Tuesday, 24 January 2017

नेपाली नाटकमा प्रयोग खोई?


Writes : बी. पी. बजगाईं 

नाट्यकर्मी विष्णुभक्त फुँयाल ३ जनवरी २०१७ का दिन काठमाडौँको राष्ट्रिय नाचघरले आयोजना गरेको नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै एक्कासी मञ्चमा ढले र केहीबेरमै मृत्यु भयो। उनको मृत्युले नाट्य अभिनेत्री एडिथ वेब्स्टरको सम्झना गराउँछ। बाल्टिमोरमा द ड्रङकार्ड नाटकमा उनको मृत्युको दृश्य, उनको अन्तिम संवाद 'जब म जान्छु, मेरा बारेमा चर्चा नगर्नुहोला' भनेर उनी मन्चमा लड्छिन्। त्यो नै उनको साँचो मृत्यु थियो। नाट्यकर्मीको रंगमंचमा मृत्युले उनका कलापक्षलाई सजीव तुल्याएको हुन्छ। 

 

कलाकार फुयाँलको मृत्युको खबरपछि नेपाली नाटकबारे लेख्न झकझक्यायो।

...

भनिन्छ, नाटक दृश्य काव्य हो। उहिले राजा महाराजालाई सुनाइने व्यक्तिपरक वर्णन भएका काव्य आज साङ्लो चुँडालेर सार्वभौम काव्य बनेको छ। नाटकमा साधारणतया श्रवणसँगै अभिनय पनि हुने भएकाले काव्यको यो रूप सार्वभौमिकताका दिशामा अझ सशक्त छ, प्रभावशाली छ। नेपालको सामाजिक(राजनीतिकै सन्दर्भमा हेर्नु पर्दा मह जोडीले नाटकका माध्यमले चेतनाको बिगुल फुकेको कुरा एउटा भिन्नै कथा बन्न सक्छ। आजको सन्दर्भमा नाटकको सम्बन्ध लोकचेतनासँग टाँसिएर रहेको छ। यो नै नाट्यलेखनको प्रस्थापना विन्दु पनि हो। नाटकका चारवटा प्रमुख तत्वहरू कथावस्तु, पात्र, अभिनय अनि रस सिद्धान्तमध्ये आजका सन्दर्भमा रस भनेको सामाजिक अनि राजनैतिक सरोकारका विषय धेर हुन्। 

 

नेपालको स्वतन्त्रतापछि नाट्यक्षेत्र केही उत्साहजनक रूपमा अघि बढेको जस्तो देखिए पनि समयचेत परिपूरित नाटकहरूको अभाव देखा परिरहेकै छ। 

 

रंगमंचमा काम गर्नु भनेको केवल मनोरञ्जन तथा जीविकोपार्जनको विषय मात्र नभएर देशलाई समयअनुरूप सम्बोधन गर्न सक्नु पनि हो। यसको अभाव नेपालका सन्दर्भमा हेर्ने हो भने यथावत नै छ। बरू नेपालमा राजतन्त्र हुँदा खेलिएका केही नाटकहरूले समयचेत बोकेका थिए, यस सन्दर्भमा मैले मह जोडीको उल्लेख गरिसकेको छु। 

 

नाटकसँग जोडिएका एकथरीले भन्लान्, नाटक खेलेर आर्थिक रूपमा सक्षम हुने अवस्था आउनु सफलता हो। आर्थिक सन्दर्भमा हेर्दा कुरा पक्का हो, तर यस्तो सफलता भनेको केवल नाट्यकर्मीको आर्थिक उन्नतिसँग मात्र जोडिने सफलता हो। यस्ता सफलता उपभोक्तावादले पस्किएका तामझामहरूसँग जोडिएका हुन्छन्। पाश्चात्य बजारले रोपेको उपभोक्तावाद जसले हाम्रो चेतनालाई समयसँग खेल्न दिँदैन, हाम्राअघि रुपियाँ अनि डलरको रङ्गीन कागज नाच्न थालेपछि देशलाई गरिने सम्बोधनको चेत रसातलमा भासिन जान्छ। कलाकारलाई चाबी लगाएको गुडिया बनाउने औपनिवेशिक अर्थतन्त्रबाट नाटकले जबसम्म मुक्ति पाउँदैन तबसम्म नाटकले समयको चेतना बोक्न सक्दैन।

