसूचीको खिचडी
• मैले मेरो सोसियल मिडिया स्टाटसमा २४ जुनको दिन लेखेको थिएँ, “गोर्खाल्याण्ड आन्दोलन चल्दै गर्दा केन्द्रले गोर्खालाई जनजाति मान्यता दिने सम्भावना प्रबल देख्दैछु। दिन्छ भने दियोस्, थापौं, धन्यवाद दिने काम अहिले नगरौं। आन्दोलन शिथिल पार्ने औजारको रूपमा यसको प्रयोग हुनसक्छ। आन्दोलन निरन्तर राखौं।“ आज दश दिन पश्चात त्यसै कुरालाई विमल गुरुङले देख्नु भनेको दुइवटा कारण हुनुसक्छ| कि त उनको राजनीति कछुवा चालमा हिंड्दै छ कि भने उनले यतिदिन यस कुरालाई लुकाएर राख्ने प्रयास गरे| यदि उनको राजनीति कछुवा चालमा हिंड्दैछ भने हामीले उनीमाथि राजनैतिक आस्था राख्ने ठाउँ नै रहँदैन, तर कुरालाई लुकाएर राखेकाथिए भने किन भन्ने प्रश्न जन्मिन्छ| मेरो यो आरोप रोशन गिरी दिल्ली हुँदाको आरोप हो| समस्त जनताले दिल्लीमा खिचडी पाक्दै गरेको कुरा थाहा पाइसकेको कुरा हो| यस कुराको सोसियल मिडियामा व्यापक विरोध पनि भएकै हो| गोर्खालाई जनजाति बनाउने मामिलासँग विमल गुरुङको के सम्बन्ध छ भनेर अब हेरौं| विगतमा २१ अगस्त २०१५ को दिन जीटीए प्रमुख विमल गुरुङ अनि सिक्किमका मुख्यमन्त्री पवन चामलिंगले गोर्खाहरूलाई ट्राइबल स्टाटस दिलाउनु हात मिलाएको थिए| यो कुरा हामी सबैलाई थाहा हुनुमात्र होइन त्यसको दस्तावेज पनि हामीसँग छ| यसदिन दुइजना माझमा मिन्तोकगाङ गान्तोकमा २ घण्टा लामो बातचित चलेको थियो| यसैले यो गोजमुमोको पनि एउटा Hidden Agenda त हो नै| यसैले यो राज्यले पकाएको खिचडी होइन| मैले सिक्किमका मुख्यमन्त्री पवन चामलिंग यसपाली दिल्ली जाँदा मेरो २८ जुनको स्टाटसमा आग्रह गरेर लेखेको थिएँ, “चामलिंग ज्यू, केही कालको निम्ति तपाईंको बर्मन कमिशन आधारित ११ जनजातिको मागलाई थाँतीमा राखिदिनुहोला..., त्यस मागले गोर्खा जातिलाई असुविधा नहोस्| “ यो लेख्नुसँग वर्तमान राजनीतिको गहिरो सम्बन्ध छ| मैले राजनीतिलाई कसैको बयानमा होइन, उसको कार्य गर्ने शैलीमा अध्ययन गर्ने गरेको छु| राजनीति कहाँ र कसरी खेलिन्छ भन्ने कुरा बुझ्ने क्षमता राख्छु र नै निर्धक्क स्टाटस लेख्ने गरेकोछु| अहिले जनतामा अविश्वासको भाव जन्मिएको थाहा पाएर मात्रै यस्तो वक्तव्य आउनुलाई हामी राम्ररी बुझ्दछौं| मैले कसैलाई सही साबित गर्नु पनि छैन, कसैलाई दोषी साबित गर्नु पनि छैन| कुरा यति हो, नेताहरूको दोषारोपण अनि राजनैतिक दाउ-पेचको खेलले आन्दोलनको लक्ष्य तुहिएर जानु भएन| अध्यक्ष पदको यस्तो वक्तव्यले राज्यले राजनीति गर्ने अनि आन्दोलनलाई अन्यत्र मोड्ने ग्याप पाउने सम्भावना पनि प्रबल हुन्छ| विमल गुरुङको यस वक्तव्यले सर्वदलीय एकतामा चिरा हाल्ने प्रबल सम्भावना बसेको छ| भोलि सर्वदलीय एकता तोडियो भने त्यसको दोष गोजमुमोले लिनुपर्ने हुन्छ| सर्वदलीय एकता नतोडियोस अनि अब विलम्ब नगरी सठीक रणनीति तय गरियोस्, हामी बस त्यति नै चाहन्छौं|
बुँदा दुई: सांसद एस एस आहलुवालियाको फोन
