Wednesday, 28 February 2018

सेलिब्रेटीको मृत्यु



रचना : अनन्त श्रेष्ठ, २८/०२/२०१८

जब एकजना सेलिब्रेटीको मृत्यु हुन्छ
मेरो देश विदग्ध हुन्छ
मेरो देश भग्न बन्छ
अनि राष्ट्रिय शोकगीत
अखबारमा, रेडियोमा, टेलिभिजनमा
हप्तौं बजिरहन्छ।

जब एकजना किसान
आलुको मूल्य ठीक नपाएपछि
ऋण दिवालिया भएर
आत्महत्या गर्छ
जब एकजना चियामजदूर
चियाकमान बन्द भएपछि
कुपोषणले क्षयरोगजनित
मृत्युवरण गर्छ
जब एकजना हकर
पेपर बाँढ़्दा- बाँढ़्दै
अकस्मात गाड़ीले किच्चिएर मर्छ
तब मेरो देश निरव बन्छ
न कहीँ हावा चल्छ
न कहीँ पात हल्लिन्छ
मेरो देश यथावत चलिरहन्छ।

सेलिब्रेटीसँग त शरीर छ
पैसा छ, सुनाम छ
गाड़ी छ, महल छ
चियामजदूरसँग के छ?
आलुकिसानसँग के छ?
पेपरहकरसँग के छ?

देश यो देख्दैन कि
देशलाई झिनो हातले
दिनसक्ने चियामजदूरसँग
किसानसँग/हकरसँग
एकमुठी पसिना छ
एकजोर परिश्रम छ
त्यही पसिना चिया भएर
देशको ओंठ-ओंठ पुगेको छ
त्यही परिश्रम अन्न भएर
देशको पेट डम्म अघाएको छ
यद्यपि उसको मृत्युमा
देश दुख्दैन
देशको आँखामा
आँशुको नदी बग्दैन
किनकि उसँग
फिल्मफेयर अवार्डजस्तै
भारत रत्न/ खेल रत्न/पद्मश्री पुरस्कारजस्तै
बेस्ट वर्कर/ बेस्ट फार्मर अवार्ड छैन ।

तर देश कहिल्यै सोध्दैन
कि सेलिब्रेटीको नितान्त स्वामित्वमा
के कुनै निशुल्क स्कूल
अस्पताल
शिशु आश्रम
अनि वृद्ध आश्रम छ ?

यद्यपि देश
एकजना सेलिब्रेटीको मृत्युमा
शोकधुन निरन्तर बजाइरहन्छ
बजाइरहन्छ।

(In PC : Starving tea gardens workers in Dooars)

पुष्कर-पुष्पनको जोडीले एउटा इतिहास रचेको छ

-बी पी बजगाईं, सिलगडी |

पुष्कर पराजुलीको शब्द अनि सङ्गीतमा गायक पुष्पन प्रधानको गीति एल्बम ‘इन्दुरे मिन्दुरे’ बजारमा निस्किने बित्तिकै चर्चामा आउनु अनि हीट हुनु भनेको मानिसहरू अहिलेको व्यस्त जीवन अनि अमिल्दो सामाजिक संरचनाबाट बिरक्तिएर जीवनमुखी बन्न खोज्दैछन भन्ने कुरा बुझें मैले| 

लगभग दुई दशकभन्दा अधिक वर्षहरू अघि मैले इन्दुरे मिन्दुरे गीत स्वयम् पुष्कर पराजुलीको मुखबाट उत्तर बंग विश्वविद्यालयको रिसर्च होस्टलमा सुनेको हुँ| यसपछी हामीले यो गीत कहिले काहीं भेट्दा फेरी सुन्थ्यौं, सँगै गाउथ्यौं| यसले एल्बमको रूप लिएर बजारमा आउन समय निकै लगायो| तर म सन्तुष्ट हुनसकें, किनभने यस गीतलाई पुष्पनको स्वरले न्याय गरेको छ| पुष्पनको गलामा मोहनी जादु छ भने पुष्करको गीत लेख्ने स्याहीमा मष्तिस्क हल्लाउने ताकत छ, जीवन देखाउने उज्यालो छ|

