Thursday, 21 January 2021

दोहोरो नागरिकता प्रकरण - एक भिन्न सोंच



Writes: देव खम्बु राई।

आज बिहानै देखि सोसियल मिडिया, न्युज पोर्टलहरुमा छाएको खबर हो - वर्तमान जि. टि. ए चियरमेन श्री अनित थापाको दोहोरो नागरिकता प्रकरण। श्री अनित थापाको नेपाली नागरिकताको प्रतिलिपि सँगै नेपालबाट सञ्चालन हुने नेपाली न्युज पोर्टल काठमाण्डुखबरडटकम मा आएको यो खबर दार्जीलिङ पहाड़, तराई, डुवर्समा डढेलो सल्केको झैं सल्कियो। 

त्यो  काठमाण्डुखबरडटकम मा छापिएको खबरलाई स्रोत मानेर यता सबै फेसबुक पेजहरुले कपि पेस्ट गरे - श्री अनित थापाको विरोधीहरूले आ आफ्नो स्टाटस यहि विषयमा लेखे। विभिन्न स्थानहरुमा यस बारे पोष्टरिङ भयाे। धेरैले श्री अनित थापालाई ट्रोलका विषय बनाए। कसैले उनलाई "दाई" भनेर सम्बोधन गरे त कसैले उनलाई "जय नेपाल" भन्दै जिस्काए।

अहिलेसम्म सार्वजनिक नभएको श्री अनित थापाको नागरिकताको प्रतिलिपि आज अचानक सार्वजनिक कसरी भयाे? यो घटनाक्रमको पछि कसको हात छ? के यसमा जि.टि.ए क्षेत्रमा भएका विपक्षी पार्टीहरुको हात छ? कि यो विषय बिनय - अनित समुहको गहन सोंच र रणनीतिको एक हिस्सा भएर मैदानमा आएको हो? एक भिन्न सोंच मार्फत चिन्तन मनन गर्नु मैंले यहाँ आवश्यक ठानेको छु।

यो खबर नेपालबाट नै किन?

हाम्राे विस्थापित साथीहरु नेपालमा विस्थापित जीवन व्यतित गरिरहँदा श्री अनित थापाको दोहोरो नागरिकता विषयमा मैंले पनि सुनेको हो। विस्थापितकालमा धेरै साथीहरू नेपालमा आश्रय लिएर बसेका थिए - त्यसबेला यो कुरा सार्वजनिक भएको भए - यो कुरा ती विस्थापित साथीहरुले उजागर गरेका हुन् भनेर किटान गर्न सकिन्थ्यो तर यो विषय अहिले उजागर हुँदा शंका गर्ने ठाउँ प्रशस्त देखिएको छ।

अहिलेको राजनैतिक परिपेक्ष्यमा नेपालमा कसको शाखा सम्बन्धहरू धेरै छन्? भनेर खोज तलास गर्दा श्री अनित थापाको शाखा सम्बन्धहरू नै धेरै भएकाे पाउँछौं। कुनै गुप्त राजनैतिक रणनीतिको परिणाम स्वरुप यो कुरा आज श्री अनित थापाको परिजन बाट नै सार्वजनिक गरिएको त होइन? के हामी यस्तो सोंच्न सक्छौं?

शंका गर्ने ठाउँ!

आज उठेको दोहोरो नागरिकता प्रकरण बिनय - अनित पक्षले सोंच बिचार गरेर खेलेको चाल हो भनेर शंका गर्ने ठाउँ प्रशस्त देखिएको छ। हिजसम्म गोर्खाल्याण्ड म ल्याउन पनि सक्तिन - यो मेरो विषय पनि होइन भन्दै वक्तव्य राख्ने श्री अनित थापा आज यो दोहोरो नागरिकता प्रकरण प्रकाशमा आएपछि विज्ञप्ति दिँदै लेख्छन् - "भारतीय गोर्खा हितको मुद्दा जब जब दार्जीलिङ पहाड़ले आवाज उठाउँछ तब तब गोर्खाको आवाज बन्द गर्न ठुलो राजनैतिक षड्यन्त्रको खेल शुरु हुन्छ।" 

केवल विकासको मुद्दालाई आत्मसात गरेर बंगाल सरकारसँग साठ गाठ गरेका श्री अनित थापा आज अचानक भारतीय गोर्खा हितको कुरा गर्दै विज्ञप्ति मार्फत अघि आएका छन्। के यो दोहोरो नागरिकता आफै सार्वजनिक गरेर श्री अनित थापाले सहानुभूति प्राप्त गर्ने रणनीति बुनेका हुन्? प्रश्न टड्कारो छ।

दोहोरो नागरिकता र विगतको राजनीति!

विगतमा श्री पवन कुमार चाम्लिङ अनि श्री मणि कुमार सुब्बाको दोहोरो नागरिकता विषय पनि धेरै विवाद उत्पन्न भएको हो। जुन समय उनीहरूको दोहोरो नागरिकता विषय चर्चा चुलिएको थियो त्यो समय उक्त विवादबाट उनीहरूले राजनैतिक फाइदा पाए। सत्य यो हो कि हामी भारतीय नेपालीहरू सबैको कोही न कोही आफन्त नेपालमा बसोबास गर्दछन। हामी सबैको पैतृक थलो नेपाल नै हो भन्दा कुनै आपत्ति नहोला यसर्थ यसरी बेला बेला उठ्ने दोहोरो नागरिकता प्रकरणले हामीमा सुसुप्त अवस्थामा रहेको पैतृक थलो प्रतिको माया अगाडि ल्याइदिन्छ र जसको विषयमा विवाद उत्पन्न भएको छ त्यो व्यक्तिलाई सहानुभूति प्राप्त हुँदछ। आज श्री अनित थापाले त्यो सहानुभूति बटुल्ने राजनीति पाे गरेका हुन् कि?

आज श्री अनित थापाको जि.टि.ए चियरमेन चौकी आफै धरापमा छ। बङ्गालको मुख्यमंत्री उनीहरु देखि दिन दिनै पर पर भएकाे अवस्था छ - यदि यो विषयलाई लिएर बंगाल सरकारले उनलाई पदच्युत गरे सहानुभूति कसले पाउँछ? हामीले सोंच्नु पर्दैन र? २०२१ को चुनावमा यस विषयमा कतिको प्रोपागान्डा हुनसक्छ? घोरिनु उचित होइन र? अहिले आएर श्री अनित थापाको दोहोरो नागरिकता सार्वजनिक हुनु श्री बिमल गुरुङलाई फाइदा हुनु हो? अन्य राजनैतिक दललाई फाइदा हुनु हो? 

एक भिन्न सोंच मार्फत यति त चिन्तन मनन गर्न सक्छौं नि होइन र पाठकवृन्द?

No comments:

Post a Comment