Tuesday, 14 February 2017

‘कालेबुङ जिल्ला जिन्दावाद, दिदीलाई धैरै धन्यवाद’ –को नाराले गुञ्जियो कालेबुङ शहर .... आज बङ्गालको 21 औँ जिल्लाको रूपमा कालेबुङ अस्तित्वमा आउने


डी के वाइबा, कालिमन्युज, 13 फरवरी। मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ जिल्लाको औपचारिक उद्घाटन गर्नका निम्ति कालेबुङ आइपुगेकी छन्। बागडोगरा हवाई अड्डाबाट उनी सडकमार्ग भएर कालेबुङ 5:45 बजे आइपुगेकी हुन्। मुख्यमन्त्रीको आगमणलाई लिएर कालेबुङमा कठोर सुरक्षा व्यवस्था गरिएको छ भने कालेबुङ जिल्ला गठनको खुशीयालीमा उनलाई कालेबुङमा भव्यताको साथ स्वागत जनाइएको थियो। विभिन्न जातीय सङ्गठन, तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूको उपस्थितिमा ‘कालेबुङ जिल्ला जिन्दावाद, दिदीलाई धैरै धन्यवाद’ नारा लगाइएको थियो।
पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्लाको नाउँ भोलि 14 फरवरीका दिन अङ्कित हुनेछ। प्रारम्भका तीनवटा खण्ड, 42 वटा ग्राम पञ्चायत, तीनवटा पुलिस थाना, अनि एउटा नगरपालिकालाई लिएर कालेबुङ जिल्ला सञ्चालनमा आउनेछ। नयाँ अस्तित्वमा आउन लागेको कालेबुङ जिल्लाको क्षेत्रफल 1044.43 वर्गफिट रहनेछ भने लगभग 2 लाख 50 हजार जनसङ्ख्या रहेको कालेबुङ जिल्ला हुनेछ। छिमेकी राज्य सिक्किमदेखि भोटाङ देशसँग सिमाना जोडिएको कालेबुङ जिल्ला गठनको प्रस्तावलाई पश्चिम बङ्गाल सरकारको क्याबिनेटले 18 दिसम्बर 2015 का दिन पारित गरेको थियो। 18 सितम्बर 2015का दिन गोर्खा जनमुक्ति मोर्चाबाट राजीनामा दिएर स्वतन्त्र विधायक बनि बसेका वर्तमान जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले छुट्टै कालेबुङ जिल्लाको मागलाई अघि बढाउने कार्य गरेपछि कालेबुङ जिल्लाको मागले जोड पक्रेको थियो।
सोहि क्रममा डा. हर्कबहादुर छेत्रीकै नेतृत्वमा 2 अक्टोबर 2015 का दिन जिल्ला माग गठन समिति गठन गरेर कालेबुङ जिल्लाको मागलाई अघि बढाउने कार्यकै अवधी मुख्य मन्त्री ममता ब्यानर्जीले आफ्नो पहिलो पाँच वर्षको कार्यकाल समापन हुन लाग्दा 18 दिसम्बर 2015 का दिन कालेबुङ जिल्ला गठनको प्रस्तावलाई पारित गर्ने कार्य गरेको हो। पछिबाट दोस्रोचोटि उनी बङ्गालको सत्तामा आएर मुख्यमन्त्री बनेपछि कालेबुङ जिल्ला गठनको कार्यलाई साकार बनाउने दिशामा पहल गरेकी हुन्।
अन्तमा कोलकोता उच्च न्यायलयले कालेबुङ जिल्ला गठनको प्रस्तावलाई स्वीकार गर्दै अन्तिम मोहार लगाएपछि भोलि 14 फरवरी 2017 देखि कालेबुङ जिल्ला बङ्गालको 21 औँ जिल्लाको रूपमा अस्तित्वमा आउनेछ भने जिल्लाको कार्य पनी सुरु हुने भएको छ। नयाँ जिल्लाको रूपमा अस्तित्वमा आउन लागेको प्रस्तावित कालेबुङ जिल्लामा अहिलेघरी अन्तिम तयारी जोडतोडले चलिरहेको छ भने जिल्लालाई अस्तित्वमा ल्याउने कार्यको उद्घाटन गर्नका निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी आज साँझ कालेबुङ आइपुगेकी हुन्।

गोजयुमोले जनायो आभार
कालेबुङ जिल्ला गठनलाई लिएर गोर्खा जनमुक्ति युवा मोर्चाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद ज्ञापन गरेको छ। जीटीएको सम्झौता अनुसार कालेबुङ जिल्ला गठन गठनभएको दाबी गर्दै कालेबुङ जिल्ला गठनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई समेत लाभ पुग्ने दाबी गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ शाखाका अध्यक्ष बारूद थापाले दाबी गरेका छन। बारूद थापाले एक पत्रकार सम्मेलन आयोजना गरेर मुख्यमन्त्रीलाई धन्यवाद दिँदै ‘कालेबुङ जिल्लालाई पूर्णतय जिल्लाको मान्यता दिनुपर्नेछ’ भने।

जन आन्दोलन पार्टीको धन्यवाद
कालेबुङ जिल्ला अस्तित्वमा ल्याउने कार्य गरेवापत मुख्यमन्त्री ममता ब्यानर्जीलाई जन आन्दोलन पार्टीले पनि धन्यवाद दिएको छ। जाप टाउन कमिटिका संयोजक प्रदिप छेत्रीले जिल्ला गठनको श्रेय जापले लिन नखोजेको भन्दै जिल्ला गठनले सम्पूर्ण कालेबुङवासीलाई लाभ पुग्ने दाबी गरे। उनीहरूले जिल्ला गठनको खुशीयालीमा जनतालाई भोलि मिठाई वितरण गरेर खुशीयाली प्रकट गर्ने पनि बताएका छन्।

भोजपुरी बिकास सङ्गठनको बधाई
कालेबुङ जिल्ला गठनको निम्ति हिल भोजपुरी विकास सङ्गठनले पनि मुख्यमन्त्री ममता ब्यार्जीलाई धन्यवाद दिएको छ। आज एक पत्रकार सम्मेलनको आयोजना गरेर भोजपुरी सङ्गठनका कार्यकर्ताहरूले कालेबुङ जिल्ला गठनले सबैलाई लाभ पुग्ने बताए। यसक्रममा आफुहरू जिल्ला गठनको औपचारिक कार्यक्रममा सङ्गठनले सहभागीता जनाउने पनि बताएको छ।

No comments:

Post a Comment