Wednesday, 17 July 2024

शहीद बृजेश थापालाई बेङ्गडुबीमा श्रद्धाञ्जलि दिईयो-शुक्रवार सैनिक सम्मानसहित तिनको अन्तिम संस्कार गरिने

शहीद बृजेश थापालाई बेङ्गडुबीमा श्रद्धाञ्जलि-शुक्रवार सैनिक सम्मानसहित तिनको अन्तिम संस्कार गरिने
सोमवार राति जम्मू-कश्मीरको डोडा जिल्लामा आतङ्कवादीहरूसित भएको भिड़न्तमा दार्जीलिङ जिल्लाका गिङ चियाबारी, लेबोङ निवासी कप्तान बृजेश थापाले वीरगति प्राप्त गरेका थिए। आज २ बजी तिनको पार्थिक शरीर दिल्लीबाट विशेष विमानमार्फत बाघडुग्रा हवाईअड्डा ल्याइयो। त्यसपछि शहीद जवान बृजेश थापाको पार्थिव शरीर बेड्गडुबी सेना छाउनीमा लगियो। त्यहाँ शहीद जवानलाई अन्तिम श्रद्धाञ्जली दिइयो। त्यसै क्रममा शहीद जवान बृजेश थापाका पिता भुवनेश थापा,आमा नीलिता थापा र दिदी निकिता थापाले अश्रुपूर्ण भावमा तिनलाई श्रद्धाञ्जली दिए। भावुक हुँदै तिनीहरूले भारत माताको जय नारा पनि लगाए। यस अवसरमा शहीद जवानका आमा नीलिमा थापाले पत्रकारहरूसित कुराकनी गर्दै भनिन्, मेरो छोराले देशको रक्षा गर्दै वीरगति प्राप्त गरेका छन्। मेरो अर्को छोरा भएको भए सेनामै पठाउने थिएँ। एकजना छोरालाई सेनामा पठाउने तिनले प्रत्येक परिवारलाई आह्वान पनि गरिन्। तिनले भनिन्, आज हाम्रो सैनिकहरूले देश सीमाको रक्षा गरेकै कारण हामी ढुक्कसँग बस्न पाइरहेका छौं। शहीद जवानलाई श्रद्धाञ्जलि चढ़ाउन दार्जीलिङ समष्टिका सांसद राजु विष्ट, जीटीएका प्रमुख कार्यपाल अनित थापा, हिल तृणमूल अध्यक्ष शान्ता छेत्री, जिल्लापाल प्रीति गोयल, पुलिस अधीक्षक प्रवीण प्रकाश, दार्जीलिङ वेल्फेयर सोसाइटीका हर्षबर्द्धन शृङ्गला साथै विभिन्न सङ्घ-संस्था लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। शहीद जवान बृजेश थापाको पार्थिव शरीर आज बे‌ङ्गडुबी छाउनीमा राखिनेछ। बिहीवार बिहान तिनको पार्थिव शरीर दार्जीलिङको लेबोङस्थित गिङ चियाबारी १ बजी पुऱ्याइने परिवार सूत्रले जनाएको छ। सड़कको दुई किनारमा स्थानीयहरूले खदामाला चढ़ाई तिनलाई अन्तिम बिदाइ जनाउनेछन्। सूत्रअनुसार तिनको पार्थिक शरीर केही क्षणका लागि खरसाङको रेलवे स्टेशन तथा घुम स्टेशनमा श्रद्धाञ्जली चढ़ाउनेहरूको निम्ति राखिनेछ। त्यसपछि सोझै तिनको जन्मथलो लेबोङस्थित गिङ चियाबारी लगिनेछ। शुक्रवार सैनिक सम्मानसहित तिनको अन्तिम संस्कार गरिने परिवार सूत्रबाट थाहा लागेको छ।

No comments:

Post a Comment