 

नाटक अनि यससँगको सम्बद्धता भनेको पेशा मात्र हुनु हुँदैन। यसलाई पेशा मात्र बनाइए पेशागत सुविधाको माग बढ्छ। सरकारद्वारा नै नाट्यकर्मीहरूलाई दिइने सुविधा अनि नाटक विधाको संरक्षणलाई पनि हेरौं। के यस्ता सरकारी संरक्षणमा समयचेत नाटकहरू बनिन्छन्रु नाम मात्रका निम्ति बनिए पनि समयलाई सम्बोधन गर्न सक्षम हुन्छन्रु यस्ता नाटकहरू रङ्गीविरङ्गी चराहरू त हुन् तर सुनका पिंजडाभित्र थुनिएका।

 

आजको खाँचो भनेको नाटकलाई सीमित मंचबाट झारेर समाजका साधारण मानिसहरूका भीडमा ल्याउनु हो। भारतमा यो प्रयोग मन्जुल भारद्वाजले गरिसकेका छन्। उनले ‘थिएटर अफ रेलेवेन्स’का माध्यमले नाटकलाई आम मान्छेका विचारलाई उद्वेलित गर्ने एउटा औजारका रूपमा प्रयोग गरे। उनका नाटकले मान्छेलाई आत्मालोचना गर्न सिकायो। उनले सिर्जना गरेको ‘थिएटर अफ रेलेवेन्स’ प्रयोगका मुख्य पाँच विन्दु थिए।

 

१) नाट्यमंचले आफ्नो उच्चतम सृजनशीलताद्वारा विश्वलाई राम्रो अनि मानवीय बनाउन प्रतिवद्धता लिनु। 

 

२) मानिसका आवश्यकतालाई बोध गरेर त्यससँग जोडिएका अभिव्यक्तिहरूका प्रस्फुटनका लागि मंच उपलब्ध गराउनु।

 

३) कला केवल कलाका निम्ति नभएर समाजका सन्दर्भमा प्रासंगिक बनाइनु, जसमा दयित्वबोध रहेको होस्।

 

४) नाट्यमंच आफैँले आफूलाई बदल्ने माध्यम बनाउनु।

 

५) मनोरन्जनका सीमित सीमाबाट बाहिर निस्किएर जीवन जिउने माध्यमका रूपमा नाट्यमंचलाई प्रस्तुत गरिनु।

 

मन्जुलको यो प्रयोगले प्रायः दुई दशकभन्दा धेर समय बिताइसक्दा पनि भारतमा यसको प्रभाव तृणमूल स्तरमा आउन अझै पर्खिनुपर्ने अवस्था छ। यस्ता कुरामा नेपालले आफूलाई कहाँ उभ्याएको छ, चर्चा कम चिन्तन धेर गरिनुपर्ने कुरा हो यो। किनभने नाटक भनेको अलिक उक्लिएर सानो पर्दामा जाने माध्यम निश्चय होइन। सिँढी होइन नाटक मास्तिर उक्लिने, यो त एउटा यस्तो औजार हो जसले भोलिका देशको भविष्य आजै स्पष्ट कोर्न सक्छ। 

 