मेरो नजरमा पुष्कर जनवाद छिचोलेर जीवनमुखी बनेको एउटा युगको नाम हो| भर्खरै स्कूले जीवन सकेर टीनेजरको बित्दो संघारमा उभिंदाको उ बेलाको कलिलो पुष्करले आफैले लेखेको गीत नुक्कड़मा उभिएर गाएको देख्दा साहित्यकार रामलाल अधिकार दङ्ग परेको मैले धेरै अघि सुनेको हो| त्यस गीतको मुखडा यस्तो थियो-

जाउँ जाउँ चियाबारीमा, बुट्टा बुट्टी छहारीमा
मनको भारी बिसाउन, जाउँ जाउँ चियाबारीमा
चिरा चिरा परेको खुट्टा, मशिन बनेका हातहरू
छोरा-छोरीलाई ठूला बनाउने, रातका गुनगुन बातहरू
चट्टान पागल्ने गर्मीमा उही छ इच्छा उही रहर
जस्तो चियाको हरियोपन छ सुन्दर|

सम्भवत यो गीत अहिलेसम्म रिकर्ड भएको छैन होला| यसरी जनवादी चिन्तन बोकेर कलम समाएका पुष्कर पराजुलीले आफ्नो सामाजिक जीवनको अनुभवको निचोडहरूलाई कम उमेरमा नै जीवनमुखी बनाएर उतार्न थालेका हुन्| 

एउटा विद्यार्थीले जुन सपना बुनेर पडन शुरु गरेको हुन्छ अनि उसले शिक्षा सिध्याएर अघि बढ्नु खोज्दा अवसरको अभाव अनि उभिनुको संघर्षको जुन संघार देख्छ, त्यस परिस्थितिमा उभिने अवसर पाए उभित्रको उर्जाले पराकाष्ठा नाघ्ने संकल्प बोकेको गीत हो इन्दुरे मिन्दुरे| यो गीत पुष्कर पराजुलीका सहपाठी अनि साथी-भाईहरू माझ दुई दशक अघि नै चर्चित गीत हो अनि अहिले यसलाई वाह्य जगतमा चर्चाको शिखरमा पुरयाएका छन् पुष्पन प्रधानले|

मैले पहिले नै पुष्पनलाई एउटा नाम दिएको छु, ‘भुँईं गायक’ भनेर| उनी भुँईंका कुराहरू, जमीनी यथार्थहरू टिपेर अरूलाई जीवनको मूल्य बोध गराउन खोज्ने गीताङ्गे हुन् अनि जमीनका त्यस्ता यथार्थहरू भित्र नै हुर्किएका पुष्कर पराजुलीका शब्दहरूलाई पुष्पनले न्याय नदिए कसले दिने? सम्भवत: गीति एल्बम इन्दुरे मिन्दुरेको निस्किने बित्तिकै चुलिएको चर्चा भित्र यही यथार्थ सबल उभिएको छ| 

‘आठ बजी जान्छ पाँच बजी फर्कन्छ’ भन्ने गीत राम्ररी सुन्दा कसैले पनि आफ्नो बाबुलाई परिवार पाल्न काममा गएको झल्यास्स सम्झन सक्छन्, उ चिया कमानको मजदुर हुनसक्छ, कुनै फ्याक्ट्रीको श्रमिक हुनसक्छ, कुनै प्राइवेट अर्थात् सरकारी नोकरीको तल्लो तहको कर्मचारी हुनसक्छ| यस गीतको पात्रले बहुसंख्यकको प्रतिनिधित्व गरेको छ यसैले उ आफैमा एउटा सिंगो देश हो| र नै त गीतले भन्छ, ‘कसरी भन्नु ठुल्दाजु....उसले देश बनाउँदैन...’ | पुष्करले एउटा साधारण मजदुरलाई देशको निर्माता उभ्याएका छन् भने पुष्पनले यस गीतलाई गाएर खटिखाने वर्गलाई सम्मानित तुल्याएका छन्|

