ए ! दाज्यू, उठ ! धान कुट्नु पर्छ
घान हाॅले है मैलै -उठ ।
भन्थिन् मेरी आमा!
चार बजे बिहानै उठिन्थ्यो कठ्याङग्रिने जाडोमा सबेरै।।
ट्वाङ ट्वाङ ढिकीको आवाज कानभरी ।।
आज ढिकी पनि छैन्, आमा पनि छैनन्
धानबारी खलेगरोमा रूजीभिजी काम गर्ने
मेरो मेहनती पिता पनि छैनन् ।।
ढिकी पनि छैन, खलेगरो ,धान-खेत पनि छैन।।
एक्ले ढेडु जस्तो आज घरमा एक्लो भईयो
घरभरी भाई बहिनाहरू ,कहिले बाझो ,कहिले रमाईलो
आॅधीमा बालुवाको थुप्रो तहसनहस भए झै छरपस्ट भए सबै ।।
हेर्छु नित्य आँगनको डीलवाट म--
मकै बारी, कोदोवारी ,धानबारी
आमाको कोठेवारी, हलगोरू बाॅधिने गोठ, माली गाईको थला- बाख्राको खोर
डिकीसार, दाउरा कटेको सबै खण्डहर भए ।।
चौडादार सडक बनियो खलेगरोवाट -प्रगति भो भन्छन् नयाॅ पुस्ताकाहरू।।
गाउॅ सुनसान छ -- सबै पलायन भए, बन्धु -वंशहरू ।।
घरको माथि आमाको मसियाम, करेला, पिँडालु ,सकरखण्ड फल्ने घुमाउने डाँडो ,होम स्टे पो भा 'छ ।
मधिसे बन्धुहरू छन् डाॅडाभरी, हाम्रो भाईहरू गाउँका कुखुरो ,निगुरो ,सिमरायो इत्यादि खोजेर होम स्टेमा मालिकलाई पुर्याउॅनु ब्यस्त छन् ।।
ट्वाङ ट्वाङ कुटिने ढिकी, होम स्टेको बाहिर सजाएर राखिएको छ ।
भतिजोहरू सोध्छन् मलाई--बड़ावाबा यो के हो भनेर ढिकी देखाउदै ।।
म भनि दिन्छु ठट्टा गर्दै - यो हजुर 'बा ,हजुर 'मा को जमानाको धान पेल्ने मेसिन,
कोदो, फापर फल्ने (भूस उप्काउॅने ),गुन्द्रुक बनाउॅने साग कुट्ने
दशैँमा धानको चिउरा कुट्ने, सेलरोटीको पिठो कुट्ने यो हाम्रो जिजु हजुर 'बाहरूले आविष्कार गरेको मेसिन हो! !
मलाई हेरेर -निच्च हासें - भतिजोहरू ।।
कवि : अर्जुन शर्मा /गीतखोला
No comments:
Post a Comment