Monday, 10 April 2017

मलाई तिम्रो शान्ति मन पर्दैन

- बी पि बजगाई

तिमी मलाई घरि घरि जिस्काईरहन्छौ
म उपेक्षा गर्छु तिमीलाई
फुटेको आँखाले हेर्न चाहन्न
तरै पनि के सार्हो अजिर हौ तिमी
प्रत्येक पल मलाई जिस्काईरहन्छौ|

भर्खरै मेरो छिमेकीको मृत्युमा
तिमी चुपचाप उभिएको थियौ
उहिले नै मेरो बज्यूको मृत्युमा
तिमीले मलाई कम रुवाएको होइन
रुवाउन पनि जान्दछौ तिमी
म उपेक्षा गर्छु तिमीलाई
तिमी भने जिस्काईरहन्छौ|

तिमी चुपचाप आउँछौ,
थाहै नदिई आउँछौ,
न त पदचाप सुनिन्छ,
न पद चिन्ह देखिन्छ नै,
तरंगविहीन आउँछौ
तर मलाई हल्लाएर जान्छौ|

न त तिमीले कसैलाई पर्खाउँछौ
न पर्खिन्छौ नै
घडीका प्रत्येक पलहरू
चिहाइबस्छौ तिमी, जागै बस्छौ...
सूर्यको छायाँसँगै हिँड्छौ
जुनेलीमा जुनसँगै सर्छौ
कहिले काहीं आउन अघि
प्रचण्ड उग्रता बोकेपनि
आएपछी शान्त देखिन्छौ,
स्वभावले त तिमी संधै शान्त छौ|

मलाई तिम्रो शान्ति मन पर्दैन,
तिम्रो शान्ति कहाँ बस्छ भनेर
मलाई थाहा छ,
न्युक्लियर बमहरूमा
बन्दुकका गोलीहरूमा
नशालु ड्रग्सका धुवाँहरूमा
धारिलो छुरीहरूका धारहरूमा
जङ्गलका हिंसक जनावरहरूमा
अकस्मात खस्ने बज्रहरूमा
जता-ततै तिम्रो शान्ति बसेको छ|

भर्खरै म लडेर टाउको बजारिंदा
मेरो छेवैबाट गयौ तिमी,
मेरै अघि साँपले भ्यागुता खाँदै थियो
तिमी भने मलाई जिस्काउँदै थियौ,
एउटा बुडो रूख ढलेको देखें
मक्किएका जरामा तिमी नै बसेको थियौ,
तिम्रो जिस्काई, बसाइ सबै शान्त
यसैले त मलाई तिम्रो शान्ति मन पर्दैन|
मलाई उभिएको रूखमा हावा ठोकिएर
चुइँकिएको मनपर्छ,
मलाई स्वतन्त्र उफ्रँदै भ्यागुत्ता
टर्र... टर्र कराएको मनपर्छ,
मलाई अँध्यारो शान्ति मनपर्दैन|
किनभने मलाई युद्ध मन पर्दैन
हत्या मन पर्दैन, आत्महत्या मन पर्दैन|
मलाई स्लो पोइजन पनि मनपर्दैन|

आज तिमी मलाई जिस्काउन नआउ...

त्यो दिन म तिमीलाई पर्खिनेछु
जुनदिन जीवनसँग थाकेको हुनेछु|
फत्ते गरिएका थुप्रै कामहरूले
लखतरान लडेको बेला,
चराका बचेराहरू उड्न थालेको देखेर
मन ढुक्कसँग हाँसेको बेला,
ए मृत्यु! म तिम्रो अपेक्षा गरेको हुनेछु|
त्यतिखेर पनि मैले
तिम्रो शान्ति मन पराएको हुनेछैन,
किनभने यहाँ बाँच्न चाहने थुप्रै हल्लाहरू
म छाडेर जान चाहन्छु,
तिम्रो शान्तिको व्याख्यालाई
तोडेर जान चाहन्छु|
(९ अप्रिल, २०१७, सिलगडी)

No comments:

Post a Comment