Thursday, 1 December 2016

कालेबुङ जिल्ला पहिलो वैशाखदेखि सञ्चालनमा आउने वर्तमान कालेबुङ महकुमानै जिल्लाको सिमा हुनेछ – जिल्लापाल

डी.के.वाइबा, कालिमन्युज,कालेबुङ 1 दिसम्बर। पहिलो वैशाखदेखि दार्जीलिङ जिल्लाबाट छुट्टिएर कालेबुङ जिल्ला पूर्णरूपमा सञ्चालनमा आउनुपर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले प्रसाशनलाई निर्देश दिएको छ। जसको कारण जिल्ला प्रशासनले कालेबुङ जिल्ला गठनलाई लिएर प्रक्रिया युद्धस्तरमा आरम्भ गरेको छ।
सोहिक्रममा कालेबुङ जिल्ला गठनलाई लिएर आगामी 5 दिसम्बरका दिन मुख्यसचिव वासुदेव ब्यानर्जी अनि पीडब्ल्युडी विभागका सचिव कालेबुङ आएर जिल्ला प्रशासनिक बैठक गर्ने भएको छ। यसबारे आज दार्जीलिङ जिल्लापाल अनुराग श्रीवास्तवले कालेबुङ भ्रमण अवधी जानकारी दिएका हुन्।
कालेबुङ जिल्ला गठनका निम्ति कोलकोता उच्च न्यायालयले अन्तिम स्वीकृती दिएपछि आज दार्जीलिङ जिल्लापाल अनुराग श्रीवास्तव, जिल्ला पुलिस अधिक्षक अमित पी.जावल्गी, अतिरिक्त पुलिस अधिक्षकले कालेबुङ आएर भ्रमण गरी जानकारी लिएका छन्। उनीहरूले यसक्रममा कालेबुङ महकुमा अधिकारीको कार्यालय, कालेबुङ न्यायालय, पीडब्ल्यु डी कार्यालय आदिको भ्रमण गरेर जानकारी लिएका छन्।
‘कालेबुङ जिल्लालाई आगामी पहिलो वैशाखदेखि पूर्णरूपले सञ्चालन गर्नुपर्ने मुख्यमन्त्रीले निर्देश दिएकी छन्। यसक्रममा कार्य अघि बढीरहेको छ’ जिल्लापाल अनुराग श्रीवास्तवले भने। यसक्रममा उनलाई नयाँ गठन हुने भनिएको कालेबुङ जिल्लाको सिमाङ्कनबारे प्रश्न गर्दा ‘कालेबुङ महकुमाको जुन सिमाङ्कन छ त्यही सिमाङ्कनभित्र कालेबुङ जिल्ला गठन हुनेछ’ भनि सिमाङकनबारेको अन्योलतालाई पनि स्पष्ट पारेका छन्।
‘चुनाउ आयोगको जुन गाइडलाइन हुन्छ त्यसलाई तोड्न सकिँदैन। यसकारण अहिले कालेबुङ महकुमा क्षेत्रको जुन सिमाङ्कन छ त्यहीँ सिमा भित्र कालेबुङ जिल्ला रहनेछ’ जिल्लापाल अनुराग श्रीवास्तवले अझ भने। उनले कालेबुङ जिल्ला गठन भएपछि वर्तमान महकुमा अधिकारीको कार्यालयलाई जिल्लापाल कार्यालय, अतिरिक्त पुलिस अधिक्षकको कार्यालयलाई जिल्ला पुलिस अधिक्षक कार्यालय अनि कालेबुङ न्यायालयलाई जिल्ला न्यायालयको रूपमा स्थापित गरिने पनि जानकारी दिएका छन्। उनले कालेबुङ जिल्ला गठनको प्रारम्भिक क्रममा अहिलेघरी प्रशासनिक रूपमा विस्तृत निरिक्षण गरिने काम भइरहेको जनाउँदै जिल्ला गठनका निम्ति आवश्यक जमीन अनि संसाधनको निरिक्षण गरिने कार्य भइरहेको बताएका छन्।
अर्कोतिर दार्जीलिङ जिल्लापालसँगै भ्रमणमा आएका जिल्ला पुलिस अधिक्षक अमीत पी. जवालगीले कालेबुङ जिल्ला अस्तित्वमा आएपछि नयाँ जिल्लाले पाउने सबै सुविधाहरू पाउने बताएका छन्। ‘नयाँ जिल्ला गठन भएपछि कालेबुङमा पुलिस लाइन बनिन्छ। जिल्लाको निम्ति चाहिने पर्याप्त धेरैवटा पुलिस स्टेसनहरू निर्माण हुन्छ। पछिबाट खण्डहरूको बढोत्तरिसंगै पुलिस बल बढाइनेछ’ जिल्ला पुलिस अधिक्षक अमित पी. जावल्गीले भने।
‘प्रत्येक जिल्लामा हुने स्पेसल पुलिस दल कालेबुङमा हुनेछ। नयाँ जिल्ला निर्माणपछि मोटर ट्रान्सपोर्ट, आर.टीओ. अफिस साथै पुलिस बललाई प्रशिक्षण दिने सम्पूर्ण संसाधनको निर्माण यहाँ गरिनेछ’ पुलिस अधिक्षक अमित पी. जावल्गीले अझ भने।

No comments:

Post a Comment