Writes : लीलाबहादुर छेत्री
डुवर्सको माऊ साहित्यिक संस्था डुवर्स नेपाली साहित्य विकास समिति (डुनेसाविस)-को तत्वावधानमा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक डा.जस योञ्जन ‘प्यासी’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सिक्किम विश्वविद्यालयकी प्राध्यापक तथा वरिष्ठ समाचोलक डा. कविता लामाले कृतिमाथि विशद् समालोचनात्मक अध्ययन प्रस्तुत गरिन्। कार्यक्रमलाई आयोजक संस्थाका अध्यक्ष सिमत मोक्तानले अध्यक्षता गरेका थिए। कार्यक्रममा डुवर्स, सिलगढ़ी, खरसाङ, सिक्किमका साहित्यकार तथा विभिन्न विश्वविद्यालय र महाविद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
समालोचनाको क्षेत्रमा शर्माकृत पुस्तकलाई डा. कविता लामाले एक ‘महत्वपूर्ण कृति’-को रूपमा व्याख्या गरिन्। “भारतीय नेपाली साहित्यमा प्रगतिवादी साहित्यको लेखाजोखा गर्ने काम यस कृतिमा भएको छ। प्रगतिवादी सिद्धान्तमै लेखिएको यो पहिलो भारतेली समालोचना हो”,उनले भनिन्। उनले डुवर्सको साहित्य भारतीय नेपाली साहित्यकै मूलधारको लेखन भएको र यसमा परेका कृतिहरूको मूल्यांकनले डुवर्सलाई उचित न्याय गरेको मन्तव्य पोखिन्। नेपाली साहित्यमा एकाडेमिक, प्रभाववादी, प्रायोजित र सैद्धान्तिक समालोचनाहरूको प्रवृत्ति रहेको उल्लेख गर्दै शर्माका समालोचना प्रद्धति मूलतः सैद्धान्तिक रहेको डा. लामाले निष्कर्ष निकालिन्। “यो पुस्तकले एउटा छुट्टै ठाउँ बनाएको छ। भाषाको मैदानमा उनी निपुण छन्। एक पत्रकार भएर पनि उनी ‘पपुलर राइटिङ’ वा पत्रकारिताको भाषाबाट जोगिएका छन्। उनले समालोचनाको परम्परा भत्काउने काम पनि गरेका छन्”,डा. लामाले कृतिको सकारात्मक पक्ष उल्लेख गरिन्। नेपाली साहित्यमा आलोचना गर्दा गुण र दोष दुवै खुट्याउने प्रवृत्ति कम रहेको बताउँदै उनले शर्माका कृतिमा पनि एकपाखे सैद्धान्तिक हेर्याइको कमजोरी पक्ष रहेको ठहर गरिन्। “खासगरी प्रगतिवादी र एकपाखे दृष्टि दिनु उनको कमजोरी पक्ष हो”,उनको आलोचना थियो। एकाध संग्रहमा कविप्रति समालोचक अलिक उदार भएको पनि उनले बताइन्। “शर्मा एकजना प्रतिबद्ध, इमानदार र विषयगत अध्ययन, चिन्तन र सिद्धान्तपरक समालोचना लेख्ने खाँटी समालोचक हुन्। भारतीय नेपाली समालोचनामा ‘सिर्जना र दृष्टि’ अमूल्य निधिका साथ साहित्य इतिहासको महत् दस्तावेजको रूपमा स्थापित छ”,लामाको निष्कर्ष थियो। नेपाली समालोचनामा स्वास्थ्य आलोचना हुर्कनु पर्ने र स्रष्टा-समालोचकहरूबीच सैद्धान्तिक बहसको खाँचो आवश्यक भएको कुरामा पनि उनले जोड़ दिइन्। वरिष्ठ समालोचक डा.जस योञ्जन ‘प्यासी’-ले भने,“शर्मामा मार्क्सवादी समालोचनाको लोभलाग्दो र तिक्खर अभिव्यक्ति छ। भारतीय नेपाली साहित्यको समालोचना फाँटमा युवा पुस्तालाई प्रतिनिधित्व गर्ने यिनी दह्रा समालोचक हुन्। यिनलाई सशक्त समालोचक भनेर किटान गर्नैपर्छ। यिनीबाट भविष्यमा धेरै आशा गर्न सकिन्छ”,डा.