Wednesday, 19 April 2017

गोहीले चपाएपनि बाँचे अर्जुन !



Writes : नारायण ढुंगाना चितवन

उपचार गर्न आर्थिक समस्या
ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ। गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ। तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए भन्दा आश्चर्य लाग्ला। यो यथार्थ हो। गोहीले समाएका बालक सकुशल फिर्ता भए। अहिले उनी उपचाररत छन्।

गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझैं चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए। सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे।

अपराह्न करिब ४ बज्दै थियो। एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन्। लेउले ढाकेर बसेको थियो गोही। लेउ नै सम्झेँ उनले। “म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ््याप्पै हात समायो,” सम्झँदै अर्जुन भन्छन्। देब्रे हातमा समाएर तीनचोटि पछार्‍यो। त्यसलगत्तै पानीमुनि लग्यो। सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ। “यो हात त सबै पड्यापुडुक भा'छ,” गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने।

यति गर्दा पनि बालकको होस भने गएको थिएन। गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए। फुस्कने कोसिस उनको व्यर्थ थियो। “मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो,” अस्पताल श्ययाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए। गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए। साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन्, “म बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो।” एउटा हात त गोहीले छाडेकै थिएन। टाउको समाउने प्रयास गर्दै थियो। गोहीसँगको सङ्घर्ष सम्झँदै उनी भन्छन्, “टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्को हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो।”

भुँडीमा प्वाल पारेको छ। छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ। खुट्टाभरि घाउ नै घाउ छ। देब्रे हात तीन ठाउँमा भाँचिएको छ। पाखुरा र नाडीमा पत्ता राखेको छ। गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्, “ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने।” अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन्।

पैसा तिर्न सकेनन् परिवारलेः
उनी सामान्य सुकुम्वासी परिवारका हुन् र सम्पत्तिका नाममा एक कट्ठा जमिन छ। त्यही पनि ऐलानी। घरको एउटा मात्रै छोरो, तीन छोरी र आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन्। कलेजको अर्थोपेडिक वार्डको २९६ नम्बर श्ययामा उनी छन्। अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन्। अहिलेसम्म करिब दुई लाख पैसा लागेको छ। नौ दिन आइसियुमा राखिएको थियो। एकदिन पोस्टअपमा राखेर चार दिनअघि अर्थोमा सारिएको हो।

औषधिको ऋण खोजेर नगद नै तिरे। अस्पतालको पैसा करिब डेढ लाख तिर्न बाँकी छ। अस्पतालको बिलको बिटो देखाउँदै आमा फूलमाया भन्छिन्, “यो पैसा कसरी तिर्नु” बुबा रामबहादुर मजदुरको काम गर्छन्। फूलमाया मेलापात। “म घरमै थिएँ, गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन। भोलिपल्ट होस आयो र हस्पिटलको आइसियुमा छोरो छ भेट्न जाउँ भनेपछि अनि आ‘को,” फुलमायाले भनिन्।

पैसा तिर्न चन्दा सङ्कलनः

चितवनका एक सामाजिक अभियन्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्बिर हालेपछि घटनाबाहिर आएको हो। उनीलगायत गाउँलेले अहिले उनको उपचारका लागि चन्दा सङ्कलन सुरु गरेका छन्। सक्ने सहयोग गरिदिए उनको अस्पतालको ऋण घट्ने थियो भन्छन् सिवाकोटी। पैसा नभएर परिवार पनि रन्थनिरहेको छ। “हिजो नै पैसा जम्मा गर भनेको थियो,” अर्जुनकी दिदी सरिताले भनिन्, “दश हजार जम्मा ग¥र्यौं अरू गर्न सकिएन। गरिबले कहाँबाट ल्याउनु पैसा। गरिब परिवारलाई कसैले सहयोग गरिदिए हुन्थ्यो”, उनी अनुनय गर्दै भन्छिन्।

त्यो दिन सहयोगीका रुपमा आकस्मिक कक्षमा थिइन् अस्पतालकी कर्मचारी मञ्जु भट्ट। “अर्जुनलाई ल्याउँदा अस्पतालमा नरुने कोही थिएन,” मञ्जुले भनिन्, “घाउहरु हेरिसाध्य थिएन।” भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिन्थ्यो भनेर चिकित्सकले भनेको कुरा उनी सम्झिन्छिन्। “हड्डी नै टुक्रा भाथ्यो रे”, मञ्जु सुनाउँछिन्। साह्रै पीडामा देखिएका बालक अहिले यस्तो हुँदा आफूलाई पनि खुसी लागेको मञ्जुले बताइन्। रासस 

- See more at: http://setopati.com/samaj/67445/#sthash.sqnuEZqW.dpuf

1 comment:

  1. शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ईश्वरसित

    ReplyDelete