Tuesday, 13 December 2016

बहुप्रतिभाशाली - बहुआयामिक व्यक्तित्वका धनी हाम्रा अति आदरणीय गुरूवर स्व° सुरेन्द्र पोद्दारमा सश्रद्धा समर्पित छ -- अजम्बरी फूल


       - उषा किरण

यायावर जीवनका फोटोकपी च्यापेर
मुक्तिको घर खोज्दै हिँड़िरहने मान्छेको
अनादत कविता होइन्,
एक अमर्त्य व्यक्तिको कविता बोल्छु म
यस मुहूर्तमा....

औंसीको रातमा डुबिरहने गाँउ- बसेरो
बाह्रै मास बित्पात झेल्ने कमान र
फ्यूज्ड उडेको शहरको परिचय
बाट्दिन म यहाँ
यस मुहूर्तमा.....

ठूलो माछाले, सानो माछालाई निल्ने
पाप र धर्मको इतिवृत्ति
वा
तुहिएका मुर्दा अनुहारहरूलाई
अझ तर्साउने बुख्याँचाहरूको कविता
कहदिनँ म
यस मुहूर्तमा ......

कतै महिला शौचालयमा
कतै मैला ड्वाङ, झोडामा
सड़कको कुनै पेटीमा
अधमरो छाडिएका शिशुको
विभत्स चित्र कोर्दिन म यहाँ
यस मुहूर्तमा.....

बलाकृत शिशु
शोषित नानीहरू
मण्डीमा बेच्न राखिएका बालाहरूको
चित्कार र आँसुको मूल्य तोक्दिन म यहाँ
यस मुहूर्तमा.....

बरू
आज यहाँ
पानी जस्तै सङ्ग्लो
दुध जस्तै पोशिलो
आकाश जस्तै फाँटिलो र
धरती जस्तै उदात्त
आफू बाँचेको सिङ्गै युगलाई
निरोगी बनाउन खोज्ने
एउटा शिल्पीकारको कथा भन्छु म
यस मुहूर्तमा....

एउटा सौम्य फूलको
सत्य कहानी कहन्छु म
आज, जो यस भीड़मा छैनन्
यस शहरमा छैनन्
तर छन्......
यही हावामा
यही माटोमा
मञ्जरी जो फुलिरहेछन्
अजम्बरी भएर
सर्वत्र वासना छर्दै
हाम्रो मनाकाशभरी...
हाम्रो नयनभरी...
ती अनाकृतलाई अनुभूत गरिरहेछौ
तिमीले पनि.....
मैले पनि.....
यस मुहूर्तमा /

कालो कोट
सेतो कमीज
रातो टाई र
तीन कोणीय पट्याइएको सेतो रूमाल
कोटको माथिल्लो गोजीमा थपक्क
ललाटमा सेतो विभूतिको तिलक
ओठमा निश्छल मुस्कान
अनि साना-ठूला सबैका अघि
अभिवादनका निम्ति उठेका
सहिष्णुताका हातहरू....
साई राम! साई राम! साई राम!

फूल मात्र किन र!
मान्छे पनि यसरी
फूल भएर फुल्दा रहेछन् त!
साँच्चै न हो-
फूलको आँखामा फूलै संसार!
यसो त जिउनलाई यहाँ सबै जिउँछन्
गुनासोहरूको टालो टाल्दै
दुःख र विरहको गीत गाउँदै
करले कि रहरले
कोही जिउँदै मर्छन्
कोही बाँच्नलाई सङ्घर्ष गर्दै मर्छन्
तर,
जीवनको अर्थ खोतल्नेले
आयतन छुँदै छुँदैनन्
सुख र दु:खका सीमाहरूको,
उ हर घडी बाँच्दछ
अनि सबैको निम्ति बाँच्दछ,
प्रेम र सेवाको निम्ति बाँच्ने
सँधैं मुसुक्क हाँस्ने
सत्यका पथगामी तिमी.....

तिमी एकलो व्यक्ति भएर कहिल्यै बाँचेनौ
तिमी समाज भएर बाँच्यौ
तिमी जाति भएर बाँच्यौ
तिमी देश भएर बाँच्यौ
मीठो फल दिने वृक्ष भएर बाँच्यौ
सदैव अँध्यारोमा प्रकाश छर्ने
अरणी भएर बाँच्यौ!

तिमी गुरू, पिता, अभिभावक भएर बाँच्यौ
पथप्रदर्शक, आचार्य, मौलवी, लामा भएर बाँच्यौ
तिमी मित्र, सहचर,सारथी भएर बाँच्यौ
हरियाली प्रकृति भएर बाँच्यौ
मगमगाउने कस्तुरी भएर बाँच्यौ
सत्यका गवेषक
ईश्वरका अनुयायी
उत्कृष्ट मानवको परिचय भएर बाँच्यौ!

नित्य बाँचिरहनेछौ हरेक मुहूर्तमा
अञ्जली भरी- भरी श्रद्धाञ्जलीहरूमा
बाँचिरहनेछौ तिमी
हर्दय- ह्रदयमा
अजम्बरी फूल भएर!!

No comments:

Post a Comment