किन राजनीति स्वार्थको घोडा चढ़ेर जनताका मष्तिष्कमा कब्जा जमाउन सफल हुन्छ, हाम्रो अवस्थाको बजारीकरण कसले गर्दैछ, साधारण मष्तिष्कमा नियन्त्रणका फ्याक्टरहरू के के हुनसक्छन्, ग्रामीणस्तरमा कस्ता सोचहरूले काम गर्दैछन् अनि सहरीया सोचलाई केले नियन्त्रण गर्दैछन् जस्ता कुराहरूको जानकारी राखेर नाटक लेखिनुपर्ने आजको माग हो। नाटक स्वार्थका माखेसाङलोबाट मुक्ति दिने औजार किन बन्न सकेको छैन? नेपालकै सन्दर्भमा भन्नुपर्दा नाटकले राजनैतिक लेण्डुप र यसका आयामहरू किन उदाङ्गो पारेर देखाउन सकेको छैन? नेपाल र नेपाली नागरिकले बोकेको आजको सर्वाधिक ठूलो आतंक हो यो। देश रहे मात्र राष्ट्रियता रहन्छ जस्ता नाराहरू नाटकले चर्को पार्न किन सकेको छैन? यो प्रश्न मैले कसैलाई गरेको होइन, सबैले आफैँले आफैँलाई सोध्नुपर्ने हुन्छ। अव्यवस्थात्मक परिप्रेक्ष्य, राजनैतिक-सामाजिक अस्तव्यस्तताहरूलाई सम्बोधन गर्न, चोटिला प्रहार गर्न त्यहीँभित्रबाट बिम्बहरू टिपन-टापन गर्न हामी आज पनि असक्षम छौं। 

 

रसियन नाट्यचिन्तक मेयरहोल्डले पनि नाटकमा दर्शकलाई विशेष महत्त्व दिएको पाउँछौं। हुन त दर्शकलाई सबै नाटकहरूले नै महत्त्व दिएका हुन्छन्। तर एक थरीका नाटकले भने दर्शकलाई रङ मात्र पस्किएर मुनाफा विनिमयलाई महत्त्व दिँन्छ। जहाँ, मुद्रा प्राथमिक अनि चिन्तन गौण रहेको हुन्छ, त्यसरी नै अर्का थरीका नाटकले भने मुद्राका विनिमयमा चेतना पस्किएको हुन्छ। नाटक बाँच्नलाई मुद्रा आवश्यक पक्ष हो तर विनिमयमा के दिन सकिन्छ भन्ने कुरा प्राथमिक हो। मेयरहोल्डले नाटक लेख्ने अनि अभिनय गराउने सन्दर्भमा सधैँ दर्शकका आँखाबाट देखिने आयाम खोज्थे। दर्शकले नाटकभित्र आफैँलाई पाउन सकेनन् भने त्यस नाटकको मंचन नै व्यर्थ हुने धारणा थियो उनको।

 

केवल निर्देशकले पस्किएका निर्देशनभित्रका अभिनयले कला बाँच्न सक्दैन। कला बाँच्नका लागि त्यो जीवन्त हुनु पर्दछ। कुनै पात्रको भार वहन गर्नुअघि हामीमा कतिजनाले त्यस पात्रताभित्र जिउने प्रयास गरेका हुन्छौं? गम्भीरतापूर्वक सोचौं। के भिखारीको अभिनय गर्नुअघि कुनै अन्जान बजारका गल्लीहरूमा हामी भीख माग्दै चार दिन हिँड्न सक्छौं? अभिनय गर्न जति सजिलो सोचिन्छ, अभिनयभित्र भाव बोक्न त्यति नै गाह्रो छ। त्यसै परिप्रेक्ष्यमा हेर्दा जबसम्म समाज अनि देशको खस्कँदो अवस्था देखेर पनि कुनै नाट्यकर्मीले त्यो अरूकै जिम्मेवारी ठानेर आफूलाई अलग राख्दछ भने उसलाई अभिनयमा देशको खस्कँदो अवस्थाको विचार सम्प्रेषण गर्न त्यति नै गाह्रो पर्दछ। 

 