यसै इन्दुरे मिन्दुरे एल्बममा भएको अर्को गीत ‘एउटा डम्पिंग ग्राउण्ड बनाइदेउन है’ मनको स्वच्छताको पक्षमा लेखिएको एउटा यस्तो गीत हो जसले बन्धक बनेको मानवीय चेतनाको मुक्ति खोजेको छ| विश्वको सङ्गीतको अध्यायमा यस्तो गीत मान्छेले होइन युगले लेखेको हुन्छ अनि गीतलाई युगले नै गाएको हुन्छ| हल्का-फुल्का रमाइलो गाएर सङ्गीत बेच्ने बजारमा पुष्कर पुष्पनको जोडीले भने यसपाली साँच्चै एउटा इतिहास रचेको छ| यस गीतमा बंगालको बाउल गानको सुरले नेपाली संगीतलाई जुन नयाँपन दिएको छ त्यो अलग्गै चर्चाको विषय नै बनेको छ|

यस एल्बमसँग सम्बन्धित मैले नचिनेका, नजानेका सबै नै बधाईका पात्र हुन्| मित्र पुष्कर पराजुलीलाई समाजलाई एउटा राम्रो जीवनमुखी कोशेली ‘इन्दुरे मिन्दुरे’ दिएकोमा हार्दिक बधाई एवं शुभकामना| भाई पुष्पनलाई आज जन्मदिनको शुभकामनासँगै इन्दुरे मिन्दुरेको निम्ति लछेप्रै बधाई अनि मायाहरू...|
अन्तमा पुष्कर पराजुलीको जनवादी शब्दभित्रै मेरो शुभकामना टुंग्याउँदछु –

“कदम कदममा जिन्दगीको सङ्घर्षको पुकार छ
ढुँगा फोर्ने हातहरूमा शक्ति बेशुमार छ
एउटा कदम तिमी बढाउ, अर्को कदम बढाउँछु म
एकताको अघि सबै बाधाहरूको हार छ|”

Monday, 26 February 2018

Leopard Skin being smuggled to Sikkim seized

Report by: Prashant Acharya

SILIGURI 25 Feb 2018

Forest officials of Belakoba range have seized 9 feet long Leopard skin and arrested two Bhutanese residents from Nagarkata National Highway under Jalpaiguri district.

The consignment was being taken to Sikkim via Dooars region but apprehended by forest officials before they cross Bengal border.

Sanjay Dutt, Ranger, Belakoba forest range said that they prior have information about the smugglers entering Sikkim with leopard skin. They had planned and waited along national highway near Nagarkata and recovered leopard skin from Bhutan number Bolero pick-up van and arrested Sangay Dorji and Yadap Prasad Sharma.
Arrested duo is citizens of Bhutan and run business as one is an hotelier and other is an owner of readymade garments shop. Dutt informed that both confessed about selling the skin in Sikkim at the cost of Rs 7 lakhs.
According to Dutt the smugglers had killed a 15 years old leopard from the forest of Bhutan and were carrying the skin to sell it in Sikkim.
“Sangay owns a hotel Amangi while Yadap is a owner of Radha Gifts and Fancy Wear shop in Bhutan and were involved in smuggling skins and other parts of wild animals since long,” said Dutt.
When asked about the links in Sikkim and whom were they about to deliver the consignment, Dutta replied that according to smugglers they were working and contacting through Sikkim whatsapp group. The details will be known after further investigation and interrogation.
Dutta said that they will also inform the Bhutan embassy regarding the matter. Both were produced in court today and sent for police remand.

Source The Echo of india

खोजी

- प्रभात चिसो राई

खोजिरहेँ कहाँ कहाँ तिमी भएका प्रमाणहरु
हजार जान्छ जहाँ जहाँ पाइनँ केही निशानहरु
पुछेर धमिलो एेना मनको जब हेरेँ चिम्लेर आँखा यो तनको
त्यो चेहेरा थियो मालिक तिम्रो,म त कस्तूरी रहेछु बनको।

पुगे कति पाइलाहरु काशीदेखि मदिनासम्म
कसले पायो भन मलाई योगौँदेखि आज सम्म?
न गयो कहीँ पायो जसले पायो यहीँ
एक संसारी हामी तिमी बुद्ध भयो यहीँ।

पायो उसले उसकै सत्य न पायो तिम्रो निम्ति
आफ्नो सत्य,तृष्णा आफ्नो, हरेक खोज आफ्नो निम्ति
साथी न कोही,दिशा न कोही, मार्ग न कोही यो यात्राको
जा जोगी अन्धो मनको तीर्थ आफै भित्रको।
#pravatchisoraipoetry

