इन्टरनेटको प्रयोगले कस्तो किसिमको प्रभाव तत्काल विस्तार हुनसक्छ भन्ने कुराको उदाहरण पनि यो घटना बन्न पुगेको छ।
गोरखा भुम्लीचोककी कुसुम श्रेष्ठले गोलभेँडाको भारी बोकेर बजारमा बेच्न लैजाँदै गर्दा पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले उनलाई क्यामरामा कैद गरेका थिए। पृथ्वी राजमार्गको फिस्लिङस्थित झोलुंगेपुलमा देखेपछि ‘अनुमति लिएरै’ खिचिएको कुसुमको तस्बिरलाई रुपचन्द्रले गत शुक्रबार फेसबुकमा सेयर गरे। तर, यसरी खिचेर हालेको तस्बिरले इन्टरनेटमार्फत कति हलचल ल्याउनेछ भन्ने उनलाई थाहा थिएन।
अचानक भाइरल बन्न पुगेपछि आत्तिएका रुपचन्द्रले सुरुमा त्यो तस्बिर फेसबुकबाट हटाएका थिए। तर पनि त्यतिन्जेलसम्म यी तस्बिरका लाखौं कपीहरु फैलिसकेको थियो।
चितवनको माडीस्थित क्वेस्ट कलेजमा व्यवस्थापन संकायमा कक्षा ११ पढ्दै गरेकी र छुट्टीमा घर आएको बेला तरकारी बेचेर परिवारलाई सघाउन खोजेकी कुसुमका ती तस्बिर यतिबेला सामाजिक सञ्जालमात्र होइन, दक्षिण एसियाकै महत्वपूर्ण छापा, टेलिभिजन र डिजिटल अखवारहरुमा महत्वका साथ छापिन थालेको छ। साथीले म्यासेन्जरमार्फत् आफ्नो तस्बिर ब्यापक भएको जानकारी दिएपछि मात्र कुसुमले यो थाहा पाएकी थिइन्।
यस्तो हलचल मच्चिनुको कारण भने तरकारी बेच्ने सुन्दरी कुसुम आफूमात्र नभएर केही अघिमात्र यसैगरि हलचल मच्चाउने एक पाकिस्तानी चियापसले तन्नेरी हुन्।
लोभलाग्दो मुहारमा अटाएको निलो आँखा र कल्कलाउँदो बैंशका पाकिस्तानी १८ वर्षीय चियापसले अर्सद खान ठीक यसैगरी इन्टरनेट मार्फतै चर्चाको शिखरमा पुगेका थिए।
ती युवक किन त्यसरी चर्चित भए त? भारत र पाकिस्तान बीचको तनावग्रस्त सम्बन्ध त हामीलाई थाहै छ। यस्तो बेलामा आकर्षक तन्नेरीको यो तस्बिरलाई पाकिस्तानमा सामाजिक सञ्जालमार्फत् ब्यापक बनाउनका निम्ति प्रयोगकर्ताहरुले त्यही भावनातर्फ मोडिदिए।
उनीहरुले ब्यापक रुपमा गरेका फेसबुक एवं ट्वीट प्रतिक्रियामा यो तस्बिरले भारतका महिलाहरुलाई आकर्षित गर्न आधुनिक परमाणु मिसाइलको काम गर्ने उल्लेख गरेका थिए। ‘रेकमेण्डेड फर युज इन सर्जिकल स्ट्राइक्स अगेन्स्ट इण्डियन वुमन’ भनेर ब्यापक रुपमा लेखिएका त्यो लाइनलाई भारतीय अखवार टाइम्स अफ इन्डियाले पनि उल्लेख गरेको थियो।
यसरी भारतीय र पाकिस्तानीहरुबीच कुनै तन्नेरी युवकको तस्बिरलाई लिएर दोहोरी चलिरहेको बेला अचानक नेपालबाट एउटा तरकारी बेच्ने युवतीको सुन्दर तस्बिर देखापरेपछि तिनै पाकिस्तानी युवकको जवाफका रुपमा यो तस्बिरलाई भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा मिडियाले भाइरल बनाएका छन्।
अर्सादको त्यो तस्बिर पाकिस्तानकै जाभेरिया अलीले खिचेकी हुन्। यतिबेला ती युवक आफैँ त्यति सुन्दर हुन् वा प्रविधिको दुरुपयोग गरेर त्यस्तो देखाइएको हो भन्ने विषयमा पनि सामाजिक सञ्जालभित्रै बहस र समाचार आउन सुरुभइसकेको छ। जाभेरियाका अनुसार उनले केही महिनाअघि फोटो खिँच्दै हिँड्दाका क्रममा यो तस्बिर पनि लिइएको र सुरुमा इन्स्टाग्राम(फोटोकै निम्ति प्रयोग हुने सामाजिक सञ्जाल)मा हालेकी थिइन्।
‘पछि कसैले त्यो फोटोलाई त्यहाँबाट निकालेर अन्य सामाजिक सञ्जालमा पनि आफ्नै ब्याख्याका साथ प्रयोग गरिदिए,’ जाभेरिया भन्छिन्, ‘त्यसपछि यो भाइरल बन्न पुगेको हो।’
त्यो फोटो ‘चाइवाला’ ह्यासट्यागका साथ पाकिस्तानमा ट्वीटर प्रयोगकर्ताहरुका माझ ‘टप ट्रेण्ड’ (सर्वाधिक प्रचलित) बन्न पुगेको थियो।
यतिबेला आफ्नै पाराले अर्सद पाकिस्तानीहरुका बीच नायक बन्न पुगेका छन्। उनलाई मोडलका रुपमा प्रयोग गर्दै विभिन्न उत्पादनहरुले विज्ञापन समेत तयार पार्न थालिसकेका छन्।
यसैबीच उनको नायकत्व विकास भइरहेकै बेलामा पाकिस्तानको एउटा टेलिभिजनले अर्सदसँग अन्तवार्ता लिँदै उनलाई सबैभन्दा मनपर्ने नायक को हो? भनेर प्रश्न गर्दा उनले सोच्दा पनि नसोचेर ‘शाहरुख खान’ भनिदिएका थिए। त्यसपछि फेरि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको हौसला माथि उठेको थियो।
यसरी पाकिस्तानबाट सुरुभएको ‘चाइवाला’ ह्यासट्यागका साथ देखिएको तस्बिरले सिँगो दक्षिण एसियामा चर्चा पाइरहेको बेला नेपालबाट आएको अर्को तस्बिरले ‘तरकारीवाली’ ह्यासट्यागका साथ उसैगरि ब्यापक चर्चा र प्रचारप्रसार पाइरहेको छ।
यसैबीच नेपालकी सुन्दरी ‘तरकारीवाली’ कुसुम श्रेष्ठले पनि मौका पाए आफुसमेत फिल्म खेल्न वा मोडलिङ गर्न तयार रहेको बताएकी छिन्। महिला खबर डट कमलाई दिइएको अन्तवार्तामा उनले यसो भनेकी हुन्। राफ्टिङ व्यावसायी रुपचन्द्रले कुसुमसँग अनुमति लिएरै उक्त तस्बिर खिचेको बताइरहेका बेला कुसुमले भने त्यो तस्बिर खिचिएको जानकारी नै आफुलाई नभएको तर यस्तरी चर्चित बनेकोमा भने खुशी लागेको बताएकी छिन्।
Via:Setopati