मैले वि. सं. २०५७ माघ १ गतेका दिन सार्विकतावादको घोषणामा कला र सापेक्षिक स्व(अस्तित्व सन्दर्भमा भनेको छु, ‘सापेक्षिक स्व( अस्तित्व बचाइराख्न कुनै पनि वस्तुता अथवा विचारधारात्मक अवस्थाले उसका नजिकको वस्तुगत वातावरण अथवा नजिक वा टाढ़ाको विचारधारात्मक क्रियाशील शक्तिहरूका सम्पर्कबाट आफूलाई विछिन्न राख्नु हुँदैन। यसैले कला केवल कलाका निम्ति मात्र भन्ने वादले कलाकै अस्तित्वप्रति एउटा भयानक आक्रमण गरेको हुन्छ। कला बाँच्नु हो भने उसको वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई आफूभित्र समायोजन गरेको हुनु नै पर्नेछ।’ म आज पनि यसै कुरामा अड्न चाहन्छु। नाटकले जनतासँग संवाद गरेको हुनुपर्छ। त्यसका निम्ति नाटकको ‘कन्टेन्ट’ले बोकेको वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई हेरेको हुनुपर्छ।

 

आजका सन्दर्भमा नाट्य मंचन कहिल्यै व्यक्तिगत हुनुहुँदैन, यो सामूहिक उपभोगको माध्यम हो। यसैले यसको प्रयोग केवल एउटा सीमित वर्गका लागि मात्र नभएर विभिन्न सामाजिक पक्ष, आर्थिक पक्ष लगायत विभिन्न स्तरका मानसिकतालाई एउटै धागोमा बाँधेर राख्न सक्ने गरी गरिनु उचित हुन्छ। स्वयं व्यक्तिभित्र नै अन्तरसंघर्ष रहेको हुन्छ। वर्तमानमा विद्यमान थुप्रै ‘अकारात्मक’अवस्था तथा स्थितिहरू जस्तै(अगमता, अक्कड़ मानसिकता, अनास्था, अविश्वास, अनिर्णय, अन्तर्द्वन्द(हरूबाट आक्रान्त हाम्रो सामाजिक चेतनालाई केवल बजारू उपभोक्तावादले पस्किएका सस्ता मनोरञ्जनले निश्चय उचित लक्ष्य दिन सक्दैन। यहाँ ‘एउटै धागोमा बाँधेर राख्नु’को अर्थ नाटकमा दर्शकलाई सामान्य दर्शक, विशिष्ट दर्शक अनि अति विशिष्ट दर्शकमा छुट्याइने वर्गीकरणबाट मुक्त राख्नु हो। यहाँसम्म कि मेरो विचारमा नाटकमा प्रयोग गरिने वेशभूषा पनि असामान्य नराखिएको राम्रो हुन्छ। किनभने कला पक्षका लागि चरित्रलाई दर्शाउने अनुहारको भावसज्जा एवं रुप विन्यास लगायत आधुनिक ‘लाइट तक्निकी’ छँदैछ। सामान्य वेशभूषामा दर्शकले आफूलाई पाएका हुन्छन्। आजको बदलिँदो सामाजिक सम्बन्ध अनि मूल्यहरूसँगै नाटक हुर्किंदै गरेको हुन्छ। यस्तो अवस्थामा सचेत कदमको खाँचो हुन्छ। यहाँ सचेतताको केन्द्रमा दर्शक नै राखिएको हुनुपर्ने हुन्छ। वर्तमानबाहेक इतिहासका अन्य कालखण्डमा उभ्याइएर लेखिएका नाटकहरूमा भने उपरोक्त कुरा लागु हुँदैनन्।

 