‘प्यासी’-ले भने। डुवर्सले अब कसैको वैशाखी समात्न नपर्ने समेत उनले बताए। “डुवर्सले अब कञ्चनजङ्घातिर हेरिरहनु पर्दैन। राजनीतिले अप्ठारो पारेको छ डुवर्सलाई। अब डुवर्स आफै सक्षम छ सबैकुरा गर्न र भन्न। डुवर्समा साहित्यको क्षेत्रमा मात्र होइन, सबै कुरामा अहिले विकास भएको छ। डुवर्सलाई लिएर स्वार्थपूर्ति गर्नेहरूको पछि डुवर्सवासी कुद्न हुँदैन। डुवर्स आफै केही गर्नका लागि शक्तिशाली र सक्षम छ”,डा.‘प्यासी’-ले ठोकुवा गरे। उनले डुनेसाविस-को आफ्नै भवन हुनुपर्ने अनि साहित्य अकादमीसँग रि-एफिलेशन गरेर डुवर्समा थप साहित्यिक गतिविधिलाई बढ़ावा दिनुपर्ने बताए। समीक्षक रूपेश शर्माले आफ्नो समीक्षा पद्धति प्रगतिवादमाथि आधारित रहेको बताए। उनले भने,“साहित्य, कला र सिर्जनामा समाज र जीवन खोज्नु अनि सामाजिक यथार्थ र द्वन्द्वको पहिचान गर्ने प्रयास मेरो लेखनको धारा हो। संसारलाई बुझ्ने र बदल्ने मार्क्सवादभन्दा अर्को राम्रो वैज्ञानिक दर्शन संसारमा छैन। यसकारण मेरो प्रतिबद्धता प्रगतिवादी लेखनधाराप्रति हो”,शर्माले भने। यस अवसरमा सिक्किम विश्वविद्यालयका शोधार्थी रूद्र छेत्री, उत्तर बंगाल विश्वविद्यालयका विद्यार्थी डिकबहादुर छेत्री, सिलगढ़ी महाविद्यालयका विद्यार्थी अनुष्कर-पुष्कर, परिमल मित्र स्मृति महाविद्यालय, मालकी विद्यार्थी पूजा शर्मा र वीरपाड़ा महाविद्यालयकी सबिता छेत्रीले समालोचक शर्मासँग प्रत्यक्ष प्रश्न राखेका थिए, जसको शर्माले सहज र सरल ढंगमा उत्तर दिए। विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रियाले कार्यक्रमलाई रोचक र रचनात्मक बनाएको थियो। कार्यक्रमका अध्यक्ष सितम मोक्तानले शर्मालाई गम्भीर अध्येता र समाचोलक बताउँदै डुवर्स अब दृष्टिगत लेखनको उच्चतम प्रयोग र नयाँ चेतनाको विकासमा साहित्यमा स्पष्टगरी आउनथालेको जिकिर गरे। कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिले आफ्ना मानार्थ सदस्य र आजीवन सदस्यहरूलाई स्मृति-चिन्हद्वारा सम्मान पनि गरेको थियो।
कार्यक्रममा डुवर्सका वरिष्ठ गायक अजय थापाले दुईवटा क्रान्तिकारी गीत प्रस्तुत गरे भने गोकुल दर्जीले चियाको पातद्वारा कलात्मक रूपले गीतको धुन सुनाएर दर्शकहरूलाई मोहित तुल्याए। डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले स्वागत वक्तव्य राखेको कार्यक्रमलाई निबन्धकार अजय खड्काले परिचालन गरेका थिए। विभिन्न साहित्यकार, डुवर्सका स्रष्टा तथा विकास समितिका सर्जकहरूको निधनमा शोकस्वरूप एक मिनटको मौनधारणबाट कार्यक्रमको थालनी गरिएको थियो।
No comments:
Post a Comment