Sunday, 25 February 2018

माया

कवि : दीपकर राई

दुई अक्षर दुई मात्रा
मिलेर बनिएको शब्द माया
दुनियालाई नै चाहिन्छ
माया
मायाबिना जीवन नै अपुरो
भनिछ माया भ्रम हो
तर
म त भन्छु
माया त माया नै हो
किन कि

भमराले फुललाई माया गर्न जानेको छ
फुलले भमरालाई
जस्तो कि

किसानले जमीनलाई
जमीनले किसानलाई

माछाले पानीलाई
पानीले माछालाई

आगोले चुल्होलाई
चुल्होले आगोलाई

हो
माया गर्न जानेको छ
त्यो पनि नि:स्वार्थ माया

माया भ्रम हो
जसले स्वार्थको लागि माया गर्छ
माया माया नै हो
जसले जिन्दगी बिताउनलाई माया गर्छ

म त माया जिन्दगी बिताउनलाई गर्न चहान्छु
न त जिन्दगी बिगार्न

जसरी
छायाले मलाई माया गरे जस्तो
कहिले म देखि टाडा नभग्ने।।

Thursday, 22 February 2018

चियाबारीको ब्यथा

कविता : निरूबिन्दु

दबाई छिट्छन् की
आफ्नो खुन् छिट्छन्
धनबीरे काकाले चियाबगानमा...?

मल खनाउँछन् की
आफ्नो पसिना खनाउँछन्
फुलमाया काकीले चियाका बुट्टामा...?

पानीले भिजाउँछन् की
आफ्नो आँसुले भिजाउँछन्
श्रमिकहरूले चियाबारीको माटोमा...?

रहरहरू पनि मिसाउँदा हुन्
इच्छाहरू पनि मिसाउँदा हुन्

अलि-अलि गुनाँसो पनि लगाउँदा हुन्
अलि-अलि प्रार्थना पनि लगाउँदा हुन्

अलि-अलि माया पनि छिट्दा हुन्
अलि-अलि मुस्कान पनि छिट्दा हुन्

आह......त्यसैले त,
मिठोपना हुन्छ चियामा,

थकान् पनि मेट्छ,
भोक् पनि मेट्छ,
तिर्खा पनि मेट्छ,

प्रेम पनि बडाउँछ,
साईनो पनि जोड्छ,
सम्बन्ध प्रगाड बनाउँछ,

सायद, सपना पनि छिट्दा हुन् चियामा.....
सायद, बिपना पनि छिट्दा हुन् चियामा....

आह......त्यसैले त,
पिऊँ-पिऊँ हुन्छ चिया.......।।

Friday, 16 February 2018

सडक अनि म

कवि : बिमल खतिवडा, सिलीगुड़ी

तिमी कालो लम्पसार सडक
म पनि एउटा लम्पसार शिक्षक
वर्षौं देखी तिमी त्यहीं नै छौ
म पनि दसकौं देखी यहीं छु

तिमी देशको जिवन रेखा
म पनि देशको भविष्य रेखा
कति गुडे गाडी र यात्री तिमीमा
त्यती गए विधार्थी टेकी मेरो छातीमा

सबैलाई उनिहरुको लक्ष्यमा पुर्याऊँछौ
म पनि त भविष्यको बाटो देखाउँछु
तर एकै ठाँऊमा लम्पसार रहन्छौ
म पनि त्यही श्रेणी कोठमा रहन्छु

तिमीलाई पनि समयले खाल्डो बनाइदिन्छ
मलाई पनि त अभावका खाल्डाले सताईदिन्छ
भोट आउने बेलामा तिम्रा खाल्डा पुर्छन
मेरा खाल्डा पनि अलिकति नोटले पुर्छन

पर्यावरण दिवसमा मात्र तिमीलाई सफा गर्छन्
मलाई शिक्षक दिवसका दिन मात्र सम्मान गर्छन्
नत्र त वर्षभरि पानको थुकले तिमीलाई थुक्छन्
मलाई पनि त्यसरी नै संधै कटुवचनले थुक्छन्

तिम्रा खाल्डामा मैला पानी भरिरहन्छ
मेरा खाल्डामा पनि अभाव रहिरहन्छ
तर न तिमी त्यहाँ बाट उठेर भाग्न सक्छौ
न नै म मेरो कर्तव्यबाट भागेर जान सक्छु