गोविन्दबहादुर मल्ल गोठालेद्वारा लिखित  ‘भूसको आगो’ नाटकले शुरू गरेको चरित्रकेन्द्रित मनोविश्लेषणात्मक नाटकको प्रयोग अब सामाजिक मनोविश्लेषणात्मक नाटकको सिंढी उक्लिसकेको छ। यसैले अब नाटकलाई केवल रङ्गमञ्चीय दृष्टिले मात्र नहेरेर सामाजिक दायित्वबोधका कसौटीमा पनि हेरिन्छ। मल्लको भूसको आगो भित्र(भित्रै सल्किएर अब रापिलो भएको छ। त्यस रापमा राजनीतिका अवयवहरू पनि तापिँदैछन्। मैले आफैँले केही वर्षअघि एउटा प्रयोग गरेको थिएँ नाटकमा, नाटक लेखेँ ‘क्रान्ति नयाँ बिहानीको’। राजनैतिक भ्रष्टाचार नाटकको केन्द्रमा थियो। यो नाटक भारतको मेघालयको राजधानी शिलांगमा भएको एउटा प्रतियोगितामा सिक्किमका केही उत्साही भाइ(बहिनीले मंचन गरे। त्यस नाटकमा मैले नाटकको आधा अंश बितिसक्दासम्म केही पात्रहरू दर्शकसँग मिसाएर राख्न लगाएँ। जब पछि दर्शकबाट नै एक एक गर्दै पात्रहरू त्यहीँबाट संवाद बोल्दै नाटकमा पस्न थाले, दर्शकदीर्घामा उत्साहको लहर छायो। उनीहरूले आफैँले आफैँलाई नाटकभित्रका पात्र सम्झिए। त्यो नाटक विजेता बन्यो। यो केवल एउटा प्रयोग थियो नाटकलाई सामाजिक अनि राजनैतिक दबावबाट मुक्ति दिने औजारका रूपमा कसरी खेलिनु भन्ने। हामीले यस्ता प्रयोगहरू गरिरहनु पर्छ। यस्ता प्रयोगहरू हामीबाट बजारका नियन्त्रणलाई हटाउनका लागि पनि गरिनु पर्छ। हामी बजारको नियमबाट परिचालित हुने कि बजारलाई हाम्रो नियन्त्रणमा लिनेरु बजार भनेको मात्र व्यावसायिक माध्यम हो भने नाट्यमंच मानवीय चेतनामा हुर्किएको कला माध्यम हो। बजारले उपभोक्ता खोज्छ, नाट्यमंचले चेतनाको विकास खोज्छ। यस्ता स्थितिमा उपभोक्तावाद अझ आक्रामक छ। नाट्यमंचबाट साना पर्दा र ठूला पर्दामा उफ्रेको देखिन्छ तर साना पर्दा र ठूला पर्दाबाट नाट्यमंचमा आएको सुन्दैनौं। किनभने उपभोक्तावादी बजारले हाम्रो मानसिकतालाई नियन्त्रणमा लिएको छ। लु त, अब एउटा नयाँ थालनी होस्, नाट्यमंचमा उभिनु भनेको मै हुँ भन्नेहरूका लागि पनि गर्ववोधको कारण बनोस्। 

 

आजसम्म सबैले भन्दै आए, समाजको मानसिक परिवर्तनसँगै नाटकमा परिवर्तन आउनुपर्छ। अब हामी भनौं, समाजको मानसिकतालाई दिशा दिन नाटकमा परिवर्तन ल्याऔं। नाटकले मानवताको सिर्जना गरोस्, सुरक्षाको सुरक्षा गरोस्, कलाकार निर्माण गरिँदा चिन्तनको इनार खनियोस्, सापेक्षतामा उभिएर समयको पदचाप सुनोस्, सँगै हिँडोस्। नाटकले दर्शकका चेतनालाई हिर्काएर उसको बौद्धिक विकासको खुराक बन्न सकोस्। नाटकले दर्शक खोज्नु नपरोस्, टिकटको पुसिंग सेल गर्नु नपरोस्, त्यसका साटो दर्शकले नाटकको माग गरून्। त्यस दिन नाटक सक्षम बन्नेछ मानवीयताको रथ हाँक्न।

...

अन्तमा, नाट्यकर्मीको रंगमंचमा मृत्युले उनका कलापक्षलाई सजीव तुल्याएको हुन्छ। अझै जोड दिएर भन्नुपर्दा त्यो मृत्युको सजीव आम प्रदर्शन हो। नाट्यकर्मी विष्णुभक्त फुँयाल भाग्यमानी हुन् जसले आफू बाँचेको विधाभित्र त्यसैका काखमा मृत्युलाई वरण गर्ने सौभाग्य प्राप्त गरे। 

Post via : http://kala.setopati.com/blog-review/5162/

No comments:

Post a Comment