बंगला भाषा बाध्यतामूलक अध्ययन एवं नेपाली भाषामाथि अतिक्रमण- लाई लिएर एउटा समीक्षा सभा आज गोरखा रङ्गमञ्च भवनमा पहाड़का विभिन्न विद्यालय, महाविद्यालयका शिक्षक-शिक्षिकागण, भाषासित सम्बन्धित सघं-संस्थाहरूका प्रतिनिधिवर्ग, विशिष्ट साहित्यिक व्यक्तित्व अनि सैयौंको संख्यामा भाषाप्रेमी गोरखाहरूमाझ सम्पन्न गरियो।
आजको समीक्षा सभामा सहभागी जनाएका सबै शैक्षिक संस्थान, साहित्यिक सघं-संस्थाका प्रतिनिधिवर्ग एवं विशिष्ट साहित्यिक व्यक्तित्वहरूले पहाड़मा बंगला भाषाको बाध्यतामूलक अध्ययन गरिनुपर्ने प्रस्ताव बंगाल सरकारको एउटा षड़यन्त्र रहेको ठहर गर्दै सबैपक्षबाट यसको घोर विरोध रहेको जनाइयो। बंगला भाषामाथि पहाड़वासीको सम्मान भाव रहेको भएतापनि उक्त भाषाको बाध्यतामूलक अध्ययन गरिनुपर्ने फरमान सोझै नेपाली भाषामाथि अतिक्रमण रहेको हुनाले उक्त प्रस्तावलाई कुनै हालतमा पनि स्वीकार नगरिने र सबै नेपालीभाषी गोरखाहरूले एकजुट भएर विरोध गर्ने विषयमा पनि आपसी सहमति बनाइयो।
आजको सभामा पारित प्रस्ताव अनुसार, बंगला भाषालाई ऐच्छिक रूपमा अध्यय गर्नलाई कुनै आपत्ति छैन। तर बाध्यतामूलक अथवा अनिवार्यरूपमा बंगला भाषा अध्ययन गरिनुपर्ने राज्य सरकारको फरमान भने कुनै हालतमा स्वीकार्य हुनेछैन। किनभने यसले भाषा अनि जातिको आधारमा उठिरहेको गोरखाल्याण्डको मुद्दालाई भविष्यमा नकरात्मक असर पार्न सक्छ अनि पहाड़मा बंगलाभाषीहरू बहुसंख्यकमा रहेको आधिकारीक पुष्टि गरेर राज्य सरकारले गोरखाल्याण्डको मुद्दालाई निमिट्यान्न पार्न पनि सक्छन्। उक्त भित्री षड़यन्त्रलाई बुझेर पनि सबैजना एकजुट भएर तीव्र विरोध प्रदर्शनी गरिनेछ।
भारतीय संविधानको आठौं अनुसूचिमा मान्यताप्राप्त नेपाली भाषामाथि भइरहेको उक्त अतिक्रमणको कुनै हालतमा सहन गरिनेछैन। यसैले आज समाजका विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरूको उपस्थितिमा मातृभाषाको सुरक्षा अनि सम्मानको निम्ति कतिपय भावी कार्यक्रमहरू पनि तयार पारिएको छ।
भाषा अतिक्रमणमाथि आजको सभामा लिइएको घोषणाहरू:
1. सम्पूर्ण दार्जिलिङ पहाड, सिलिगुडी तराई अनि डुवर्समा आगामी 1 जुनदेखि प्रतिवाद स्वरूप सडक गाउँ शहर बजारमा कालो झण्डा लगाउनुपर्नेछ ।
2. दार्जिलिङ पहाडका सम्पूर्ण स्कुल कालेजहरू 1 र 2 जुन (48 घण्टा ) बन्द रहने छ ।
3. जुन 4 तारिखदेखि 8 तारिख सम्म प्रतिवाद जुलुस सम्पूर्ण पहाडभरि गरिनेछ ।
No comments:
Post a Comment