Sunday, 12 February 2017

पश्चिम बङ्गाल दमाई सांस्कृतिक एवं विकास बोर्डद्वारा  डुवर्सलाई विशेष महत्व दिइने

Writes : लीला बहादुर छेत्री

पश्चिम बङ्गाल दमाई सांस्कृतिक एवं विकास बोर्डद्वारा  डुवर्सलाई विशेष महत्व दिइने अडान बोर्ड चेयरमेन गङ्गासागर पञ्चकोटीले पुन: दोहोर्याएका छन्।

बोर्ड घोषणापूर्व र घोषणापछि  डुवर्समा आइरहेका पञ्चकोटीले गत आइतबारको दिन डुवर्सको चाल्सामा सम्पन्न एक समारोहलाई सम्बोधन गर्दै डुवर्समा बसोवास गर्ने दमाईहरूको आर्थिक स्थिति अन्य इलाकाको तुलनामा बढी समस्यामा रहेको कारण बोर्डको विभिन्न विकासमूलक कार्यक्रमहरूमा डुवर्सलाई विशेष महत्व दिइने बताए।

समारोहलाई सम्बोधन गर्दै च्येरम्यान पञ्चकोटीले भने, "राज्यसरकारले दमाईहरूलाई आफ्नो सामाजिक ,शैक्षिक क्षेत्रमा विकास गर्ने अवसर पाऊन भनेर बोर्ड दिइएको हो।

हामीले नमागेको भए यो पाइने थिएन। सरकारले दिएको अवसरलाई कसरी सामाजिक विकासमा उपयोग गर्ने भन्नेबारे नयाँ सोंच लिएर व्यवस्थित ढङ्गमा काम गर्दै अघि बढ्नु आजको  आवश्यक्ता हो। यस दिशामा हामी सफल हुनेछौं।

" उनले नवगठित कालेबुङ जिल्लाको प्रसङ्ग झिक्दै भने,"कुनै एक नेताले मेला ग्राउण्डबाट कालेबुङ जिल्ला बनाउन भूटानलाई सोध्नुपर्छ भन्थे।पर्सि त्यही ग्राउण्डबाटै मुख्यमन्त्रीद्वारा जिल्ला घोषणा गरिने छ।

जनावाज र जनाकाङ्क्षा हेरेर सरकारले कुनै पनि निर्णय लिनेगर्छ।माग गर्नेहरूको एकता र सङ्ख्याले पनि यसमा विशेष अर्थ राख्छ।बोर्डलाई अझ दह्रिलो बनाउन कोषको माग गर्नुपर्दछ।

हाम्रो मागको निम्ति सङ्ख्या देखाउन जरुरी छ।कालेबुङको पर्सिको मुख्यमन्त्रीको जनसभामा हामीले व्यापक उपस्थिति देखाउनु पर्छ।"
    
दमाई विकास समिति मेटली-नगरकट्टा ख्ण्डको आयोजनामा गत आइतबार चाल्सामा सम्वर्द्धना कार्यक्रम विशेष समारोहबीच सम्पन्न भयो। समारोह पश्चिम बङ्गाल दमाई सांस्कृतिक एवं विकास बोर्डका चेयरमेन गङ्गासागर पञ्चकोटी प्रमुख आतिथ्यमा सम्पन्न भयो।

रुस्तम परियारद्वारा सञ्चालित समारोहलाई जीतबहादुर खतिवडाले अध्यक्षता गरेका थिए।बोर्डका सदस्यहरू लगायत डुवर्सका विभिन्न इलाकाका दमाई विकास समिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

भीमराव अम्बेडकरको प्रतिकृतिमा दीप प्रज्वलन गरी आरम्भ गरिएको समारोहमा दमाई समाजको विकासमा योगदान पुर्याउने दिवङ्गत एसएन लावरको स्मरणमा मौनधारन  गरियो।त्यसपछि कैलास कार्कीढोलीले स्वागत मन्तव्य गरे।

डुवर्सका कलाकार गकूल लावरले रुखको पातद्वारा स्वागत गीत प्रस्तुत गरे।लोक परम्परामा आधारित नृत्यहरू आकर्षण रहेको समारोहमा गकूल लावरद्वारा पातद्वारा निकालिएको  धून अनि दीपेन परियारद्वारा प्रस्तुत गीत थप आकर्षण रहेको थियो।

समारोहलाई बोर्डका सदस्यहरू लगायत दमाई विकास समितिसित संलग्न व्यक्तिहरूले सम्बोधन गरे।समारोहको अन्त्यमा बोर्ड च्येरम्यान गङ्गासागर पञ्चकोटीलाई आयोजक पक्षबाट सम्वर्द्धना जनाइयो।

पञ्चकोटीलाई सम्मान स्वरुप अङ्गवस्त्र, प्रशस्ती-पत्र समारोहाध्यक्ष.जीतबहादुर खतिवडाको बाहुलीबाट अर्पण गरियो।सम्मान कार्यक्रमपछि  सम्मानित पञ्चकोटीले समारोहलाई सम्बोधन गरे।

सम्बोधन अवधि उनले विकास बोर्डद्वारा दमाईहरूको सामाजिक,शैक्षिक विकासमा गर्नसकिने कार्यक्रमहरू,बोर्डको कार्यक्षमता ,कोष आदिबारे बताए भने बोर्ड गठनक्रममा दार्जीलिङ ,खरसाङ र तराईसितै डुवर्सले निर्वाह गरेको भूमिकालाई प्राथमिकताका साथ उल्लेख गरे।

डुवर्सको आर्थिक स्थिति चियाउद्योगमाथि निर्भर रहिआएको अनि यस उद्योगको खस्किदो स्थितिलाई ध्यानमा राखेर बोर्डले प्रायोजना गर्ने कौशल विकास कार्यक्रममा डुवर्सलाई विशेष महत्व दिइने बताए।

दमाईहरू सामाजिक रुपमा वर्षौंदेखि जातगत भेदभावको शिकार हुँदैआएको र यसको प्रमुख कारण खोजेर त्यसको समाधानतिर लाग्नुपर्ने आह्वान पनि उनले गरे।

राज्यमा प्राय: डेढ लाख दमाईहरू रहिआएको कारण बोर्डद्वारा समानान्तर रुपमा विकासमूलक कार्यक्रम अघि बढाउँदै लानुपर्ने  चुनौती रहेको बताउँदै उनले कालेबुङ जिल्लाको घोषणा गर्न आउने क्रममा मुख्मन्त्रीलाई अनुगृहित दमाईहरूले भव्य स्वागत गर्नुपर्ने जनाए।

आगामी मङ्गलबारको जनसभामा व्यापक रुपमा उपस्थित हुने आह्वान पनि सम्बोधन अवधि गरे।"तपाईँहरूसित कुरा  गर्न आएको छु",पञ्चकोटीले भने, "हामीसँग सरकार छ।बोर्ड छ।नयाँ सोंच ,नयाँ समीकरण तयार पारेर अघि बढ्नुपर्छ।" सम्बोधन अवधि मुख्यमन्त्री ममता ब्यानर्जीको खुलेर प्रशंसा गरे।

#TheTimesDooars

No comments:

Post a Comment