• यदि सांसद एस एस आहलुवालियाले विमल गुरुङलाई फोन गरेर गोर्खाल्याण्ड मुद्दाबाहेक अन्य मुद्दामा वैठक गर्ने प्रस्ताव दिएका थिए भने खिचडी कहाँ पाक्दैछ भनेर त्यसै थाहा हुने कुरा हो| यदि गुरुङ गोर्खाल्याण्डको मुद्दा साँच्चै समर्पित छन् भने उनले सांसद आहलुवालियाको फोनलाई मुद्दा बनाएर झट्टै बीजेपीसँग नाता तोड्नुपर्छ| होइन, यदि उनलाई बीजेपीमाथि अझै पनि आस्था छ अनि यो विचार सांसदको आफ्नो निजी विचार हो जस्तो लाग्छ भने उनले यसको शिकायत बीजेपी केन्द्रिय कमिटीमा किन गरेका छैनन्| शिकायतको जवाब नै भोलि गोर्खा जातिले पाउने जवाब बन्नेछ|
बुँदा तीन: अनिश्चितकालिन बन्द निरन्तर राख्ने कुरा
• विमल गुरुङको अनिश्चितकालिन बन्द निरन्तर राख्ने कुरा केवल तीनवटा कारणमध्ये एक हुनसक्छ|
o उनी व्यवहारिक राजनीतिबाट धेरै टाडा छन्| उनी राजनेता कम कार्यकर्ता अधिक हुन्|
o उनले अनिश्चितकालिन बन्द घातक हो भन्ने जान्दछन्, तर बन्दलाई जनता गलाउने औजार बनाएर कुनै अन्य लक्ष्य भेद गर्न चाहन्छन्|
o भोलि सम्पन्न हुनगईरहेको सर्वदलीय बैठकमा हावी हुन चाहन्छन् ताकी अरुले ल्याएको रणनीतिक कौशलताले उनको वर्चस्वलाई कुनै चोट नपुगोस्|
उपरोक्त तीनवटा कारणहरू मध्ये जुनै कारण टिपेपनि आन्दोलनको निम्ति यो घातक कुरा हो| यो जनआन्दोलन हो| जनआन्दोलन कुनै एउटा दलको हुँदैन, जसरी शहिद राजनैतिक पार्टीको हुँदैन| आज मैले लेखेको प्रत्येक कुरा आन्दोलनको पक्षमा छ तर म कुनै राजनैतिक दलको कार्यकर्ता होइन| म जस्ता हजारौं समर्पित मानिसहरू आज आन्दोलनमा उत्रिएका छन्| उनीहरू कुनै पार्टीको नेताको अनुहार हेरेर होइन, भोलि कन्ट्रयाक्टका कामहरू पाउँछौं भनेर पनि होइन, नेता हुनलाई पनि होइन; केवल अनि केवल माटोको माया, जातिको चिन्हारी अनि भाविपिडीको अस्मिता र अस्तित्वलाई जोगाउन आन्दोलनमा आ-आफ्नो स्तरमा, आ-आफ्नो क्षमता अनुसार उत्रिएका छन्|
अबको रणनीति भनेको जनता गलाउने होइन, राज्य र केन्द्र सरकारलाई घुँडा टेकाउने रणनीति बन्नुपर्छ| आफैले आफैलाई सोध्नुपर्छ, हामीसँग यस्तो के छ जसलाई देखाएर हामी राज्य र केन्द्र सरकारलाई घुँडा टेकाउन सक्छौं| यहाँ लेख्न मिल्दैन, तर हामीसँग धेरै कुराहरू छन्, केवल खाँचो छ त सही रणनीतिको| भोलिको सर्वदलीय बैठक फलप्रद बनोस्| सही बाटो लिएर राजनैतिक दलहरूले आन्दोलनलाई अघि बडाउन| कसैले शर्टकट बाटो नखोजुन्| याद राख्नुहोस्, कसैले यो आन्दोलनलाई सम्झौताको टेबल लान्छन् भने उसको राजनैतिक अन्त भएको घोषणा त्यसै दिन गर्नेछौं| अनि हुनेछ, ठूलो जनआन्दोलन, आजसम्म नदेखिएको आन्दोलन| जनता तयार छन्| यो आन्दोलनलाई सम्झौताको टेबलमा लाने कोशिष कसैले नगरुन्| हामीलाई नेतृत्व लिने/खोस्ने इच्छा छैन| सबै नेताहरूले आन्दोलनलाई सही संचालित गर्नुहोस्, हामीलाई सडकमा कार्यकर्ताको रूपमा पाउनुहुनेछ| गलत दिशामा आन्दोलन गयो भने उनीहरू भोलि सडकमा हुनेछन्| विमल गुरुङ ज्यु, वयानबाजीमा होइन, रणनीति लिएर अघि बढ्नुहोस्, एक्लै फर्स्ट हुने होइन, समुहलाई लिएर हिँड्नु होस्| हामी समर्थनमा नै छौं| त्यसो गरे इतिहासले कदर गर्नेछ|
Writes - बी० पी० बजगाईं
No comments:
Post a Comment