डीएसए को चुनौती पार गरी कालेबुङ पुलिस क्वार्टर फाइनलमा
सुकना, १७ जनवरी (निसं): म्याचकोदुवै हाफमा प्राप्त भएको मौकाहरूलाई काममा लगाउँदै कालेबुङ पुलिसले आरामदायक जीतको साथ सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणको क्वार्टर फाइनलमा स्थान बनायो । सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) को सहयोगमा जारी यस प्रतिष्ठित टुर्नामेण्टअन्तर्गत दर्शकहरूका उत्साहजनक उपस्थितिबीच बुधवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले दलसिङ्गपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) लाई २-० ले पराजित गर्यो। कालेबुङ पुलिसले म्याचको दुवै हाफमा गोल दर्ता गर्यो। विजेता टोलीबाट सप्तक शेर्पाले ४०औं र रोहन (मेस्सी) तामाङले ६९औं मिनटमा गोल गरे। म्याचमा डीएसए को टोलीलाई असल स्ट्राईकरको कमीले सतायो अनि टोलीले गोल गर्ने केही असल मौकाहरू गुमायो। विजेता टोलीका मीडफिल्डर रोहन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने तेस्रो प्री क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच जम्काभेट हुनेछ। टुर्नामेण्टमा उत्तर बङ्गाल, कलकत्ता, सिक्किम, उत्तर-पूर्व भारत, नेपाल र भूटानका २० वटा शीर्ष टोलीले हिस्सा लिएको छ। संसोधित कार्यक्रम अनुसार टुर्नामेण्टको दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।
टुर्नामेण्टमा विजेता हुने टोलीलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँ अनि उपविजेता हुने टोलीलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहने आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव नेहाल गिरीले बताएका छन् । साभार: हिमालय दर्पण
No comments:
Post a Comment